ओलीले संसद्लाई पंगु बनाए, एमालेका ठूला सांसद लाज मानेर पछाडिबाट भाग्‍छन् : थापा - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले संसद्लाई पंगु बनाए, एमालेका ठूला सांसद लाज मानेर पछाडिबाट भाग्‍छन् : थापा 

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद्‍मा निरन्तर विरोध गरेर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई पंगु बनाएको कांग्रेस सांसद गगन थापाले बताएका छन् । एमालेका सांसदहरूले नै त्यसरी संसद् अवरुद्ध गर्न लाज मानेर पछाडिको ढोकाबाट भाग्ने गरेको पनि उनले बताए ।

'पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्सँग घिन लाग्छ । उहाँलाई संसद् दख्नै हुन्न । प्रधानमन्त्री बनाएपछि आफ्नो कार्यकालभरि संसद्लाई हेप्नुभयो । संसद्को पटकपटक भंग गर्नुभयो,' थापाले भने, 'संसद् पुनर्स्थापित भइसकेपछि पंगु बनाउनुभएको छ ।'

विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि एमालेको अवरोधका कारण आफ्ना कुरा राख्न नपाएको भन्दै थापाले दर्जनौं प्रश्न र असहमति त्यत्तिकै थाती रहेको बताए ।

'राष्ट्र ऋण उठाउने विधेयक, आर्थिक विधेयकमा बोल्नु थियो । दर्जनौं कुरा सरकारलाई राख्नु थियो । विमती राख्नु थियो । आज बजेट पारित भयो । यो बजेटभित्र प्रतिपक्षी दलले उठाउनुपर्ने कुराहरू छैनन् ? संसद्लाई यसरी पंगु बनाएर राख्ने ?,' उनले भने ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा उठेका विषयको टुंगो सभामुखले लगाउन नसक्ने थापाको भनाइ थियो । सर्वोच्चमा विचाराधीन विषय संसद्‌मा प्रवेश नै गर्न नसक्ने उनले बताए ।

संसद्प्रति सांसद ओलीले राख्ने धारणालाई एमालेले आफ्नो धारणा बनाउँदा झनै समस्या भएको थापाको भनाइ थियो । 'यो नाराबाजीको बीचमा बजेट पास हुने अवस्था आएको छ, यो हामी कुनै पनि सांसदका लागि प्रिय दृश्य होइन,' उनले भने, 'यो विषय जसरी प्रारम्भ भयो, सभामुखले जसरी सम्बोधन गर्नुभयो त्योभन्दा फरक किसिमले सम्बोधन गर्न सक्ने थिए भनेर जनतासमक्ष आफ्नो धारणा लिन सक्नुहुन्छ । तर आफ्नो धारणाका आधारमा संसद्लाई बन्धक बनाउनुभयो ।'

संसद्‌मा विरोध गर्ने प्रतिपक्षीको 'हतियार'लाई एमालेले दुरुपयोग गरेको पनि थापाले बताए । हाल आएर संसद्‌मा एमाले सांसद आउने र नाराबाजी गर्ने क्रम नियमित भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । 'विरोध राख्यौं, अब संसद्‌मा प्रतिपक्षको भूमिका निर्वाह गर्छौं भन्नुपर्ने होइन ? एमालेको कारणले गर्दाखेरि एमालेको सांसदले मात्रै होइन हामी कुनै पनि सांसदले आफ्नो भूमिका निर्वाह गर्न पाएका छैनौं । महत्त्वपूर्ण विधेयक पारित हुँदा प्रश्न राख्न नपाएर टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आएको छ,' उनले भने ।

एमालेका सांसदले नाराबाजी गरिरहँदा ठूला नेता तथा सांसदहरू पछाडिको ढोकाबाट भाग्ने गरेको थापाले बताए । 'प्रमुख प्रतिपक्षी दलको हैसियत नाराबाजी गर्ने बनाउनुभएको छ । लाज लागेर ठूला नेताहरू नारा लगाउन आउन छोड्नुभएको छ । नेकपा (एमाले)का ठूल्ठूला सांसदहरू भाग्नुहुन्छ पछाडिको ढोकाबाट । लाज लाग्छ उहाँहरूलाई यसरी नारा लगाउन । कसले आएर भन्न सक्नुहुन्छ कहिलेसम्म यसरी संसद् चलाउने भनेर ?,' उनले भने ।

पछिल्लो समय ठूला नेताहरू आउन पनि छोडेको र यस्तो अवरोधले नेपालको संसदीय अभ्यासका लागि अप्रिय भएको थापाले बताए । संसदीय गरिमामा आँच आएको पनि उनको भनाइ थियो ।

प्रकाशित : आश्विन ७, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा एसका पदाधिकारीहरु छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) पदाधिकारीहरुको छनोट गरेको छ । पार्टीमा वरिष्ठ नेतामा झलनाथ खनाल र मुकुन्द न्यौपाने रहेका छन् । सात जना उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह, जयन्ती राई रहेका छन् ।

त्यसैगरी महासचिवमा बेदुराम भुसाल र तीन उप–महासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल र सचिवहरुमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई, रामकुमारी झाँक्री रहेका छन् । बाँकी रहेका तीन सचिव पछि थपिने छन् ।

नेकपा एसले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । केन्द्रीय सदस्यको संख्या ३ सय १ पुर्‍याएको नेकपा (एस) मा ७१ सदस्यीय पोलिटब्युरो हुने छ । त्यसैगरी ७ सय १ सदस्यीय केन्द्रीय प्रतिनिधि परिषद्समेत गठन गरेको सो पार्टीका प्रचार विभाजका प्रमुख जगन्नाथ खतिवडाले बताए ।

केन्द्रीय परिषद्‌मा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुने सो पार्टीले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७८ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×