कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डडेलधुरा अधिवेशनबारे निर्वाचन समितिमै विवाद, निर्वाचन अधिकृतलाई काठमाडौं झिकाइयो

– देउवा पक्षले डडेलधुराका सातै स्थानीय तहमा पनि अधिवेशन गरेको छ
प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा भएको वडा अधिवेशनका विषयमा केन्द्रीय निर्वाचन समितिमै विवाद भएको छ । शनिबारको बैठकमा डडेलधुरा अधिवेशनबारे समितिका पदाधिकारीहरुबीच चर्काचर्की परेको छ । समिति संयोजक महादेवप्रसाद यादवले डडेलधुरा अधिवेशनलाई सदर गर्ने प्रयास गरेपछि समितिका कतिपय पदाधिकारीहरुले नोट अफ डिसेन्ट लेख्ने भन्दै धम्क्याएका थिए ।

डडेलधुरा अधिवेशनबारे निर्वाचन समितिमै विवाद, निर्वाचन अधिकृतलाई काठमाडौं झिकाइयो

तीन घन्टासम्म चलेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । त्यसबारे समाधान गर्न बसेको बैठकमा समितिका पदाधिकारीकै बीचमा मतभेद भएपछि त्यहाँको यथार्थबारे बुझ्न समितिले जिल्ला निर्वाचन अधिकृत लोकेन्द्र बमलाई काठमाडौं झिकाएको छ ।

‘हामीले जिल्ला सभापति कर्णबहादुर मल्लले दिएको उजुरीको फाइल ओपन गर्‍यौँ । छलफल भयो । तर, कुनै निर्णयमा पुग्न सकिएन,’ निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने, ‘एउटा वडा वा क्षेत्रको कुरा होइन, त्यहाँ त सिंगो जिल्लाको अधिवेशन विवादित छ । त्यसबारे निर्णय लिनुभन्दा पहिले निर्वाचन अधिकृतलाई बोलाएर यथार्थ बुझौँ भन्ने भएपछि निर्वाचन अधिकृतलाई काठमाडौं बोलाउने निर्णय गरेका छौँ ।’ उनले निर्वाचन अधिकृतबाट त्यहाँको यथार्थ बुझेपछि मात्रै समाधानको प्रक्रिया अघि बढ्ने बताए ।

बैठकमा निर्वाचन अधिकृत र जिल्ला सभापतिको भूमिका कस्तो हुने भन्नेबारे बहस भएको छ । वडा अधिवेशनमा जिल्ला सभापतिको कस्तो भूमिका हुने ? सभापतिकै असहमतिमा अधिवेशन गर्न मिल्ने कि नमिल्ने ? पार्टी सभापतिले निर्वाचन अधिकृतको आदेश मान्ने कि ? निर्वाचन अधिकृतले जिल्ला सभापतिसँग समन्वय गरेर काम गर्ने ? निर्वाचन अधिकृतले पार्टी सभापतिसँग समन्वय नै नगरी अघि बढ्न पाइने कि नपाइने ? जस्ता थुप्रै प्रश्नहरु उठेका छन् । निर्वाचन समितिकै प्रतिनिधिमार्फत जिल्लाको वस्तुगत यथार्थ बुझेर निर्णयमा पुग्नुपर्ने भन्ने निचोडका आधारमा निर्वाचन अधिकृत बमलाई काठमाडौं झिकाइएको घिमिरेले जानकारी दिए ।

उता डडेलधुरामा भने शनिबार स्थानीय तहको अधिवेशनसमेत भएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा उल्लासमय ढंगले अधिवेशन सम्पन्न भएको निर्वाचन अधिकृत लोकेन्द्र बलले बताए । ‘यहाँ कुनै विवाद छैन । ९० प्रतिशतभन्दा धेरै क्रियाशील सदस्य सहभागी छन्,’ बमले भने । देउवाले पक्षले एकलौटी अधिवेशन गरेको भने पनि शनिबार पालिका तहको अधिवेशनमा भने दुई वटा पालिकामा मात्रै सर्वसम्मत भयो । अन्यमा चुनाव नै भएको छ ।

जिल्ला सभापति मल्ल पक्षले क्रियाशील सदस्यताको विषयमा असन्तुष्टि जनाउँदै सदस्यताको टुंगो लगाएरमात्रै अधिवेशन गर्न सकिने भनेको थियो । तर, केन्द्रीय सभापति देउवा पक्षले भने एकलौटी रुपमा अधिवेशन गराएको थियो । मल्लले जिल्लाबाट सिफारिस भएका ४६० जना क्रियाशील सदस्यको नाम केन्द्रबाट काटेर त्यसको ठाउँमा अरु सदस्य थपेको भन्दै आएका छन् । उनले त्यसबारे छलफल गरेर सदस्यताको टुंगो लगाएपछि मात्रै वडा अधिवेशन गर्नुपर्ने माग गरेका थिए । तर, देउवा पक्षले भने निर्वाचन अधिकृतमार्फत जिल्ला सभापतिको सहमतिविपरीत २५ भदौमा वडा अधिवेशन गराएको थियो । त्यसबारे वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समेत आपत्ति जनाउँदै वडा अधिवेशन अस्वीकार गरेको थियो । पौडेल समूहले पुनः वडा अधिवेशन गराउनसमेत माग गरेको थियो ।

मल्ल पक्षले भने पुनः वडा अधिवेशनको माग गर्दै डडेलधुरामा रिले अनशन गरिरहेको छ ।

सोलुखुम्बु र बर्दियामा एक–एक वडामा विवाद

निर्वाचन समितिमा सोलुखुम्बु र बर्दियाका एक–एक वडाको विवादसमेत छलफलमा छ । शनिबारको बैठकमा ती विषयमा छलफल भए पनि निष्कर्षमा भने पुगेको छैन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिकाको एक वडा र बर्दियाको मधुवन नगरपालिकाको एक वडाको विवाद निर्वाचन समितिमा आइपुगेको छ ।

प्रकाशित : आश्विन ९, २०७८ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?