कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
ठेकेदारको लापरबाही

३९ करोड भुक्तानी, भैंसेपाटी सडक अलपत्रै 

कारबाही गर्नुको साटो पटक–पटक ठेकेदारको म्याद थप्दै आयोजना, काम ढिला गर्दै स्थानीय बासिन्दालाई दोष 
सडक सबैलाई चाहिने तर घर भत्काउन कोही नदिने, सडकमा पर्ने जग्गा कोही नछाड्ने ।–रामेश्वर अधिकारी -निर्देशक, वर्ल्डवाइड निर्माण कम्पनी 
विमल खतिवडा

काठमाडौँ — ललितपुर महानगरपालिकाको २५ नम्बर वडाका वडाध्यक्ष विष्णुकुमार कार्की हिजोआज निकै तनावमा छन् । ठेक्का भएको पाँच वर्ष बित्दा पनि भैंसेपाटी उकालोमा सडक निर्माण अपूरै छ । स्थानीय उनीसँग आक्रोश पोख्न पुग्छन् । सधैंजसो धेरैले सोध्ने ‘सडक कहिले पूरा हुन्छ ?’ को उत्तर उनीसँग पनि छैन । ‘सडकको बिजोग छ, तीन पटक आउजाउ बन्द गरेर निर्माण व्यवसायीलाई चाँडो सक्न दबाब दियौं,’ उनले भने, ‘त्यसपछि पनि काम नगरेपछि चौथो पटक प्रहरी लगाएर ठेकेदारलाई पक्राउ गर्‍यौं ।’

३९ करोड भुक्तानी, भैंसेपाटी सडक अलपत्रै 

उल्टै ठेकेदारले आफूविरुद्ध मुद्दा हाल्न चुनौती दिएको वडाध्यक्ष कार्कीले बताए । ‘त्यसपछि काम गर्छु भन्दै गर्दा लकडाउन भयो, काम नगर्नेलाई फेरि बहाना मिल्यो,’ उनले भने, ‘पछि फेरि कालोसूचीमा राख्न लगाउने भनेपछि काम गर्न आए ।’

अहिले ढलका लागि ह्युमपाइप झारेर निर्माण व्यवसायी बेपत्ता भएको कार्कीले बताए । ‘उकालो सडकमा ट्राफिक जाम नभएको दिन हुँदैन, पानी पर्दा गाडी फस्ने र दुर्घटना हुने गर्छ,’ उनले भने, ‘अहिले फेरि ठेकदार सम्पर्कविहीन छन् । अब ठेक्का लगाउने काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालयमै डेलिकेसन जाने तयारी छौं ।’ यो सडक भएर दैनिक ओहोरदोहोर सबैले सास्ती नभोगेको दिन हुँदैन । सडक निर्माणको ठेक्का आशिष बिरुवा सीएम जेभीले लिएको छ ।

संयुक्त ठेक्का भए पनि निर्माणको काम बिरुवा कन्स्ट्रक्सनले गर्दै छ । जसले नख्खुखोला पुलदेखि सोह्रखुट्टेसम्म ३.५२ किलोमिटर सडक विस्तारको ठेक्का लिएको हो । २०७३ असार ३० मा ठेक्का भई २०७५ कात्तिक ३० मा विस्तारको काम सक्नुपर्ने थियो । यो खण्डको अहिलेसम्मको भौतिक प्रगति ६५ प्रतिशत मात्र छ । सुरु ठेक्का रकम २८ करोड ६२ लाख ५० हजार रहेकोमा संशोधित ३० करोड ५ हजार रुपैयाँ पुर्‍याइएको छ । अहिलेसम्म ठेकेदार कम्पनीले २० करोड २२ लाख ४७ हजार भुक्तानी लगिसकेका छन् ।

ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको हो । आयोजनाका इन्जिनियर वसन्तकुमार गाँईका अनुसार ३.५२ किमिमध्ये दुई किमि सडक कालोपत्रे भइसकेको छ । नख्खुखोलादेखि भैंसेपाटी गेटसम्म कालोपत्रको काम बाँकी छ । डेढ किलोमिटर क्षेत्रमा घरटहरा हटेकै छैनन् । भैंसेपाटी उकालोमा म्यान्मार राजदूतावास र कोरियन चाउचाउ फ्याक्ट्रीको पर्खाल सडकमा परेकाले भत्काउन बाँकी छ । केही घरको पनि पर्खाल भत्काउन पटक–पटक पत्राचार गरिएको इन्जिनियर गाँईले बताए ।

