कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अरुलाई धेरै भन्दिनँ, बिग्रिएको मै हुँ : दाहाल 

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू बिग्रिएकोले सच्चिन तयार रहेको बताएका छन् । पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले आफूलाई पहिले सच्याएमा रुपान्तरण हुने बताए ।

अरुलाई धेरै भन्दिनँ, बिग्रिएको मै हुँ : दाहाल 

'म अरुलाई धेरै भन्दिनँ । बिग्रिएको मै हुँ । अब म सच्चिन्छु । अरु को-को सच्चिने, नसच्चिने तपाईंहरु सोच्नुस्,' उनले थपे, 'हिजो जनयुद्धमा हामफालेँ । अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ । कहिले संविधान बनाउनमा हामफालेँ । पार्टी एकतामा हामफालियो । फेरि समाजवादी क्रान्तिका लागि म चाहिँ हामफालेँ फालेँ । तपाईं/हामी सबैले यो फटाहाले बिगार्‍यो भन्नुभन्दा, मैले के बिगारेँ भन्ने सोच्न थालियो भने त्यहींबाट रुपान्तरण सुरु हुन्छ ।'

आफू जालझेल, ठकठाकमा लागे पनि अरुलाई दोष दिने प्रवृत्ति पार्टीमा रहेको उल्लेख गर्दै दाहालले यसबाट क्रान्तिकारी पार्टी नबन्‍ने पनि बताए । 'भ्रष्टाचार खुब गरिया छ । ठकठाक गरिया छ । ठेक्कापट्टा पाउनका लागि मरिहत्ते हाल्या छ । कमिसन खाना मरिहत्ते हाल्या छ । अनि म चाहिँ बिग्रिया छैन भन्ने लाग्ने फेरि । त्यो चाहिँ बिग्रियो भन्नेतिर लागेपछि यो पार्टी क्रान्तिकारी हुँदैन,' दाहालको भनाइ थियो, 'म चाहिँ बिग्रियोबाट सुरु गर्नुपर्‍यो । म बन्नु पर्छ भन्नेबाट सुरु गरियो भने सबै बन्छन् अनि त्यसपछि क्रान्तकारी पार्टी बन्छ ।'

पछिल्लो समय नेताहरुको प्रवृत्ति नबदल्ने हो भने पार्टी विघटन गर्नुपर्छ भन्ने धारणा राख्दै आएका दाहालले उक्त कार्यक्रममा पनि चुनाव जितेकाहरु धेरै बिग्रिएको टिप्पणी गरे । 'तल ग्राउन्डमा बस्ने कार्यकर्ता कोही बिग्रिएका छैनन् । बिग्रिएका भनेका टाठाबाठा, चुनाव जितेका धेरैजसो छन्,' दाहालले भने, 'मेरो अनुभवले के देखायो भने जल्लाई धेरै मन्त्री बनाएँ त्यही सबभन्दा धेरै भगौडा । त्यही धोकेबाज । कोही कोहीलाई मन्त्री बनाएसी ठीक हुन्छ भन्ठानेको त के को हुन्थ्यो ?'

माओवादी केन्द्र छाडेर एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुप्रति चर्को आलोचना गरेका दाहालले भने, 'त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ । अहिले कहाँ हेर्नुस् त... त्यो बादल हिजोको साथी । अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ ! तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, मैले हो नि ! हेर्नुस् । जो जति माथि आएको छ । त्यो त्यति बिग्रिएको छ । बुझ्नु होला ।'

दाहालले बाँकी जीवन समाजवादी क्रान्तिका लागि लड्ने भनाइ पुन: दोहोर्‍याए । 'अब कति वर्ष बाँचिन्छ । ज्यान छोडेर समाजवादी क्रान्तिको निम्ति युवाहरुको नेतृत्व गर्छु म । तपाईं युवाहरुले मलाई साथ दिनपर्‍यो पहिलेजस्तै । मचाहिँ हामफालेँ फालेँ ।'

प्रकाशित : आश्विन ७, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?