संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका- समाचार - कान्तिपुर समाचार
कोरोना महामारी

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोज पहिलो साता पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय ३९ मा संक्रमण देखिएको छ । तीमध्ये ८ सय १२ जना अर्थात् १३.९० प्रतिशतले पूर्ण वा एक डोज लगाएका थिए । 

संक्रमणका कारण मृत्यु हुनेहरूमा खोप लगाएकाको संख्या पनि निकै कम छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार असोज ७ मा संक्रमणका कारण १३ जनाको मृत्यु भएको थियो । जसमध्ये एक जना पनि खोप लगाएका संक्रमित थिएनन् । ‘कोभिडको दोस्रो लहर उत्कर्षमा पुगेका बेला अस्पतालमा भर्ना हुने अधिकांशले खोप नलगाएका थिए,’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका डा. अच्युत कार्कीले भने, ‘हाल वीरमा भर्ना हुन आउने संक्रमितमध्ये करिब ६० प्रतिशत खोप नलगाएका र अरू खोप लगाएका होलान् ।’

खोप लगाएकामा संक्रमण छिटो निको हुने देखिएको छ । डा. कार्कीले खोप लगाएकाहरू संक्रमण भए अस्पताल भर्ना हुँदा दुई/तीन दिनमै डिस्चार्ज हुने गरेको बताए । त्यस्ता संक्रमितमा मृत्युदर पनि अत्यन्त न्यून छ । ‘खोप लगाएकामा रोगको जटिलता खासै देखिएको छैन,’ ईडीसीडीका निर्देशकसमेत रहेका मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘देशभरका अस्पतालमा बुझ्दा खोप लगाएकाहरूको मृत्यु नगण्य छ ।’ राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाह खोपले संक्रमण हुनबाट जोगाउन नसके पनि ज्यान बचाउने बताउँछन् । ‘नेपाललगायत विश्वभरमा पूर्ण खोप लगाएकाहरूमा गम्भीर अवस्था र मृत्युको खतरा अत्यन्त न्यून देखिएको छ,’ उनले भने ।

कडा लक्षण नदेखिएसम्म परीक्षण गर्न नजाने भएकाले दैनिक संक्रमितमध्ये खोप लगाएका बढी हुनुपर्नेसमेत विज्ञहरू तर्क गर्छन् । ‘खोप लगाएकामा लक्षणरहित कोभिड देखिने गरिएकामा त हामीले चर्चा नै गरेका छैनौं,’ उनले भने, ‘यति हो, खोपले बिरामीको गम्भीरता कम गर्न सक्छ,’ डा. शाहले भने । संक्रमणको जोखिम रहेकाले खोप लगाएकालाई पनि स्वास्थ्य मापदण्ड पालनामा गम्भीर बन्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक रूपमै आग्रह गर्दै आएको छ । खोप लगाएर पनि संक्रमित भएकाहरूको मुख्य समस्या ज्वरो वा अन्य रोग देखिएको छ । मधुमेह, रक्तचाप, टन्सिललगायत कोमर्बिडिटीका कारण खोप लगाएकालाई पनि अस्पताल भर्ना गर्नुपर्ने डा. कार्कीले बताए ।

खोप लगाएकामा समेत संक्रमण देखिनुलाई चिकित्सकहरू ‘ब्रेक थ्रु इन्फेक्सन’ का रूपमा बुझ्नुपर्ने बताउँछन् । उनीहरूको भनाइमा यस्तो संक्रमण खोप लगाएको दुई सातापछि देखिन सक्छ । खोप लगाएकाहरूमा देखिने ‘ब्रेक थ्रु इन्फेक्सन’ को असर कम भए पनि अन्य संक्रमणजस्तै यसको ‘साइड इफेक्ट’ भने हुन सक्ने डा. पौडेलले बताए । ‘खोप लिइसके पनि देखिने संक्रमणका लागि मुख्य जिम्मेवार हाल छ्यापछ्याप्ती देखिएको डेल्टा भेरिएन्ट नै हो,’ उनले भने ।

शनिबारसम्म पहिलो डोज ६५ लाख २८ हजार ३ सय ९२ र पूर्ण खोप ६० लाख १४ हजार ९ सय ४१ जनाले लिएका छन् । मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमाथिका लक्षित जनसंख्यामध्ये ३० प्रतिशतले पहिलो र २७.६ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् । शनिबार मात्र २ लाख १६ हजार ७ सय ३२ जनाले खोप लगाए । हालसम्म नेपालमा कोभिडविरुद्घ अस्ट्राजेनेका, भेरोसेल र जान्सेन खोप प्रयोगमा छ ।

प्रकाशित : आश्विन १०, २०७८ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्

‘फाइजर खोप बालबालिकालाई’

