सरकारले निर्णय गर्‍यो तर खुलेनन् नाका

स्थानीय प्रशासन भन्छ– ‘लिखित निर्देशन आएपछि नाका पार गराउन अपनाउनुपर्ने मापदण्ड स्पष्ट हुन्छ । नाका खोल्ने विषयमा माथिल्लो निकायबाट कुनै निर्देशन छैन ।’

भैरहवा, बाँके, कपिलवस्तु, परासी — मन्त्रिपरिषद्को मंगलबारको बैठकले दक्षिणी सबै सीमा नाका खुला गर्ने निर्णय गरे पनि स्थानीय प्रशासनले यसबारे जानकारी नआएको बताएका छन् । जसका कारण सवारीसाधन लिएर नाका पार गर्न पुगेका नेपाली र भारतीय नागरिक सीमाबाटै फर्किनुपरेको छ । प्रशासकहरूले माथिल्लो निकायबाट निर्देशन नआएकाले नाकामा पुरानै नियम लागू भएको बताए । 

सरकारले निर्णय गर्‍यो तर खुलेनन् नाका

‘आवतजावतमा कस्तो प्रक्रिया अपनाउने भन्ने यकिन छैन,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने, ‘लिखित निर्देशन आएपछि बल्ल नाका पार गराउन अपनाउनुपर्ने मापदण्ड स्पष्ट हुन्छ । नाका खोल्ने विषयमा माथिल्लो निकायबाट कुनै किसिमको निर्देशन आएको छैन ।’

बुधबार रूपन्देहीको बेलहिया नाका हुँदै गाडी लिएर दशगजामा पुगेकालाई फिर्ता पठाइएको थियो । भारततर्फबाट गाडी, मोटरसाइकल र रिक्सा नेपालतर्फ आइरहेकामा तिनलाई भारतीय सुरक्षाकर्मीले दशगजाबाटै फर्काइदिए । केहीलाई दशगजामा पार्किङ गराइएको थियो । नाकाबाट ओहोरदोहोर गर्नेको संख्या मंगलबार र बुधबार ह्वात्तै बढेको थियो । सर्वसाधारण पैदल ओहोरदोहोर गरिरहेका थिए । नाकामा तैनाथ सुरक्षाकर्मीहरू लाइनबाट सर्वसाधारणलाई भित्र्याइरहेका थिए । सुरक्षाकर्मीहरूले पनि नाका खुला गरिएको बारे कुनै जानकारी प्राप्त नभएको बताए ।

बाँकेमा पनि चल्तीका नाका खोल्ने सरकारी निर्णय कार्यान्वयनमा अन्योल देखिएको छ । जसका कारण नेपालगन्जको जमुनाहा नाका भएर बुधबार नेपाली सवारीसाधन भारत प्रवेश गर्न पाएनन् । सरकारी निर्णय कार्यान्वयन नहुँदा पेट्रोलियम पदार्थ बोक्ने नेपाली गाडीबाहेक सवारीसाधन भारत चल्न पाएनन् । भारतबाट भने मालवाहक ठूला सवारीसाधन नेपाल प्रवेश गर्न दिइएको छ । नेपालीलाई पैदल भारत आउजाउ गर्न दिइएको छ ।

