डा. भक्तमानको अपहरणमा संलग्‍न पण्डित पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. भक्तमानको अपहरणमा संलग्‍न पण्डित पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवनका चिकित्सक (बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । 

प्रहरीको कन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ मुलाबारीबाट स्थानीय ४५ वर्षीय राजेन्द्र पण्डितलाई पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक कसुरमा उच्च अदालत हेटौँडा इजलासको २०७० माघ २१ को फैसलाले उनलाई नौ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

तत्कालीन मुलिकी ऐन, (२०२०) को अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं बमोजिम सात वर्ष कैद र सोही महलको ७ नं बमोजिम दुई वर्ष थप कैद गरी जम्मा नौ वर्ष कैद तोकिएको थियो । त्यसपछि पण्डित फरार हुँदै कहिले नेपाल त कहिले भारतमा लुकेर बसेका थिए । पछिल्लो समयमा नेपाल प्रवेश गरेको सूचना पाएपछि केही अघिदेखि सिआइवीको टोलीले उनको खोजी थालेकोमा मङ्गलबार पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

अपहरणमा संलग्न नुवाकोटका बद्रिप्रसाद ढुंगाना, काठमाडौंका गौतम योञ्जन, भारतका रोहित पालिवाललगायत पक्राउ परिसकेका छन् । मुख्य अभियुक्त भनिएका नुवाकोटका भीमसेन पण्डित अझै फरार छन् । भारतमा रहेका उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । राजेन्द्र भने भीमसेनका नजिकका मान्छे हुन् । उनी डा श्रेष्ठको अपहरणपछि राख्ने ठाउँको व्यवस्थापनमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

२०६७ जेठ ४ मा चितवनको भरतपुर महानगरपालिका–१०, साबिकको भरतपुर नगरपालिका–१० चौबिसकोटीस्थित चितवन अस्पतालबाट घर फर्कँदै गर्दा स्थानीय हाकिमचोक नजिकको भित्री सडकबाट डा श्रेष्ठलाई अपहरण गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार अपहरणपछि उनलाई काठमाडौँ र नुवाकोटका विभिन्न ठाउँमा बन्धक बनाई राखिएको थियो । अपहरण भएको १८ दिनपछि फिरौती लिएर डा श्रेष्ठलाई अपहरणकारीले छाडेका थिए । अपहरणको चार दिनपछि उनको ब्रिफकेस चितवनको मुग्लिन नजिक घोप्टेभिरमा फेला परेको थियो ।

अपहरणकारीलाई उनका परिवारले फिरौतीबापत भारतमा साढे तीन किलो सुन (तत्कालीन मूल्यअनुसार एक करोड १० लाख रुपैयाँ पर्ने) बुझाएपछि डा श्रेष्ठ २०६७ जेठ २२ गते धादिङको माझिकोटबाट अपहरणमुक्त भएका थिए । त्यो बेला उनीहरुले कल बाइपास गरेर परिवारसँग सम्पर्क गर्ने गरेका थिए । यसअघि काठमाडौँ महानगरपालिका–४ बस्ने ४१ वर्षीय गौतम योञ्जनलाई पनि सिआइवीको टोलीले नै काठमाडौंबाट पक्राउ गरेको थियो ।

प्रकाशित : आश्विन ६, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्

असोज १० देखि धरानमा फुटसल हुने 

प्रदीप मेन्याङ्बो

सुनसरी — मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा धरानमा च्यारिटेबल प्रथम सिंगापुर तथा मितेरी फुटसल प्रतियोगिता हुने भएको छ ।

असोज १० गते देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । उक्त प्रतियोगितामा आयोजक मितेरी फुटसलको २ टिम र सिंगापुर लिफको २ टिम गरी धरान, इटहरी, काठमाडौं, पोखरा, चितवन, मोरङ, झापा, धनकुटालगायतका करिब ३० टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजक मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले बताए ।

प्रतियोगिता सञ्चालनबाट संकलन भएको रकमले वडाको विजुवा मार्गस्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने राईले बताए । यसैगरी धरान १३ मा रहेको पेट्रोल पम्पदेखि भेडेटारसम्मको घुम्तीहरुमा र धरान उपमहानगरभित्रका जोखिमयुक्त घुम्ती र चौकहरु गरी ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाउनमा खर्च गरिने बताइएको छ ।

प्रतियोगिताका अर्का आयोजक सिंगापुर पुलिस लिफ टिम सिंगापुरबाट छुट्टिमा नेपाल आएका बेला समूहले सामाजिक उत्तरदायित्व निर्वाह गर्न च्यारिटेबल प्रतियोगितको आयोजनामा सहकार्य गरेको सिंगापुर लिफ टिम सदस्य विपिन लिम्बूले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×