‘मैले पढ्नु छ, किनकि म छोरी हुँ’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मैले पढ्नु छ, किनकि म छोरी हुँ’

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनी ७५ वर्षकी थिइन् । भारतमा मात्रै नभएर नेपालसहित दक्षिण एसियाभर उनी महिला आन्दोलनकी प्रतीक थिइन् ।

भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छन् । ‘हाम्री साथी कमला भासिनको आज (शनिबार) बिहान ३ बजे निधन भएको छ,’ श्रीवास्तवले लेखेकी छन्, ‘उनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको छ । कठिन परिस्थितिका बाबजुद पनि उनले जीवनलाई उत्सवमय बनाइन् ।’ राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि मात्रै क्यान्सर भएको पत्ता लागेको थियो ।

महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उनले अभियान चलाएकी थिइन् । त्यस्तै ‘क्यों कि मैं लड्की हूँ, मुझे पढ्ना है (किनकि म छोरी हुँ, मैले पढ्नु छ)’ उनको चर्चित कविता हो । भारतको हरेकजसो आन्दोलनमा घन्किने ‘आजादी’ (स्वतन्त्रता) को नारालाई भासिनले नै चर्चित बनाएकी हुन् ।

सन् १९९१ मा कोलकातास्थित जावेदपुर विश्वविद्यालयमा भासिनसहितको महिला समूहले ड्रम बजाएर पुरुष सत्ताबाट स्वतन्त्रता माग्दै नारा लगाएका थिए । त्यसले धेरैलाई आकर्षित गरेको थियो । त्यसपछि भारतमा हुने समानताको आन्दोलनमा त्यो नारा लाग्न थाल्यो । सन् २०१७ मा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी नेता कन्हैया कुमारले पनि त्यही नारा लगाएका थिए । भासिनले नारा, गीत र आफ्नो अकाट्य तर्कका आधारमा दक्षिण एसियामा नारीवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएकी थिइन् । उनको सरल भाषा र सहज स्वभावले आममानिसलाई आकर्षित गर्ने गरेको थियो । उनले गाउँलेदेखि सहरी महिलालाई एक सूत्रमा बाँध्दै त्यसलाई संगठित गरेकी थिइन् ।

भासिन पुरुष सत्ताको स्थानमा महिला सत्ता नभई उनले दुवै पक्षको समानताको विषयलाई उठाउने गर्थिन्, समाजमा महिला र पुरुष भनी छुट्याउने संस्कार गलत भएको बताउँथिन् ।

महिलालाई विभिन्न प्रलोभनमा पारेर दमन गरिएको उनको तर्क थियो । ‘मध्यम वर्गीय महिलालाई श्रीमान् या घरपरिवारले सम्पत्ति, पैसा, गहना दिएर चुप लगाएको छ । यदि ती परिवारमा श्रीमान्बाट महिला प्रताडित नै भएकी छन् भने पनि आवाज उठाउन हिच्किचाउँछन्,’ उनी बारम्बार भन्ने गर्थिन्, ‘उनीहरूलाई लाग्छ कि खानलाउन र यत्रो गरगहना पुर्‍याइदिएकै छन्, फेरि आफ्नै मान्छेको विरुद्ध के उजुरबाजुर र कचहरी गर्नु ।’

महिला आन्दोलनकी प्रेरणा बनेकी भासिनले आजादीको नारा महिला मुक्तिका लागि मात्रै लगाइनन् । उनले मजदुर, दलित, आदिवासीसहितका शोषित समाजमा रहेको तह र तप्काको मुक्तिका लागि नारा लगाएकी थिइन् ।

महिला स्वतन्त्र नभएसम्म पुरुष पनि स्वतन्त्र हुन नसक्ने उनको धारणा थियो ।

सामाजिक वैज्ञानिकका रूपमा उनी विकास, शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी सक्रिय थिइन् । सन् १९७२ को राजस्थानको ग्रामीण भेगबाट उनले आफ्नो अभियान चलाएकी थिइन् ।

सन् १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठन (एफएओ) मा उनले काम गरेकी थिइन् । सन् २००२ मा उनले राष्ट्रसंघको जागिर छाडेर ‘संगत’ मार्फत विभिन्न अभियान चलाएकी थिइन् । भारतमा जस्तै पाकिस्तानमा पनि भासिन उत्तिकै चर्चित थिइन् । उनी भारतको नारीवादी आन्दोलनमा करिब आधा शताब्दीदेखि सक्रिय रहेकी थिइन् ।

नेपालमा पनि अधिकारकर्मीहरूको भासिनसँग राम्रो सम्बन्ध रहेको थियो । उनीहरूले भासिनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित : आश्विन १०, २०७८ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्

विदेशी लगानी ६५ प्रतिशत घट्यो

कोभिडलाई कारण मानिए पनि नेपालको संरचनागत र प्रक्रियागत अवरोध नै मुख्य दोषी
यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिना (गत साउन) मै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको भदौ र असारबाहेक सबै महिनामा घटेको विदेशी लगानीमा चालु आर्थिक वर्षको सुरुमै उच्च दरले कमी आएको हो ।

कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेकाले विदेशी लगानी घटेको जानकारहरू बताउँछन् ।

