नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने पक्राउ

इकान्तिपुर डेस्क

काठमाडौँ — नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेका थिए ।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेका थिए । ‘उनले संग्रहालयको श्रीपेच कक्ष(रुपन्देही कक्ष) बाट खुकुरी निकालेर सोकेस फुटाउन खोजेका थिए,’ निर्देशक दाहालले भने, ‘सोही कक्षका सुरक्षामा बसेका नेपाली सेनाका सुरक्षा गार्डले नियन्त्रण लिएर प्रहरीलाई बुझाएका छन् ।’

संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाले घर्तीलाई दरबारमार्ग प्रहरी वृत्तलाई बुझाएका थिए । उक्त कक्षमा खुकुरी र अन्य सामग्रीसहित सोकेसमा नेपालका पूर्वराजाहरूले लगाएको श्रीपेच राखिएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पक्राउ परेका व्यक्तिको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसएसपी सिंहले जानकारी दिए ।

प्रकाशित : आश्विन ८, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्

टाइम म्यागजिन १०० प्रभावशाली व्यक्ति : मोदी, ममतादेखि तालीबानी नेता बरादरसम्म

इकान्तिपुर डेस्क

काठमाडौँ — प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२१ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा विश्वका विभिन्न मुलुकका राजनीतिज्ञदेखि कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अभियन्ता र उद्यमीसम्म समावेश छन् । 

टाइमले हरेक वर्ष विभिन्न ६ विधामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्ने गरेको छ । यस वर्षको सूचीको नेतृत्व विधामा अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि तालिबानका सहसंस्थापक अब्दुल गनी बरादरसम्म रहेका छन् ।

त्यस्तै सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पनि रहेकी छिन् । बनर्जी नेतृत्वको तृणमूल कंग्रेसले गत मार्चमा भएको विधानसभा चुनावमा प्रचण्ड बहुमत ल्याएको थियो । २९४ सिट रहेको पश्चिम बंगाल विधानसभामा तृणमूलले २१३ सिट जितेको थियो । ममता बनर्जी आफू भने नन्दिग्राम क्षेत्रमा बीजेपीका सुभेन्दु अधिकारीबाट पराजित भएका थिइन् । बनर्जीले यही सेप्टेम्बर ३० मा हुने उपचुनावमा भवानीपुर क्षेत्रबाट उम्मेदवारी दिएकी छिन् । बीजेपीले उनीविरुद्ध प्रियंका तिब्रेवाललाई उठाएको छ ।

टाइममा ममताबारे भारतीय पत्रकार बर्खा दत्तले ‘प्रोफाइल’ लेखेकी छिन् । ६६ वर्षीय नेता ममतालाई ‘भारतीय राजनीतिमा उग्रताको अनुहार’ का रूपमा चित्रित गरिएको छ । उनले तृणमूल कंग्रेसलाई नेतृत्व गर्नेभन्दा पनि उनी आफै नै पार्टी भएको टाइमको प्रोफाइलमा उल्लेख छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा सीएनएनका पत्रकार फरीद जकारियाले प्रोफाइल तयार पारेका छन् । मोदीले मुलुकलाई ‘धर्मनिरपेक्षताबाट हिन्दु राष्ट्रवादतर्फ धकेलेको’ टाइमले उल्लेख गरेको छ । भारत स्वतन्त्र भएपछिको ७४ वर्षको अवधिमा तीन जना प्रभावशाली नेतृत्वमध्ये मोदीलाई पनि राखिएको छ । जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि भारतीय राजनीतिमा दबदबा कायम गर्ने नेता मोदी भएको टाइमको प्रोफाइलमा लेखिएको छ ।

त्यस्तै सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावाला पनि यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा रहेका छन् । सिरमले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गर्दै आएको छ । सिरम खोप उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी हो । कोरोना महामारी अझै नरोकिएको र यसलाई रोक्न पुनावालाले अझै पनि महत्त्वपूर्ण योगदान गर्न सक्ने टाइमले उल्लेख गरेको छ ।

त्यस्तै तालिबानका सहसंस्थापक र अहिलेको अन्तरिम सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादरलाई टाइमले ‘शान्त, रहस्यमयी, सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ता कम दिने’ व्यक्तिका रुपमा चित्रित गरेको छ ।

त्यस्तै यस वर्षको सूचीमा विश्व व्यापार संगठन(डब्लूटीओ) की महानिर्देशक एनगोजी ओकोन्जो इवेला पनि परेकी छिन् । विश्वमा खोप अभियान एकता, सहकार्य र एनगोजीजस्तो नेतृत्वले गर्दा नै सम्भव भएको टाइमले उल्लेख गरेको छ । १६४ मुलुक सदस्य रहेको

डब्लूटीओको महानिर्देशक बन्ने उनी पहिलो अफ्रिकी र पहिलो महिला हुन् । बेलायती राजकुमार ह्यारी र मेघनले उनको बारेमा प्रोफाइल लेखेका छन् । एनगोजीले महामारी अन्त्यका लागि सहकार्य र एकताका साथै खोपको समानुपातिक वितरण हुनपर्नेमा जोड दिएको पनि उल्लेख गरिएको छ ।

डब्लूटीओकी महानिर्देशक एनगोजी ओकोन्जो इवेला । तस्बिर : डब्लूटीओ

त्यस्तै यस वर्षको सूचीमा राजकुमार ह्यारी दम्पतीका साथै टेनिस स्टार नाओमी ओसाका, गायिका ब्रिटनी स्पियर्स, बिल्ली एलिस, अभिनेत्री केट विन्सलेट, स्कार्लेट जोहान्सन, निर्देशक क्लोए चाओसमेत परेका छन् । त्यस्तै ताइवानी मूलका अमेरिकी अर्बपति जेन्सेन हुवाङ, प्रविधि व्यवसायी एलन मस्क पनि यस वर्षको प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् ।

त्यस्तै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट, इरानी राष्ट्रपति इब्राहिम रइसी र रूसका विपक्षी दलका नेता एलेक्सेई नाभाल्नी पनि प्रभावशाली व्यक्तिको सूचीमा रहेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७८ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×