बाघ लोभ्याउन पाडोको पासो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघ लोभ्याउन पाडोको पासो

मान्छेमाथि आक्रमण गर्ने बाघलाई बेहोस पारेर नियन्त्रणमा लिन प्राविधिक टोली जंगलमा
रुपा गहतराज

नेपालगन्ज — पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडक खण्डमा गत आइतबार दुईवटा पाटेबाघको आक्रमणबाट ४५ वर्षीय पुरुषको मृत्यु भयो । त्यसपछि बस्तीमा त्रास छ । ती बाघलाई बाँके राष्ट्रिय निकुञ्जले खोजी गरिरहेको छ । 

मान्छेलाई आक्रमण गर्नु अघिल्लो दिन ती दुई बाघले गाउँमै पसेर एउटा गाई र एउटा बाच्छो मारेका थिए । मान्छेमाथि आक्रमण भएपछि भने निकुञ्जले नियन्त्रणमा लिन प्रयास थालेको हो ।

बाघ हिँड्ने शंका गरिएको बाटोमा ६ वटा क्यामेरा ट्र्याप राखिएका छन् । दुइटा घरपालुवा हात्तीसहित नेपाली सेना परिचालन गरेको निकुञ्जले जनाएको छ । बाघलाई सिकारका लागि लोभ्याउन पाडो राखिएको छ । पाडो बाँधेको ठाउँमा बाघ भने आइसकेको छैन ।

बाघले मान्छे मारेको भोलिपल्ट नेपाली सेनासहितको टोलीले जंगलका केही भागमा खोजी गरेको थियो । बाघ भेटिएनन् । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोली पनि नेपालगन्ज आइपुग्यो । एक जना भेटेनरी डाक्टरसहित चार जनाको टोली एक सातादेखि नेपालगन्जमा छ । यतिबेला उक्त बाघ नियन्त्रणमा लिन खोरसहित प्राविधिक टोली जंगलमै छ ।

‘गाभरबाट ल्याएर दुइटा हात्ती वनमा छोडेका छौं । रात्रि गस्ती गराइरहेका छौं,’ निकुञ्जका रेन्जर राजन पण्डितले भने, ‘मंगलबारदेखि जंगलमा पाडो पनि राखेका छौं । एकपटक सिकार गरेको आहारा नसकुन्जेल पटक–पटक बाघले सिकार गरेको आहारा खान आउँछ ।’ आफूले सिकार गरेको आहारा खान बाघ कम्तीमा तीन दिन आउने उनले बताए । त्यो आहारा नसडेसम्म बाघ आइरहन्छ ।

स्थानीय बासिन्दा नजिकै राजमार्गमा बाघ दिउँसै हिँडेको देखिने बताउँछन् । बाघ देखिन थालेपछि डरले दैनिक कामसमेत गर्न नसकेको भन्दै सरकारले बस्ती नै सारिदिनुपर्ने वा बाघलाई नियन्त्रणमा लिनुपर्ने आवाज उठाउँदै आएका छन् । राप्तीसोनारी–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले वन नजिकैको बस्ती भएकाले स्थानीयले असुरक्षित महसुस गरिरहेको बताए । ‘दुइटा बाघले राजमार्गभन्दा सय मिटरभित्र गाभर बस्तीमा आएर मान्छे मार्‍यो । सुरक्षा प्रबन्ध गतिलो नहुँदा डराउनु स्वाभाविक हो,’ उनले भने ।

हाल यहाँ बाघको संख्या २१ पुगेको निकुञ्जले जनाएको छ । २० महिनामा बर्दिया निकुञ्जभित्र, मध्यवर्ती क्षेत्र र सँगै जोडिएको बाँके निकुञ्जमा बाघको आक्रमणबाट १९ जनाको ज्यान गएको छ । पटक–पटक मान्छेलाई आक्रमण गर्ने बाघको भने यकिन हुन सकेको छैन । ५ सय ५० वर्ग किलोमिटरमा फैलिएको मुलुकको सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज बाँकेमा बाह्रै महिना पानी बग्ने नदी खोला छैनन् । यसले गर्दा गर्मी सुरु भएसँगै वन्यजन्तु पानीको खोजीमा निकुञ्जबाहिर निस्कने गरेका छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

सहर बन्यो रुकुमकोट

हरि गौतम

रुकुम पूर्व — केही घर, सामान्य चहलपहल । इलाका प्रशासन कार्यालयमार्फत सेवा प्रवाह र कर्मचारी अभावमा त्यो सेवा पनि नियमित नहुँदा रुकुमकोटमा खासै चहलपहल थिएन । रुकुमकोट उपत्यका २०७४ असोज १९ अघिसम्म एउटा गाउँ थियो । त्यसपछिको दृश्य भने आकाश–जमिनजत्तिकै फरक छ । अहिले रुकुमकोटबाटै जिल्लास्तरीय कार्यालयका सबै कामकाज भइरहेको छ । 

२०७२ असोज ३ गते जारी संविधानमा रुकुमको पूर्वी भागलाई समेटेर छुट्टै जिल्ला बनाइएपछि त्यसको दुई वर्षपछि रुकुमकोटबाटै जिल्लाको कामकाज थालिएको हो । २०७४ असोज १९ गते जिल्ला स्तरमा रहने कार्यालयहरू जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, जिल्ला सरकारी वकिलको कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालयको उद्घाटन भयो । त्यसयता रुकुमकोटले हरेक दिन रूप फेरिरहेको छ । त्यसपछि अरु सरकारी तथा गैरसरकारी कार्यालय पनि थपिंदै गएका छन् ।