‘गत साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशत घटेर ४८ करोड ६ लाख कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रुपैयाँ थियो ।’ गत आर्थिक वर्षको १० महिना विदेशी लगानी घट्यो भने २ महिना बढ्यो । २०७७ भदौमा २३.३ प्रतिशत र गत असारमा ०.२ प्रतिशत मात्र विदेशी लगानीमा सुधार आएको थियो । बाँकी सबै महिनामा विदेशी लगानी घटेको थियो । यद्यपि गत आर्थिक वर्षका पछिल्ला महिनामा विदेशी लगानीको घट्ने दरमा भने कमी आएको थियो ।

गत आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल भित्रिएको विदेशी लगानी ०.२ प्रतिशत मात्र बढेको हो । अघिल्लो आर्थिक वर्षमा १९ अर्ब ४८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । विदेशी लगानीको प्रवृत्तिलाई विश्लेषकहरूले कोभिडको प्रभावसँग जोडेर हेरिएको छ । कोभिडको असरका कारण विदेशी लगानी पनि प्रभावित बनेको राष्ट्र बैंकले जनाएको छ । कोभिडको अवस्थामा यति लगानी आउनुलाई पनि सन्तोषजनक मान्नुपर्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । यसअघि लगानी सम्मेलनमा प्रतिबद्धता गरिए पनि अवस्था सामान्य नभएकाले लगानी नआएको उनको दाबी छ ।

पछिल्ला महिनामा मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गएकाले चालु आर्थिक वर्षमा पनि विदेशी लगानी बढ्ने सम्भावना न्यून रहेको जानकारहरू बताउँछन् । तत्कालका लागि विदेशी लगानी घट्नुको कारण कोभिड देखिए पनि नेपालको संरचनागत र प्रक्रियागत अवरोधकै मुख्य कारण भएको उनीहरूको भनाइ छ । लगानीमैत्री वातावरणका लागि अझै पनि धेरै प्रक्रियागत अवरोध रहेको देखिएको उनीहरूको दाबी छ ।

आर्थिक वर्ष २०७६/७७ का सबै महिनामा विदेशी लगानी उच्च दरले बढेको थियो । तर गत आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । यसअनुसार २०७७ साउनमा विदेशी लगानी ३.३ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो । भदौमा विदेशी लगानी २३.३ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो । असोजदेखि गत जेठसम्म घटिरहेको विदेशी लगानी अन्तिम महिनामा झिनो सुधार भएको हो ।

यसअनुसार गत असोजमा विदेशी लगानी २६.८, कात्तिकमा २४, मंसिरमा साढे ३१, पुसमा ३७.२, माघमा ३७.३, फागुनमा ३४.८, चैतमा २५, वैशाखमा १९.२, जेठमा १३.४ र असारमा ०.२ प्रतिशत घटेको थियो । पछिल्ला वर्षमा नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपाल भित्रिएर लगानीमा रहेको कुल एफडीआईमध्ये सबैभन्दा धेरै भारतबाट आएको छ । यो नेपालमा आएर लगानीमा रहेको (स्टक) एफडीआई हो । हरेक वर्ष विदेशी लगानीको आप्रवाह (फ्लो) हेर्दा भारतभन्दा धेरै लगानी अन्य राष्ट्रबाटै आएको देखिन्छ । ‘नेपालमा रहेको कुल लगानीमध्ये भारतको हिस्सा ३१.५ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सो अवधिसम्म भारतबाट ६२ अर्ब ४४ करोड रुपैयाँ विदेशी लगानी आएको छ ।’ भारतबाट आएको कुल लगानीमध्ये ३९.१ प्रतिशत उत्पादनमूलक, ४२.२ प्रतिशत बिजुली, ग्यास र पानी, २३ प्रतिशत बैंक तथा बिमा र ३.७ प्रतिशत अन्य क्षेत्रमा छ । भारतपछि धेरै विदेशी लगानी नेपाल आउने राष्ट्र चीन हो । हाल चिनियाँ लगानीकर्ताबाट ३० अर्ब ९७ करोड रुपैयाँ लगानी भएको देखिन्छ । यो कुल विदेशी लगानीको करिब १५.६ प्रतिशत हो । चीनबाट आएको कुल लगानीमध्ये ४१.३ प्रतिशत उत्पादनमूलक, ५८.४ प्रतिशत बिजुली, ग्यास र ०.३ प्रतिशत अन्य क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ ।

कर छल्न सजिलो मानिएको ‘ट्याक्स हेवन’ भनिने सेन्ट किट्स एन्ड नेभिसबाट नेपालमा कुल १५ अर्ब २६ करोड लगानी आएको देखिन्छ । यो कुल लगानीको करिब साढे ७ प्रतिशत मात्र हो । आर्थिक वर्ष २०७५/७६ सम्म उक्त राष्ट्रबाट करिब २४ अर्ब रुपैयाँ विदेशी लगानी आएको थियो । आयरल्यान्डबाट कुल लगानीको ६.५, सिंगापुरबाट ६.३, अस्ट्रेलियाबाट ५.५, यूएईबाट ३.६ र दक्षिण कोरियाबाट ३.६ प्रतिशत विदेशी लगानी छ । यस्तै अमेरिकाबाट ३.१, बंगलादेशबाट २.७ र अन्य शीर्षकमा करिब १४ प्रतिशत विदेशी लगानी रहेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ ।

प्रकाशित : आश्विन १०, २०७८ ०६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×