१२–१७ उमेर समूहका लागि मुलुकमा खोप नरहेकाले संक्रमण भए मृत्युको जोखिम बढ्ने
अतुल मिश्र

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को कोभाक्स सुविधाअन्तर्गत प्राप्त हुने १ लाख ६ सय २० डोज फाइजर खोप १२ देखि १७ वर्षसम्मका दीर्घरोगी बालबालिकालाई दिन विज्ञहरूले सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यो खोप ५५ वर्षमाथिका दीर्घरोगी भएका र सुपर स्पेसलाइज्ड (अति विशिष्ट) अस्पतालमा प्रयोग गर्ने तयारी थालेको छ । ५५ वर्षमाथिका दीर्घरोगीलाई हाल उपलब्ध खोपले नै यथोचित सुरक्षा प्रदान गर्ने तर्क विज्ञहरूको छ ।

१२–१७ वर्ष उमेर समूहका लागि हाल मुलुकमा खोप नरहेको र संक्रमण भए मृत्युको जोखिम बढी रहने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बालरोग विभाग प्रमुख डा. प्रकाश पौडेलले बताए । ‘५५ वर्षमाथिकाले फाइजर लगाउनु एक प्रकारले खेर जानु हो,’ उनले भने, ‘दीर्घरोग भएका बालबालिकामा उपयोग गरेर उनीहरूको ज्यान जोगाउनुपर्छ ।’ उनका अनुसार कुनै औपचारिक अध्ययन नभए पनि अस्पताल आउनेमध्ये करिब ५ प्रतिशत बालबालिकामा दीर्घरोग देखिएको छ । उनीहरूमा दमको समस्या बढी भएकाले कोभिड हुँदा भेन्टिलेटरमा जाने जोखिम बढी रहने चिकित्सक बताउँछन् । खोप प्राप्त हुने चरणमै रहेकाले बालबालिकालाई नै दिए बुद्धिमानी हुने कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीको भनाइ छ ।

डा. पौडेलका अनुसार एचआईभी/एड्स, क्यान्सर उपचारअन्तर्गत किमोथेरापी लिइसकेका, मुटुको समस्या भएका, मिर्गौलाका दीर्घरोगी, मधुमेह भएका दीर्घरोगी बालबालिकालाई फाइजर दिए कोभिडको जोखिमबाट केही हदसम्म जोगाउन सकिन्छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले भने फाइजर खोप सबै बालबालिकालाई दिन सक्ने अवस्था नभएकाले ५५ वर्षमाथिका दीर्घरोगीलाई दिने तयारी थालिएको बताए ।

अस्ट्राजेनेका, भेरोसेल र जोन्सन गरी हालसम्म १ करोड ७७ लाख ५५ हजार ५ सय ९० डोज खोप प्राप्त भएको छ । सरकारले बालबालिकाका लागि मोडर्ना र फाइजर गरी एक करोड डोज खोप ल्याउने प्रक्रिया थालिसकेको छ । मन्त्रालय स्रोतका अनुसार ती दुवै खोप सन् २०२२ को मार्चसम्ममा नेपाल आइसक्नेछ । खरिद गर्न लागिएको फाइजरको ६० लाख डोजभन्दा पहिले नै कोभाक्स सुविधाअन्तर्गत एक लाख ६ सय २० डोज आउने निश्चित भइसकेको छ । सरकारले यो खोप भण्डार गर्न चार वटा शून्यभन्दा ८० डिग्री सेल्सियस कम तापक्रममा राख्न मिल्ने ‘अल्ट्रा लो टेम्परेचर स्टोरेज’ क्षमता भएको फ्रिज ल्याइसकेको छ । ‘तापक्रम नियन्त्रित ‘थर्मल सिपर्स’ बाट फाइजर आउँछ, हामी उक्त ‘सिपर्स’ बाट अल्ट्रा लो टेम्परेचर स्टोरेजमा खोप भण्डारण गर्नेछौं,’ दाहालले भने । खोपलाई प्रयोग गर्ने बेला २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राखिनेछ ।

खोप आउने निश्चित भएपछि औषधि व्यवस्था विभागले केही दिनअघि शून्यभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्ने फाइजर र मोडर्नालाई आकस्मिक उपयोगका लागि अनुमति दिएको वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । मन्त्रालय स्रोतले दुई महिनाभित्र खोप आइसक्ने दाबी गरेको छ । सोमबारसम्म १८ वर्षमाथिका ६२ लाख १५ हजार ८ सय ५६ जनाले पहिलो डोज र ५५ लाख ८८ हजार ५ सय १७ जनाले पूर्ण खोप लिइसकेका छन । एक डोज मात्र लिनेको संख्या १ करोड १८ लाख ४ हजार ३ सय ७३ पुगेको छ ।

प्रकाशित : आश्विन ५, २०७८ ०६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×