कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कांग्रेसको लोकतन्त्र : कहिले नेताले कुट्छन्, कहिले कार्यकर्ताले 

प्रकाश धौलाकोटी

काठमाडौँ — कार्यकर्तामाझ घेरिएका छन्, प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंह । ललितपुरको सानेपास्थित कांग्रेस मुख्यालयको प्रांगणमा मन्त्री सिंह र कार्यकर्ताहरुबीच विवाद सुरु हुन्छ । त्यसक्रममा सर्लाही बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लखिन्द्र महत्तो र मन्त्री सिंहबीच चर्काचर्की पर्छ । सबै नेता चर्को–चर्को स्वरमा कराउँछन् । 

कांग्रेसको लोकतन्त्र : कहिले नेताले कुट्छन्, कहिले कार्यकर्ताले 

मन्त्रीले कार्यकर्तालाई गाली गर्छन्, कार्यकर्ताले मन्त्रीलाई । मन्त्री सिंहले अपशब्दसमेत प्रयोग गरेर गाली गरेका छन् । वरिपरि घेरिएका कार्यकर्ताले मन्त्री सिंहलाई मन्त्री भएर यस्तो नबोल्न आग्रह गर्छन् । तर, मन्त्री सिंह भने नसिकाउन भन्दै झपार्छन् । मन्त्री सिंहले वडाध्यक्ष महत्तोलाई हात हाल्ने प्रयास गर्छन् । तर, बीचैमा प्रहरी आइपुग्छ । र, ती वडाध्यक्षलाई तानेर अर्कोतिर लैजान्छन् ।

गत मंगलबारको यो दृश्यसहितको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । मन्त्री सिंह र वडाध्यक्ष महत्तोको हाउभाउ हेर्दा बीचमा प्रहरी नघुसेको भए कस्तो परिस्थिति बन्थ्यो सजिलै अन्दाज गर्न सकिन्छ । त्यही विषयलाई लिएर बिहीबार कांग्रेस कार्यालयमा दोहोरी चल्यो । पहिले वडाध्यक्ष महत्तो पक्षले चर्को नाराबाजी गर्‍यो, पछि मन्त्री सिंह पक्षले ।

मन्त्रीले दुर्व्यवहार गरेको भन्दै सर्लाही–४ का सांसद अमरेशकुमार सिंहसहितले मन्त्री सिंहविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले पार्टीमा गुण्डागर्दीको अन्त्य हुनुपर्ने भन्दै मन्त्री सिंहलाई कारबाहीको समेत माग गरे । उनीहरुको विरोधमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन रह्यो । नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाले प्रदर्शनकैबीच सम्बोधन गरे । समूहका तर्फबाट ऐक्यबद्धता जनाए । त्यसको केहीबेरमै मन्त्री सिंह दलबलसहित सानेपा पुगे । उनले पनि नाराबाजी गरे । र सांसद सिंहलाई कारबाही गर्न माग गर्दै ज्ञापन–पत्रसमेत बुझाए ।

कांग्रेस महाधिवेशनको मिति जति नजिकिँदै छ, कांग्रेसमा विरोध र प्रतिरोधको श्रृंखला पनि बढ्दो छ । सदस्यता छानबिन सुरु भएयता कांग्रेस कार्यालयमा विरोध, धर्ना, नाराबाजी र अनशन टुटेको छैन । पार्टी नेतृत्वको निर्णयपद्धति र शैलीविरुद्ध कार्यकर्ताले विरोध गर्नु स्वाभाविक हो । तर, जिम्मेवार नेताहरु नै सस्तो लोकप्रियताका लागि धर्नामा निस्किरहेका छन् । कहिले वरिष्ठ नेता धर्ना बस्छन्, कहिले महामन्त्री । केन्द्रीय सदस्यहरुको त लेखाजोखा गरिसाध्य छैन ।

जिल्ला सभापतिको रिले अनशनमा ऐक्यबद्धता जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरु ।

कहिले नेताले कार्यकर्ता कुट्छन्, कहिले आफैँ कुटिन्छन् । कुटपिटको पनि श्रृंखलै चलेको छ । गत १ साउनमा क्रियाशील सदस्यता छानबिनमा खटिएका केन्द्रीय सदस्य श्यामकुमार घिमिरे कार्यकर्ताबाट कुटिए । कुटपिटमा संलग्न सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेत समेतलाई अनुशासन समितिले स्पष्टीकरण सोध्नेबाहेक कुनै कारबाही भएन । उनीहरुले माफी पाए ।

