जानकी मन्दिरलाई विश्व सम्पदामा पार्न पहल

मन्दिरको मौलिकता मासिने गरी भइरहेका निर्माण कार्यले सूचीकृत हुन बाधा पुग्ने विज्ञको भनाइ

जनकपुर — जनकपुरस्थित जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पुनः पहल थालिएको छ । जनकपुरधाम उपहानगरपालिकाले मन्दिरलाई विश्व सम्पदामा समावेश गराउन बहस चलाएको हो । पछिल्लो पटक नेपाल सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्तावित मुलुकका विभिन्न १५ सम्पदामा जानकी मन्दिर पनि परेको छ ।

जानकी मन्दिरलाई विश्व सम्पदामा पार्न पहल

जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउन यसअघि पनि प्रयास भएको थियो । यसका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र भोर गैरसरकारी संस्थाले हस्ताक्षर अभियान चलाएका थिए तर अभियान टुंगोमा पुग्न सकेको थिएन । जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन बुधबार जनकपुरमा छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफलका सहभागीले जानकी मन्दिरसहित जनकपुरका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदाको मौलिकता मास्ने काम भएको भन्दै विरोध जनाएका थिए । जनकपुरधाम उपमहानगर प्रमुख लालकिशोर साह, उपप्रमुख रीता कुमारी मिश्र, सुदृढ परियोजनाका कृष्ण ज्ञवाली तथा पुरातत्त्वविद् काय वाइजलगायतले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न कुनै कसर बाँकी नराखिने बताए ।

युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत हुन धार्मिक तथा सांस्कृतिक स्थलका लागि ६ वटा मापदण्ड निर्धारण गरिएको छ । जसमा प्रस्तावित संरचनालाई यथास्थितिमा राखिनुपर्ने, सनातन परम्परा, रितिस्थितिमा परिवर्तन गर्न नहुनेलगायत छन् । तर जानकी मन्दिरमा यसको मौलिकतामा प्रभाव पर्ने खालका संरचना निर्माण गरिएको छ । शौचालय, भोजनालय तथा एसीलगायतका उपकरण जडान भएका छन् । दाताले पनि मन्दिरको ऐतिहासिकता र मौलिकतालाई ख्यालै नगरी निर्माण थाल्ने प्रवृत्ति बढेको छ ।

मन्दिरको मौलिकतालाई ख्यालै नगरी निर्माण गरिने यस्ता संरचनाका कारण मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन समस्या हुने बृहत्तर जनकपुर विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहको भनाइ छ । सिंहले आफूलाई जानकारी नदिई बृहत्तर जनकपुर विकास परिषद्ले मन्दिरमा विद्युतीकरण गरेको आरोप लगाए । जानकी मन्दिरलाई विश्व सम्पदामा सूचिकृत गर्ने अभियानका अभियन्ता तथा भोर अध्यक्ष राजकुमार महतो मन्दिरभित्र र बाहिर जडान भएको टायल्स र मार्वलले मन्दिरको आकर्षण बढाउनु भन्दा पनि यसको मौलिकतामा गम्भीर असर पारेको बताउँछन् ।

प्राचिन वास्तुकलाको अनुपम नमूना मानिने जानकी मन्दिर अझ आकर्षक बनाउने भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्दिरमा मार्वल, टायल्स राख्ने, ढल निकास तथा प्रवेशद्वार निर्माण, विद्युतीकरण गर्न लगाएका थिए । ‘प्रदेश स्वच्छता अभियान’ अन्तर्गत झण्डै ७ करोड बजेट विनियोजन गरिएको थियो । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले भने मन्दिर व्यवस्थापन समिति यसको मौलिकताबारे सचेत रहेको दाबी गर्छन् ।

प्रकाशित : आश्विन ७, २०७८ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?