विदेशीलाई अनअराइभल भिसा खुल्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशीलाई अनअराइभल भिसा खुल्यो

सुरज कुँवर

काठमाडौँ — कोभिड संक्रमणका कारण नेपालले रोक लगाएको अनअराइलल भिसा खुला गरेको छ । संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीका अनुसार कोभिडको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा (आगमन बिन्दुको प्रवेशाज्ञा) पाउने छन् ।

यसबारे मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै भिसा खुला गरेको जनाएको छ । सरकारले ०७६ चैतको पहिलो लकडाउन सँगै विदेशीलाई अनअराइभल भिसामा रोक लगाएको थियो ।

अब कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको, नेपाल आउने उडानको लागि चेक इन हुनु भन्दा ७२ घन्टा भित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको, होटल बुक गरेका विदेशीले सजिलै नेपाल भम्रण गर्न पाउने छन् । तर नेपाल सरकारले विदेशी नागरिकको नेपालमा पुन: अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्न सक्ने छ । यदि त्यस्तो परीक्षणबाट कोरोना पोजेटिभ देखिएमा अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा निको नभएससम्म बस्नुपर्ने सहसचिव अधिकारीले बताए ।

त्यस्तै नेपाली नागरिक वा आवासीय नेपाली नागरिकले नेपाल फर्किँदा पूर्ण खोप लगाएको हुनुपर्ने छ । त्यस्तै हवाई उडानमा चेक इन हुनु भन्दा ७२ घन्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पनि पेश गर्नुपर्ने छ । त्यस्तै सरकारले सीसीएमसीको फारम पनि अनिवार्य भर्नुपर्ने नियम तोकेको छ । यदि नेपाल प्रवेश गर्दा कोभिडको कुनै लक्षण वा चिह्न नभएमा गन्तव्यमा जान दिइने भनिएको छ ।

विदेशबाट नेपालमा आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारमा सहभागी हुन आउने नेपाली वा गैरआवासीय नेपालीलाइ भने स्थानीय तहको सिफारिसका आधारमा एन्टिजेन टेस्ट गरी नेगेटीभ रिपोर्ट आएपछि मात्रै गन्तव्यमा जान दिइने भनिएको छ ।

त्यस्तै स्थलगत मार्गबाट पनि अब विदेशीले नेपाल आउन पाउने छन् । उनीहरुले पनि ७२ घन्टा अघिको कोभिड नेगेटिभ परीक्षण रिपोर्ट अनिवार्य बुझाउनु पर्ने छ ।

प्रकाशित : आश्विन ७, २०७८ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

वायु प्रदूषणले बर्सेनि ७० लाख मानिसको अल्पायुमै मृत्यु : विश्व स्वास्थ्य संगठन 

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व स्वास्थ्य संगठनले विश्वमा मानिसको अल्पायुमै मृत्यु हुनुमा वायु प्रदूषण प्रमुख कारकको रुपमा रहेको दाबी गरेको छ । संगठनका अनुसार वार्षिक ७० लाख मानिसको वायु प्रदूषणका कारण अल्पायुमै मृत्यु हुने गर्दछ । त्यसैगरी दक्षिणपूर्वी एसियामा २० लाख मानिसको मृत्यु वायु प्रदूषणले हुने गरेको तथ्यांकले देखाएको छ ।

बुधबार प्रकाशित नयाँ निर्देशिकामा संगठनले भनेको छ– ‘अहिले देखिएको वायु प्रदूषणमा भेटिने पीएम २.५ का कणले गर्दा धेरै समस्या हुने गरेकाे देखिन्छ । त्यसलाई कम गर्न सकिए झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्छ ।' नयाँ निर्देशिकामा अस्वस्थ खान्की र धूमपानजस्तै वायु प्रदूषणलाई पनि मृत्यको कारक मानिएको छ ।

संगठनका अनुसार ६ वटा प्रमुख प्रदूषक जस्तै ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बोन मोनोअक्साइड जस्ता विषाक्त ग्यास र पीएम १० देखि पीएम २.५ सुक्ष्म कणहरु हुन् ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार वायु प्रदूषणले विश्वका देशमा स्वास्थ्यमा जोखिम बढाएको छ । तर, यो समस्या मध्यम तथा निम्न आय भएका देशहरुमा धेरै देखिन्छ ।

बालबालिकामा वायु प्रदूषणले फोक्सोको विकासमा कमी गराउनुका साथै श्वासप्रश्वासका संक्रमण तथा आस्थमाका समस्या पनि ल्याउन सक्छ । त्यसैगरी वयस्कमा यसले मुटुका समस्या तथा स्ट्रोक गराउन सक्छ । त्यसैगरी यसले मधुमेहका समस्या तथा नसासम्बन्धी समस्या गराउन सक्ने संगठन बताउँछ ।

प्रकाशित : आश्विन ७, २०७८ १३:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×