२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कांग्रेस पौडेल पक्षको अर्को सर्त- ‘एउटा तहको सकिएपछि मात्रै अर्को तहको अधिवेशन गरौं’

काठमाडौँ — १४ औं महाधिवेशनमा होमिएको कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले वडा तहको अधिवेशन पूरा भएपछि मात्रै पालिका तहको अधिवेशन गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ । 

कांग्रेस पौडेल पक्षको अर्को सर्त- ‘एउटा तहको सकिएपछि मात्रै अर्को तहको अधिवेशन गरौं’

महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बुधबार बसेको बैठकले अधिवेशनका लागि नयाँ सर्त अघि सारेको हो । ‘६४ जिल्लाको वडा अधिवेशन भइसक्यो । अब १३ जिल्लाको मात्रै वडा अधिवेशन बाँकी छ । त्यसैले यी जिल्लाको वडा अधिवेशन सम्पन्न भएपछि मात्रै अर्को तहको अधिवेशन गरौं भन्ने कुरा भएको छ,’ बैठकपछि नेता बलबहादुर केसीले भने, ‘एउटा तहको अधिवेशन सकिएपछि मात्रै अर्को तहको अधिवेशन गरौं भन्ने कुरा हो ।’ उनले पदाधिकारी बैठकमा नेताहरुले ७७ वटै जिल्लाका ६ हजार ७४३ वडाको अधिवेशन सकिएपछि मात्रै गाउँपालिका र नगरपालिकाको अधिवेशन गर्नुपर्ने प्रस्ताव राख्ने बताए । कांग्रेसले ९ असोजमा पालिका तहको अधिवेशन गर्ने कार्यतालिका छ । यसअघि २७ भदौका लागि तोकिएको पालिका तहको अधिवेशन एकैपटक गर्ने सर्तमा नै ९ असोजका लागि सारिएको थियो ।

त्यसो त, पौडेल पक्षले राखेको यो नयाँ सर्त भने होइन । १८ भदौमै ६ हजार ७४३ वटै वडामा एकैदिन वडा अधिवेशन गर्नुपर्ने पौडेल समूहको अडान थियो । तर, सो दिन ५६ जिल्लामा मात्रै अधिवेशन सुरु भएको थियो । त्यसपछि पनि पौडेल समूहले बाँकी जिल्लामा समेत एकैदिन गर्नुपर्ने प्रस्ताव राख्न छाडेन । डडेलधुरासहित ५७ जिल्लाको अधिवेशन सकिएको अवस्थामा समेत पौडेल समूहले त्यही सर्त राखेको थियो । जसकारण २६ भदौमा कांग्रेसले ५ असोजमा बाँकी रहेका २० जिल्लामा वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । तर, ५ असोजमा पनि ती सबै जिल्लाको अधिवेशन हुन सकेन । पौडेल समूहले पटक–पटक एकैदिन अधिवेशन गर्नुपर्ने सर्त राख्दै आएको छ । तर, त्यस्तो भइरहेको छैन । बरु त्यहीकारण महाधिवेशन कार्यतालिका निरन्तर भत्किँदै आएको छ ।

‘छिटफुट गर्दा एक ठाउँको अधिवेशनले अर्को अधिवेशन प्रभावित हुनसक्छ भन्ने होला । तर, यसले महाधिवेशनको सिंगो कार्यतालिका प्रभावित हुँदै आएको छ, अब पनि पालिका तहको अधिवेशन सर्‍यो भने दसैं पछिसम्म पुग्न सक्छ,’ एक नेताले भने ।

कांग्रेसले एकैदिन अधिवेशन गर्ने सर्तकै कारण २७ भदौको पालिका तहको अधिवेशन ९ असोजका लागि सारेको थियो । जसअनुसार १२ असोजमा प्रदेश सभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन तथा १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने संशोधित कार्यतालिका छ । ९ असोजको अधिवेशन प्रभावित भए फेरि जिल्ला तहसम्मकै कार्यतालिका प्रभावित हुन्छ । जसको प्रभाव केन्द्रीय महाधिवेशनमा पनि पर्न सक्छ ।

कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तोकेको छ ।


प्रकाशित : आश्विन ६, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?