लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य : राष्ट्रपति

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी मान्यताप्राप्त निकाय प्रेस काउन्सिलले सञ्चार क्षेत्रलाई अब्बलरूपमा उभ्याउन कोसिस गर्नुपर्ने बताएकी छन् । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित समारोहमा उनले त्यसका लागि काउन्सिललाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन सबै निकायबाट सहयोग हुनुपर्ने आवश्यकता औंल्याइन् । 

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य : राष्ट्रपति

राष्ट्रपति भण्डारीले भनिन्‌, 'जिम्मेवार पत्रकारिता, सुसूचित आमजनता र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । लोकतन्त्रको अभ्यासमा आमसञ्चारको क्षेत्रमा देखिएका कमीकमजोरी हट्दै जानेछन् । पत्रकारजगत्बाट आचारसंहिता पालना हुनेछ ।' दुई वर्ष सञ्चारमाध्यम र पत्रकार जगत्ले कोभिड–१९ को महामारीबाट पीडित हुने परेकामा दुःख लागेको बताउँदै उनले सङ्क्रमणको जोखिमपूर्ण परिस्थितिमा पनि समाचार सम्प्रेषणका माध्यमद्वारा पेशाप्रतिको दायित्व बहन भएको भनी सराहना गरिन् । लोकतन्त्र र आमसञ्चार क्षेत्र एकअर्काको परिपूरक भएकाले लोकतन्त्र र मानवअधिकार प्रवद्र्धनका लागि आमसञ्चार क्षेत्रले अभिन्न अंगका रूपमा काम गरिरहेको बताउँदै राष्ट्रपति भण्डारीले भने, 'लोकतन्त्रको सफलताका लागि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ ।'

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वमा विकसित भएका नयाँ प्रविधिको प्रयोगलाई आत्मसात् गरी परिमार्जित र व्यवसायी बन्दै अघि बढेकै कारण नेपालको सञ्चार क्षेत्र उदाहरणीय बन्न सफल भएको बताए । उनले भने, 'सञ्चार क्षेत्रको विकास, सदृढीकरण र सुव्यवस्थित गर्न सरकार जिम्मेवारी लिन तयार छ, समाजलाई सुसंस्कृत र अनुशासित बनाउन सञ्चार क्षेत्र जिम्मेवार भई काम गर्नुपर्छ । यस मामिलामा नेपाली सञ्चारक्षेत्र निष्ठावान रहिआएको छ ।'

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले पत्रकारिता क्षेत्रको नियमन निकायका रूपमा रहेको प्रेस काउन्सिलले सजग, सतर्क र चनाखो भएर सत्यतथ्यसहितको सान्दर्भिक सूचना सम्प्रेषण गर्ने गराउने विषयमा क्रियाशील हुन आवश्यक रहेको बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?