नेपालगन्ज सीमासँग जोडिएको सीमावर्ती भारतीय बजार रुपैडिहामा साइकल, रिक्सा र मोटरसाइकलसमेत चल्न पाएका छैनन् । नेपालीहरू वारि नै सवारीसाधन राखेर भारत जाने गरेका कारण जमुनाह नाका पार्किङ स्थल बनेको छ । सडकमा सयौं रिक्सा र मोटरसाइकल पार्किङ गर्दा नाका अस्तव्यस्त देखिएको थियो । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई पूर्ण खत्रीले सीमानाका खोल्नेबारे कुनै जानकारी नआएको बताए । पहिलेजस्तै नाका भएर पैदल आउजाउ गर्न दिइएको उनको भनाइ छ । उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका गाडीबाहेक अन्य सवारीसाधनलाई भारत प्रवेश गर्न दिइएको छैन । ‘सीमा पूर्ण रूपमा खोल्नेबारे कुनै निर्देशन हामीलाई छैन,’ उनले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले सरकारले नाका खोल्ने निर्णय गरे पनि त्यसलाई कार्यान्वयन गर्न भारतीय सरकारबाट निर्णय भएको बारे जानकारी नआएको बताए । भारतीय सहमतिबिना नेपाल सरकारले मात्रै नाका खोल्ने निर्णय गर्दैमा त्यो कार्यान्वयनमा आउन समस्या हुने उनको भनाइ छ । ‘नेपालले सीमा खोल्ने निर्णय गरेको ठीक हो । तर, भारतको केन्द्रीय सरकारले नाका खोल्नेबारे गरेको निर्णय बुझ्नुपर्छ,’ उनले भने, ‘भारतले निर्णय नगर्दासम्म हामीले गाडी पठाउँदा भारतमा अवरोध हुन सक्छ ।’

कपिलवस्तुका दुई नाकामा पनि सरकारी निर्णयको प्रभाव परेन । बुधबार पहिलेकै जस्तो अवस्था देखियो । यहाँका दुई नाका कृष्णनगर र मर्यादपुरमा नाकाको छेउछाउबाट सर्वसाधारण आवतजावत गरिरहे पनि निजी र भाडाका सवारीसाधन रोकिएका छन् । उता, सीमासम्म भारतीय सवारीसाधनमा आउने र सीमाबाट हिँडेर पार गर्ने गरिएको छ । ‘जिल्लाबाट कुनै सूचना छैन,’ इलाका प्रहरी कार्यालय कृष्णनगरका निरीक्षक सुकदेव पौडेलले भने, ‘यहाँ पहिलेकै जस्तो अवस्था छ ।’ आफूहरूले पनि पत्रपत्रिका पढेर नाका खुला भएको बारे थाहा पाएको उनले बताए ।

कृष्णनगर नाका मुलुकको ठूलो भन्सार नाकामा पर्छ । सरकारले अन्तर्राष्ट्रिय सिमानाका खोल्ने निर्णय गरे पनि पश्चिम नवलपरासीको महेशपुर नाका र छोटी भन्सारको नाका पूर्ण रूपमा खुला भएको छैन । नाका नखुलेको भए पनि सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको छैन । सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपी महेश अधिकारीले नाका खुला गर्नेबारे औपचारिक पत्र नआएको बताए । जिल्ला प्रशासन र हेडक्वार्टरबाट औपचारिक पत्र आएपछि भारतीय पक्षसँग समन्वय गरेर नाका खोलिने उनले बताए ।

प्रशासनले औपचारिक रूपमा नाका नखोले पनि बुधबार लुम्बिनीका सीमा क्षेत्रमा भीडभाड देखिएको थियो । सामान्य किनमेलदेखि कामका लागि सर्वसाधारण ओहोरदोहोर गरिरहेका थिए । ‘नाका खुलेपछि बल्ल व्यवसायीलाई राहत पुग्ने आशा लागेको छ,’

पाल्हीनन्दन–१ ठुटीबारीका व्यवसायी नरेश पटेलले भने, ‘यसअघि नै स्वास्थ्य मापदण्ड पूरा गरेर नाका खोल्नुपर्नेमा ढिलै भए पनि खुल्यो ।’ भारतीय सीमावर्ती नाका ठुटीबारी बजारमा अधिकांश ग्राहक नेपाली हुने गर्छन् । यसअघि भारत ठुटीबारीका स्थानीय व्यवसायीले पटक–पटक नाका खुलाउन भारत र नेपाल सरकारलाई आग्रह गर्दै आएका थिए ।

कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले २०७६ चैत पहिलो सातादेखि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो । पैदल आउजाउ खुलाए पनि सवारीसाधनसमेत खुलाउनेबारे सरकारले मंगलबार निर्णय गरेको थियो ।

प्रकाशित : आश्विन ७, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?