नेकपा (एस)सँग सहकार्य बढाउन दाहालको निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा (एस)सँग सहकार्य बढाउन दाहालको निर्देशन

‘एमसीसी सम्झौता परिमार्जन, संशोधन गरेर देशको हितमा प्रयोग गर्नुपर्छ भन्ने पक्षमा छौं’
कान्तिपुर संवाददाता

काभ्रे — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य बढाउन नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको भ्रातृ संगठन वाईसीएल पाँचखाल नगर कमिटीको भेलालाई बिहीबार सम्बोधन गर्दै उनले नेकपा एस गठन हुनुमा आफ्नो पनि मिहिनेत कम नभएको बताए ।

‘काभ्रेमा उनीहरू कति छन्, कस्तो अवस्थामा छन्, तपाईंहरूलाई थाहा होला, उहाँहरूसँग सहकार्य बढाउनुहोला,’ दाहालले भने, ‘किरणजी होस् वा विप्लवजी, मोहनविक्रमजी, बाबुरामजीहरू होस् हार्दिकतापूर्वक अन्तक्र्रिया बढाउनुहोला, केन्द्रमा हामीले पनि बढाइरहेका छौं ।’

आफूलाई बिग्रिएको र क्रान्तिको नेतृत्व गर्न नसक्ने आरोप लगाउने गरिएको भन्दै उनले पार्टीलाई कमजोर पार्न विदेशी साम्राज्यवादी, प्रतिक्रियावादी शक्तिहरू कसरी लागेको नजिकबाट देखेको बताए । उनले माओवादी केन्द्रसँग एकता हुने लहर सुरु भएको दाबीसमेत गरे । ‘माओवादी नै ठीक रहेछ, प्रचण्डले नै देशको रक्षा गर्ने रहेछ भन्ने लाइनमा आएका छन्,’ उनले भने, ‘किरणजी, विप्लवजी, मोहनविक्रमहरूसँग छलफल चलिरहेको छ, बाबुराम–उपेन्द्रजीहरूसँग त हामी गठबन्धनमा नै छौं, छिट्टै एउटै केन्द्र बनाउने कुरा गरेका छौं । मेरा लागि योभन्दा खुसीको कुरा अरू केही हुन सक्दैन ।’

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कारण देखाएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै आफ्ना लागि गठबन्धन नै महत्त्वपूर्ण भएको बताए । ‘एमसीसीको कुराले गठबन्धन टुट्छ कि भनेर केही लागेका छन्, परिमार्जन, संशोधन गरेर देशको हितमा प्रयोग गर्नुपर्छ भन्ने पक्षमा हामी छौं,’ उनले भने, ‘त्यसको कारण गठबन्धन टुट्दैन, हाम्रा लागि गठबन्धन महत्त्वपूर्ण कुरा हो ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका उनले एकताका बेला भएको समझदारी पालना नगरेर ओलीले ‘महान् नेता’ हुने अवसर गुमाएको बताए ।


प्रकाशित : आश्विन ७, २०७८ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्

संघ–प्रदेश कर्मचारी विवाद

कार्यालयका सामान आफ्नो भएको दाबी गर्दै प्रदेशमातहतका कर्मचारीले ३ संघीय कर्मचारीलाई २ घण्टा कार्यकक्षमै थुने
भरत जर्घामगर

सिरहा — लहानस्थित भूमिगत जलस्रोत कार्यालयमा कार्यरत संघ र प्रदेश सरकारमातहतका कर्मचारीबीच सामान बरबुझारथ नगरेको विषयमा विवाद भएको छ । संघमातहतको भूमिगत जलस्रोत विकास समिति र प्रदेशमातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनका कर्मचारीबीच विवाद हुँदा समितिका ३ कर्मचारी बुधबार साँझ करिब दुई घण्टासम्म कार्यालयमै थुनिन बाध्य भएका हुन् । हाइड्रोजियोलोजिस्ट अर्पण पराजुली, नायब सुब्बा सुरेन्द्र पौडेल र कार्यालय सहयोगी मधुसुदन महतो कार्यालयमा काम गरिरहेकै बेला साँझ साढे ५ बजेदेखि प्रदेश मातहतका कर्मचारीहरुले ताला लगाइदिएका थिए ।

यी दुवै कार्यालय एउटै भवनमा सञ्चालित छन् । कार्यालयमा भएका समानहरु संघ र प्रदेशका कर्मचारीहरुले आ–आफ्नो दाबी गर्दा विवाद भएको हो । केही दिनअघि प्रदेशमातहत रहेको डिभिजनका हाइड्रोजियोलोजिस्ट पुष्पराज दाहाल सरुवा भएका थिए । दाहालले समितिबाट पछि फिर्ता गर्ने गरी मेसिन, फ्रिजलगायतका सामान लगेर प्रयोग गर्दै आएका थिए । तर बुधबार रमाना लिएर जानुअघि ती सामान समितिलाई हस्तान्तरण गरेनन् । त्यसपछि ती सामान भएको कक्षमा बुधबार दिउँसो समितिका कर्मचारीले ताला लगाइदिए । तर ती सामानको उपयोग आफूले गर्न पाउनुपर्ने भन्दै डिभिजन कार्यालयका कर्मचारीले समितिको कार्यकक्षमै ताला लगाइदिएका हुन् । डिभिजन कार्यालयका कर्मचारीहरु मन्तलाल श्रेष्ठ, नसिबलाल यादव, बैजनाथ पासवान, मनोज गिरी, भगवानदत यादवलगायतले कार्यालय प्रमुख सुदर्शन अधिकारीको इसारामा आफूहरुलाई थुनेको नासु पौडेलको आरोप छ ।

तर डिभिजन प्रमुख अधिकारी भने सम्पत्ति सबै प्रदेशमातहत आउने गरी हस्तान्तरण भइसकेको दाबी गर्छन् । ‘कार्यालयमा हामी प्रमुखबीच कुनै विवाद छैन तर तल्लो तहका कर्मचारीबीच तँछाडमछाड हुने गरेको छ,’ उनले भने, ‘स्रोतसाधन प्रयोगमा संघीय सरकारका केही कर्मचारीले बदमासी गर्दै आइरहेका छन् ।’ ती सामग्री भएको कोठामा दुवै पक्षले ताला लगाएको तर अहिले खुलिसकेको उनले बताए ।

सिँचाइ कार्यालय पहिले एउटै थियो । संघीयता कार्यान्वयनपछि संघ र प्रदेशका गरी दुई कार्यालय भए । दुवै कार्यालयको जिम्मा सुरुमा उनै अधिकारीलाई थियो । संघीय कार्यालयमा पहिले विकास बजेट थिएन । कर्मचारीलाई तलब खुवाउने कार्य मात्रै हुन्थ्यो । गत असारमा बजेट विनियोजन भएपछि कार्यालय प्रमुखका रूपमा विश्वबन्धु केसी आए । केसीका अनुसार कर्मचारीबीच विवाद भएर तालाबन्दी भएको र डिभिजन प्रमुख अधिकारीसँगको समन्वयमा तालाबन्दी खुलेको बताए । सम्पत्ति सबै समितिकै नाममा रहेको र हस्तान्तरणको प्रक्रियामा गएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन ७, २०७८ २१:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×