डडेलधुरामा पनि सम्भावित मुठभेडलाई प्रहरीले रोकेको थियो, २२ भदौमा । वडा अधिवेशनबारे छलफल गर्न बोलाएको जिल्ला कार्यसमिति बैठकमा जिल्ला सभापति कर्णबहादुर मल्ल र केन्द्रीय सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबीच नोकझोक भयो । बैठकमै दुई पक्षबीच भनाभन र हात हालाहालको स्थिति बन्यो । प्रहरी नभए दुई पक्षबीच मुठभेड हुने स्थिति बन्यो । अझ देउवाले कांग्रेसको ७५ वर्षे इतिहासमै पहिलो पटक प्रहरी परिचालन गरेर अधिवेशन गरेको आरोप लागेको छ ।

सात दशक लामो लोकतान्त्रिक अभ्यास गरेको कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रियामा देखिएका यी दृश्यले कांग्रेस अहिले कस्तो लोकतान्त्रिक अभ्यास गर्दैछ भन्ने प्रस्ट पार्छन् । लोकतन्त्रमा शान्तिपूर्ण विरोध स्वाभाविक हो । तर, कुटपिट र हात हालाहाल गर्नु लोकतान्त्रिक अभ्यास हुनै सक्दैन । वरिष्ठ पत्रकार किशोर नेपाल कांग्रेसमात्रै होइन, सबैजसो राजनीतिक दल स्वार्थी नेतृत्व र अराजक कार्यकर्ताको सिकार बनेको बताउँछन् । ‘हामीले देख्दा कांग्रेस अनुशासित पार्टी हो । जतिबेला किसुनजी सभापति हुनुहुन्थ्यो । पार्टीमा कहिल्यै त्यस्तो भएन । कुनै नेताले, कार्यकर्ताले बोल्यो भने माया गरेर फकाउनुहुन्थ्यो । पार्टीमा प्रेम थियो,’ नेपाल भन्छन्, ‘उहाँमात्रै होइन, गणेशमानजी, गिरिजा र अरुको पालामा पनि बरु त्यस्तै थियो । तर अब त्यो रहेन । त्यस्तो दूरदर्शी नेतृत्व पनि रहेन । पार्टीमा कसैमा कसैप्रतिको माया पनि रहेन । माफियाकरण हुने हो कि भन्ने डर पस्न थाल्यो । यो त कांग्रेसमा मात्रै होइन, अरु पार्टीमा पनि त्यही अवस्था छ ।’

बिहीबार भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेता शेखर कोइराला

पार्टी सभापतिले पार्टीलाई गुट जसरी चलाउँदा यस्तो भएको उनको टिप्पणी छ । ‘अब पार्टीमा निष्पक्षता रहेन । नेतृत्वले निष्पक्ष ढंगले पार्टी चलाउन चाहेनन् । अरुले पनि बाध्य बनाउन सकेनन्,’ उनी भन्छन्, ‘अरुले बोल्न सकेको भए, विरोध गर्न सकेको भए धेरै कुरा हुन्थ्यो । दलहरुको निर्णय प्रक्रिया पनि बिग्रियो । कसैले कसैलाई नटेर्ने, कसैले कसैलाई प्रेम नगर्ने अवस्था भयो । यस्तो त लोकतन्त्रको अभ्यास होइन, गुण्डागर्दी भयो ।’

केन्द्रीय सदस्य शेखर कोइरालाले पनि पार्टी कब्जा गर्ने नाउँमा गुण्डागर्दी मौलाएको बताए । ‘हरेक दिन क्रियाशीलका विषयमा फरक-फरक निर्णय भइरहेका छन् । बिहान एउटा निर्णय हुन्छ, बेलुका अर्को हुन्छ । त्यही कारण प्रदेश २ को विवाद मिलेको छैन,’ कोइरालाले बिहीबार पार्टी कार्यालयमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै भने, ‘पार्टी कब्जा गर्ने नाममा जुन गुण्डागर्दी भएको छ, यो हामीलाई मान्य छैन ।’

प्रवक्ता विश्वप्रकाश शर्मा भने समग्र राजनीतिमा भित्रिएको प्रवृत्तिलाई लिएर यी घटनाक्रमलाई हेर्नुपर्ने बताउँछन् । ‘मैले त केही दिन अघि राजनीतिमा परिवर्तनको प्रस्ताव नै ल्याएको छु, अहिलेसम्म हामीले राजनीतिक परिवर्तनका लागि लड्यौँ, अब राजनीतिमा रहेको विसंगतिलाई हटाउन राजनीतिमा परिवर्तन ल्याउनु जरुरी छ,’ उनी भन्छन्, ‘यस्ता घटनामा घटना र व्यक्तिलाई हेरेर होइन, प्रवृत्तिलाई हेरेर विरोध र समर्थन गर्ने अभ्यास हुनुपर्छ ।’ उनले पार्टीमा अनुशासन महत्वपूर्ण पक्ष रहेको बताए ।

प्रकाशित : आश्विन ७, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?