वार्ता र संवादबाट संसद् अवरोध हटाउन राष्ट्रिय सभा अध्यक्षको आग्रह

काठमाडौँ — संवाद र सहमतिबाट संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आग्रह गरेका छन् । संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्ष एमालेले अवरोध गर्दै आएको छ । 

वार्ता र संवादबाट संसद् अवरोध हटाउन राष्ट्रिय सभा अध्यक्षको आग्रह

राष्ट्रिय सभाको बिहीबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले त्यस्तो आग्रह गरेका हुन् । `वार्ताको माध्यमबाट नै समस्या समाधान गरी संसद्लाई नियमित चल्न दिनु नै उपयुक्त हुन्छ,' सरकार र प्रतिपक्षलाई उनले भने ।

राष्ट्रिय सभाको १० औं र प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गतेबाट सुरु भएको थियो । सोही दिनदेखि एमालेले दुवै सदनमा अवरोध गर्दै आइरहेको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठक सुरु भएपछि प्रमुख प्रतिपक्ष एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले सरकार, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अवरोध वार्ता र संवादबाट समाधान गर्न आग्रह गरेका हुन् ।

एमालेले अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले भनेका थिए, 'माननीय सदस्यहरू यहाँहरूले आफ्नो कुरा राखिराख्नु भएको छ । राष्ट्रले र सबैले यो सुनेको पनि सकेको छ ।'

एमाले सांसद कोमल वलीले बिहीबारको बैठकमा यथास्थितिमा सदन चल्न नसक्ने बताएकी थिइन् । एमालेको तर्फबाट बोल्दै उनले सभामुख अग्निप्रसाद सापकोटाका कारण अहिलेको परिस्थिति आएको बताएकी थिइन् ।

राष्ट्रिय सभाको बैठकले एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतबाट पारित गरेको छ ।

एमालेबाट निर्वाचित माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही भएको तर सभामुखले पदमुक्तको सूचना जारी नगरेको भन्दै दुवै सदन अवरुद्ध भइरहेका छन् । एमालेको अवरोधकाबीच दुवै सदनबाट विनियोजन विधेयक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ ।

प्रकाशित : आश्विन ७, २०७८ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?