पूर्वबाट बुटवल जान भैरहवाको यात्रा 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेदेखि बुटवलसम्मको सडकमा सवारी चालक र यात्रुलाई सधैं सास्ती 
नवीन पौडेल

परासी — दसैं नजिकिँदै गर्दा सडकमा आवागमन बाक्लिन थालेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेदेखि बुटवलसम्मको सडकको दुरवस्थाले भने सवारी चालक र यात्रुले सधैं सास्ती खेप्नुपरेको छ । मुख्य सडकको खाल्टाखुल्टी र डाइभर्सनका कारण यात्रा कष्टपूर्ण छ ।

पूर्वबाट बुटवल जान भैरहवाको यात्रा 

सडकको दुरवस्थाका कारण पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमतर्फ सञ्चालन हुने यात्रुवाहक बस भुमहीबाट सोझै बुटवल नगएर भैरहवा हुँदै जानुपर्ने अवस्था आउँदासमेत मर्मतका लागि कसैले पनि चासो दिएका छैनन् । भुमहीबाट बुटवलको ३७ किलोमिटर यात्रा तय गर्नका लागि यात्रु र सवारी चालकले भुमही–भैरहवा हुँदै बुटवलसम्म पुग्न ५८ किलोमिटरको घुमाउरो यात्रा गर्नुपर्छ । यसले सबैभन्दा बढी एम्बुलेन्स र उपचारका लागि बुटवल जानुपर्ने पश्चिम नवलपरासीका बासिन्दालाई मर्का परेको छ ।

‘नयाँ निर्माण गर्ने नाममा भइरहेको संरचना बिगार्ने र मर्मत नगर्दा हामीले दुःख पाएका छौं । अहिलेको बाटोमा मोटरसाइकल र स्कुटर चलाउन पनि निकै गाह्रो छ,’ सुनवलको भुमहीका योगेन्द्र भण्डारीले भने, ‘सडकको अवस्थाले गर्दा ४० मिनेटमा पुगिने स्थानमा २ घण्टाभन्दा बढी लाग्ने गरेको छ । सबैभन्दा दुःख अचानक बिरामी भएर अस्पताल जानुपरेमा सडकको अवस्थाका कारण बीचैमा ज्यान जाने जोखिम छ ।’ भुमहीदेखि बुटवलसम्म सुनवल र देवदहमा पुल भासिएको छ भने तीन स्थानमा डाइभर्सन निर्माण गरिएको छ । जसले गर्दा सहज रूपमा यात्रा गर्न कठिनाइ छ । हिलो र धूलोका कारण पनि यस सडक खण्डमा यात्रा गर्नका लागि यात्रु र सवारी चालक दुवै मान्दैनन् ।

‘सडक जीर्ण हुँदा ट्राफिक व्यवस्थापनमा निकै समस्या छ । डाइभर्सनमा एउटा गाडी फस्यो भने घण्टौंसम्म जाम हुन्छ,’ जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी निरीक्षक वासुदेव नेपालले भने, ‘सडक खराब हुँदा सबैलाई गाह्रो परेको छ ।’पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा छ । जसका लागि चाइना स्टेट कम्पनीले ठेक्का पाएको छ । तर ठेकेदार कम्पनीले पुल, कल्भर्ट र सडक निर्माण गर्न जथाभावी सडक वरपर खन्ने, माटो हाल्ने गर्दा पुरानो सडक जीर्ण बन्दै गएको हो । सडक विस्तारका क्रममा पुल निर्माणका लागि बनाइएको डाइभर्सनबाट वर्षामा बाढी पस्दा सडक बगाउने र बस्तीमा समेत पानी पसेपछि स्थानीयले समेत विरोध जनाएका थिए । डाइभर्सन निर्माण गर्दा प्रयोग गरिने डोजरले वरपरको सडक भत्काए पनि ठेकेदार कम्पनीले वास्ता नगर्दा सडक थप जीर्ण हुँदै गएको छ ।

सडक विस्तारको काम तोकिएको समयमा नहुने र जीर्ण सडकको मर्मत पनि समयमा नहुने हो भने यात्रा कष्टकर हुने सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । ‘हामीले ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेका छौं । सामान्य बिग्रिएको स्थानमा मर्मत पनि भएको छ,’ उनले भने, ‘तर वर्षाका कारण मर्मत हुन नपाउँदै पानीको भलले सडक भत्काउने गर्दा समस्या छ । अब हिउँद लागेपछि केही सहज होला ।’

प्रकाशित : आश्विन ८, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?