एउटा संरचना भएको ठाउँमा अर्को संरचना बन्छ । भौतिक संरचना, उद्योगधन्दा र स–साना कलकारखाना बढ्दै गएका छन् । छिप्रिदह बजारबीचको सडक फराकिलो बनेको छ । दायाँबायाँ ठूला घर तथा भवन बनेका छन् । दैनिकजसो संरचना निर्माणको काम धमाधम भइरहेका छन् । व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि घर तथा भवन बनाउनेहरू बढ्दै गएका छन् । व्यापार व्यवसाय गर्नेहरूको संख्या दैनिक बढिरहेको छ । रुकुमकोट उपत्यकाभित्रको मुख्य बाटो कालोपत्र भएको छ । सडक सोलार बत्तीले राति झलमल्ल छ । उपत्यकाभित्रै रहेको कमलदह व्यवस्थित बनाइएको छ ।

रुकुमकोटमा भइरहेको गतिविधि, बढिरहेको चहलपहल, थपिइरहेका व्यवसायी, कलकारखानाले रुकुमकोट अहिले गुल्जार छ । रुकुमकोटको बीच भएर बनेको मध्यपहाडी लोकमार्गले थप आकर्षण बढाएको छ । ‘रुकुमकोटमा हरेक गतिविधि उल्लेख्य बढेका छन्,’ रुकुमकोट उद्योग वाणिज्य संघका सचिव केवेन्द्र गौतमले भने, ‘यो सबै गतिविधि सुरु भएको जम्माजम्मी चार वर्ष भयो ।’ छोटो समयमा यत्रो परिवर्तन होला भन्ने अनुमान नै नगरेको गौतमले बताए । रुकुमकोटबाट प्रशासनिक कामकाज थालिनु, रुकुम पूर्व छुट्टै जिल्ला हुनु र सबै गतिविधि रुकुमकोट केन्द्रित हुनुले यो सबै सम्भव भएको उनको बुझाइ छ । ‘यो सुन्दर उपत्यको हो,’ गौतमले भने, ‘केही समयअघि स–साना घरहरूको उपत्यका थियो, अब भवन र अरु सबै हिसाबले बजारसहितको उपत्यका सहर बनेको छ ।’ रुकुमकोटमा उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यवसाय पनि हरेक दिन बढिरहेको उनले बताए ।

संघीयताले नै यो सबै विकास भएको स्थानीयको बुझाइ छ । स्थानीय तिलक रेउलेले देश संघीयतामा जाँदा रुकुम पूर्व छुट्टै जिल्ला बनेको बताए । ‘रुकुमकोट सिंगो रुकुम जिल्लाकै सदरमुकाम थियो,’ उनले भने, ‘सदरमुकाम नै खोसेर लिइएपछि सुनसान बनेको रुकुमकोट फेरि गुल्जार बन्दै गएको छ ।’ रुकुमकोटलाई जिल्लाकै केन्द्र मानेर सबै गतिविधि सञ्चालन भइरहेपछि यसमा चहलपहल बढेको उनले बताए । संघीयतापछि मात्रै रुकुमकोटबासीले न्याय पाएको उनले सुनाए ।

मध्यपहाडी लोकमार्गका कारण पनि सर्वसाधारणले उत्साहित भएर रुकुमकोटमा लगानी बढाइरहेका छन् । भएका व्यापार व्यवसाय विस्तार भएका छन् भने धेरै व्यवसाय थपिएका छन् । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले स्वाभाविक रूपमा रुकुमकोटमा चहलपहल बढेको बताइन् । ‘रुकुमकोट फेरि जिल्लाको सदरमुकाम बनेको छ, सिस्ने गाउँपालिकाको केन्द्र पनि यही हो,’ उनले भनिन्, ‘त्यसैले यसलाई स्वाभाविक रूपमा लिएकी छु ।’ रुकुमकोटको विकासका लागि आधारभूत काम भइसकेको र विस्तारको काम जारी रहेको उनको भनाइ छ । संघ, प्रदेश र स्थानीय तह मिलेर रुकुमकोटको विकासका लागि काम गरिरहेको अध्यक्ष बरालले बताइन् ।

यसअघि २०२९ सालमा रुकुमकोटबाट सदरमुकाम मुसीकोट सारिएको थियो । सदरमुकाम सारिंदा त्यसको विरोध गरेकाहरूले राज्यद्रोहको मुद्दा खेपेका थिए भने एक जनाको मृत्यु भएको थियो । उतिबेला मुद्दा खेपेका तारकबहादुर शाहले ढिलै भए पनि रुकुमकोटमा गतिविधि बढेर जिल्ला बनेकामा सन्तोष मिलेको बताए । ‘सदरमुकाम यहाँबाट खोसिएपछि हामी त्यसका विरुद्ध लड्यौं,’ उनले भने, ‘न्यायका लागि लड्दा मुद्दा लाग्यो तर ४० वर्षपछि भने फेरि उस्तै खुसी फर्केर आउँदा खुसीको सीमै छैन ।’

रुकुम पूर्व छुट्टै जिल्ला भए पनि सदरमुकामको विषयमा भने विवाद छ । रुकुमकोट सदरमुकाम राख्ने कि पुथाउत्तरगंगा गाउँपालिका–१२, गोलखाडामा राख्ने भन्ने मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । तत्कालीन सरकारले रुकुमकोटलाई अस्थायी सदरमुकाम तोकेर कामकाज अघि बढाउने निर्णय गरेको थियो भने सोही सरकारले फेरि गोलखाडामा सदरमुकाम राख्ने निर्णय गरेपछि यो विषय अदालत पुगेको हो ।

प्रकाशित : आश्विन ६, २०७८ १२:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×