राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्क प्रस्थान- समाचार - कान्तिपुर समाचार

राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्क प्रस्थान

रासस

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति न्यूयोर्क प्रस्थान गरेका छन् । गत भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मंगलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका प्रस्थान गरेको मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले बिदाइ गरे ।

‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत अधिकारी छन् ।

प्रकाशित : आश्विन ६, २०७८ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्

चन्द एमसीसीको विपक्षमा

कान्तिपुर संवाददाता

पोखरा — नेपाल कम्युनिस्ट पार्टी चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले एमसीसी देश र जनताविरुद्ध रहेकाले कुनै पनि हालतमा कार्यान्वयन गर्न नहुने बताएका छन् । जनताको अनुमति र सबै पार्टीबीच सहमतिबिनै पारित भए त्यसको प्रतिकार गर्नुपर्ने उनले बताए ।

पार्टी निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले एमसीसीबारेका विरोध जानीबुझी नै भएको दाबी गरे । ‘नेपालको भाँडभैलोमा अमेरिका ठूलो फाइदा उठाएर हिँड्न चाहन्छ,’ उनले भने, ‘अमेरिका र भारतसमेत मिलेर नेपाललाई असफल बनाउन र जनतालाई निराश बनाउन र फुटाउन एमसीसी आएको छ ।’ सत्तामा रहेका केही दलको सहमतिले एमसीसी पारित गरिहाल्छौं भन्ने नठान्न उनले चेतावनी दिए ।

प्रकाशित : आश्विन ६, २०७८ २२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×