१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

युनिसेफ भन्छ–‘बालबालिकाको आहारमा देखिएन सुधार, कोभिडले अझ बढी गम्भीर हुन सक्ने’

काठमाडौँ — पछिल्लो दशकमा बालबालिकाको आहारमा कुनै सुधार नदेखिएको भन्दै कोभिड–१९ का कारण स्थिति अझ बढी गम्भीर हुने सक्ने युनिसेफले बताएको छ । 

युनिसेफ भन्छ–‘बालबालिकाको आहारमा देखिएन सुधार, कोभिडले अझ बढी गम्भीर हुन सक्ने’

युनिसेफले बिहीबार नयाँ प्रतिवेदन सार्वजनिक गर्दे दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनका लागि आवश्यक खाना वा पोषक तत्वहरु प्राप्त नहुनाले उनीहरुको वृद्धि विकासमा समस्या हुने जनाएको छ ।

९१ देशहरुको विश्लेषण पछिको प्रतिवेदन अनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिस गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाइन्छ । कोभिड–१९ ले अत्यावश्यक सेवामा बाधा पुर्‍याइरहेको र धेरै परिवारलाई गरिबीतिर धकेलिरहेको अवस्था छ ।

संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलनअघि जारी गरिएको प्रतिवेदनमा बढ्दो गरिबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरु र कोभिड–१९ को महामारी जस्ताले पोषण संकटलाई पनि प्रशय दिइरहेको र पछिल्लो दस वर्षमा सुधारको सानो संकेत पनि नदेखिएको चेतावनी दिएको छ ।

युनिसेफका अनुसार विश्वव्यापी रुपमा ५ वर्षभन्दा कम उमेरका ख्याउटेपन भएका बालबालिकामध्ये आधाभन्दा बढी लगभग २ करोड ३० लाख बालबालिका २ वर्षभन्दा कम उमेरका छन् ।

युनिसेफकी कार्यकारी निर्देशक हेन्रिएटा फोर भन्छिन्, ‘बालबालिकाको लागि सही प्रकारको पौष्टिक र सुरक्षित खाना उपलब्ध गराउनेतर्फ थोरै प्रगति भएको छ । वास्तवमा कोभिड–१९ निरन्तर भएको अवस्थामा सिर्जना भएका अवरोधहरुले स्थितिलाई झन् बढी जटिल बनाउन सक्छ । ’

प्रकाशित : आश्विन ७, २०७८ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?