कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

निधि, सिंह र कोइरालाबीच एकता र सहमतिको प्रयास

प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह फेरि छलफलमा जुटेका छन् । महाराजगन्त्रस्थित कोइराला निवासमा शुक्रबार साँझ महामन्त्री कोइराला, उपसभापति निधि र पूर्वमहामन्त्री सिंहका बीच भेटवार्ता भएको हो । यसअघि असार ७, ११ र १५ गते नेतात्रयबीच श्रृंखलाबद्धरुपमा लञ्च मिटिङ भएको थियो । शुक्रबार पनि कोइरालाको आमन्त्रणमा निधि र सिंह उनकै निवासमा पुगेका हुन् । त्यसक्रममा नेतात्रयबीच महाधिवेशनमा एकता र सहमतिबाट अघि बढ्ने विषयमा छलफल भएको छ ।

निधि, सिंह र कोइरालाबीच एकता र सहमतिको प्रयास

आसन्न महाधिवेशनको विषयमा तीन नेताहरुबीच छलफल भएको प्रकाशमान सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए । ‘कार्यतालिकाअनुसारै महाधिवेशनका कामहरु अघि बढाउने, क्रियाशील सदस्यताका बाँकी काम पूरा गरी ती जिल्लाको अधिवेशन गर्न गम्भीर भएर लाग्ने विषयमा नेताहरुबीच कुराकानी भयो,’ उनले भने, ‘त्यसबाहेक १४ औँ महाधिवेशनमा तीन जनाबीच कसरी सहकार्य र एकता गरेर अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । त्यसका लागि अझै छलफललाई निरन्तरता दिने भन्ने सहमति छ ।’

उनका अनुसार कोइराला, निधि र सिंहले सरकारलाई तत्काल पूर्णता दिएर जनतामा आशा जगाउने गरी सरकारका कामकारबाहीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । ‘महाधिवेशनमा एउटा सशक्त टिम बनाउनुपर्ने छ । त्यसका लागि आकांक्षीहरुका बीचमा निरन्तर छलफल छँदैछ । साथै, अब तीन नेताबीचमात्रै होइन, अन्य आकांक्षीहरुसँग पनि छलफल गरेर सहमतिबाट एउटा टिम बनाउने विषयमा समेछ छलफल गर्ने कुरा भएको छ,’ लामिछानेले इकान्तिपुरसँग भने ।

सभापति शेरबहादुर देउवाको समर्थनमा पार्टीको उपसभापति बनेका निधि अहिले देउवासँगै विद्रोह गरेर सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंह पनि सभापतिकै आकांक्षी हुन् । सभापतिका आकांक्षीबाहेक उनीहरुका बीचको अर्को समानता हो– कांग्रेसका संस्थापक नेताहरुको पुत्र हुनु । कोइराला बीपी कोइरालाका छोरा हुन् । निधि महेन्द्रनारायण निधि र सिंह गणेशमान सिंह र मंगलदेवी सिंहका पुत्र हुन् । उनीहरुको एकता र सहकार्यको प्रयासले कांग्रेसजनमा चर्चा पाएको छ ।

संस्थापक नेतात्रय कोइराला, सिंह र निधि पनि प्रतिस्पर्धी नै थिए, तर सम्बन्ध मित्रवत् थियो । अहिले उनका पुत्रत्रयका बीचमा पनि त्यस्तै परिस्थिति बनाउनुबाहेक नौलो समीकरणको सम्भावना कम रहेको निकटस्थ नेताहरु बताउँछन् । यसै पनि वर्तमान उपसभापति रहेका निधि बाह्रौँ महाधिवेशनमा सिंहसँग महामन्त्रीमा पराजित थिए । अब १४ औँ महाधिवेशनमा तीनै जना सभापतिका दाबेदार हुन् । अहिलेसम्मका भेटमा नेताहरुले नयाँ समीकरणको सम्भावना रहेको बताउँदै आएका छन् । तर, त्यस्तो छनक भने मिलेको छैन । स्रोतका अनुसार अहिलेसम्मका भेटमा तीन नेताले एकले अर्कालाई 'मलाई सहयोग गर्नुस्' भन्नेबाहेक सहमतिकै तहमा केही पनि भएको छैन । फेरि सिंह र कोइरालाले पौडेल समूहमा टिमबाट एउटै उम्मेदवार बन्ने सार्वजनिक प्रतिबद्धता समेत जनाइसकेका छन् ।

यसअघि कोइराला, निधि र सिंहले सामूहिक रुपमा सबै केन्द्रीय सदस्यहरुको भेला बोलाए पनि बस्न सकेन । भेला बोलाइएको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको बैठकमा कोइराला र सिंहलाई प्रश्न गरेका थिए । कोइराला परिवारसँग नजिक रहेका कांग्रेस नेता दीपक खड्का पार्टीलाई बलियो बनाएर अघि बढ्ने सन्दर्भमा नेतात्रयका बीच निरन्तर संवाद हुँदै आएको बताउँछन् । ‘छलफल पहिले पनि हुँदै आएको हो । अहिले पनि हुन्छ । तर, निचोडमा पुग्ने खालको छलफल भएको होइन,’ उनी भन्छन्, ‘कम्तीमा छलफलमात्रै गर्नु पनि राम्रो हो । सहमति र एकता भए एउटा कुरा हो नभए यसले कांग्रेसभित्रको पुरानो संस्कारलाई निरन्तरता दिएको रुपमा पनि बुझ्न सकिन्छ ।’

सबै नेताहरुले आफूलाई केन्द्रमा राखेर एकता र सहमतिको प्रस्ताव ल्याएकाले तीन नेताबीचमा एकता सम्भावना नरहेको कतिपयको भनाइ छ । निधिले कोइराला र सिंहको आडमा देउवासँग 'बार्गेनिङ' बढाएको भन्नेहरु पनि छन् । फरक-फरक गुट र पृष्ठभूमिका नेताहरूले समीकरणको प्रयास भने पनि एउटै पदका प्रतिस्पर्धी भएकाले मिल्ने सम्भावना कम देखिन्छ तर त्यसले अन्य आकांक्षी नेताहरूमाझ भने दबाब सिर्जना गरेको छ । कोइराला, सिंह र निधिको भेटले सभापति देउवा र वरिष्ठ नेता पौडेललाई पुस्तान्तरण र नेतृत्व हस्तान्तरणका लागि दबाब पुगेको नेताहरुको भनाइ छ ।

प्रकाशित : आश्विन ८, २०७८ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?