‘सडक विस्तारमा पर्ने पर्खाल भत्काउन सम्बद्ध जग्गाधनीहरूलाई भनेको धेरै भयो, अहिलेसम्म भत्काइएका छैनन्,’ उनले भने, ‘केही दिनभित्रमा भत्काउने आश्वासन पाएका छौं ।’ पर्खाल भत्काएपछि काम सुरु हुने गाँईको दाबी छ । कालोपत्रे गर्नु अघि ह्युमपाइप राख्नुपर्नेछ । विद्युत्का पोल र खानेपानीको पाइप व्यवस्थापनको प्रक्रिया पनि टुंगिएको उनको भनाइ छ । सडक सीमा क्लिएर भएको ठाउँमा ह्युमपाइप राखिएको इन्जिनियर गाँईले बताए ।

पूर्वतयारीका सबै काम सकिनसाथ कालोपत्रे सुरु हुने उनको दाबी छ । ‘चैत मसान्तसम्म उपलब्ध चौडाइमा सबै काम पूरा हुनेछ,’ उनले भने । यो खण्डको म्याद तीन पटक थपिसकिएको छ । आयोजनाले सिफारिस गरेर पठाएपछि सडक विभागले म्याद थप्ने छ । यदि कामै नगरेको पाइयो, ठेक्का समस्याग्रस्त भए विभागले म्याद नगर्न पनि सक्छ । तर अहिलेसम्म लामो समयदेखि ठेक्का भएर काम नभएका आयोजनाको म्याद विभागले थप्दै आएको छ ।

अर्को सोह्रखुट्टेदेखि बुङमतीसम्मको सडक अझै कालोपत्र भएको छैन । लामो समयदेखि सडक अलपत्र पारेपछि स्थानीय आक्रोशित छन् । स्थानीय बासिन्दा कृष्णमान शाक्यले सडक नबन्दा भूकम्पले भत्किएको घर अझै बनाउन सकेका छैनन् । ‘सडक बनेपछि घर बनाउने भनेर चार वर्षदेखि बसिरहेको छु,’ उनले भने, ‘अहिले घर बनाउँदा फेरि सडकमा पर्‍यो भने भत्काइदिन्छन् ।’ सडक बनेपछि मात्र घर बनाउने उनले सुनाए । सडक साँघुरो छ । दुर्घटनाको जोखिम बढी छ ।

‘सडक बन्छ भनेर कुर्दाकुर्दा वाक्क भइसकियो,’ उनले भने, ‘अहिलेसम्म टहराकै बास छ ।’ उनले सडक नबन्दा दैनिक धूलो र हिलोका कारण सास्ती भोग्नुपरेको गुनासो गरे । यो सडकको ठेक्का २०७४ साउन ११ मा पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले लिएको हो । तर निर्माणको काम भने वर्ल्डवाइड निर्माण कम्पनीले गरिरहेको छ । सुरुवाती सम्झौताअनुसार २०७६ असार ३० मा निर्माण सक्नुपर्ने थियो ।

ठेक्काको प्रगति हालसम्मका ७० प्रतिशत मात्रै छ । अहिलेसम्म दुई पटक म्याद थप भइसकेको छ । फेरि सरकारले ६ महिना म्याद दिएको छ । जसअनुसार २०७८ चैतसम्म समयावधि रहनेछ । सुरु ठेक्का रकम २३ करोड ७२ लाख ४९ हजार र संशोधित ठेक्का रकम २६ करोड ९ लाख ४३ हजार रुपैयाँ रहेको छ । अहिलेसम्म १८ करोड ८० लाख ६० हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

इन्जिनियर गाँईका अनुसार यो खण्डमा कालोपत्रको काम अहिलेसम्म हुन सकेको छैन । क्षतिपूर्ति र मुअब्जाका कारण काम रोकिएको हो । ‘उपलब्ध चौडाइमा काम गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘जति चौडाइ छ, त्यतिमै काम गरेर चैतमा सम्पन्न गरिनेछ ।’

वर्ल्डवाइड निर्माण कम्पनीका निर्देशक रामेश्वर अधिकारीका अनुसार साँध सिमाना प्रस्ट नहुँदा सडक निर्माणमा समस्या भएको हो । ‘सडक सबैलाई चाहिने तर घर भत्काउन कोही नदिने, सडकमा पर्ने जग्गा कोही नछाड्ने,’ उनले भने, ‘यो समस्या समाधान गर्न धेरैपटक जिल्ला प्रशासन कार्यालय धायौं । अब उपलब्ध चौडाइमै काम गरेर सक्नेछौं ।’ अहिले सब ग्रेडको काम भइरहेको अधिकारीले बताए ।

‘आगामी मंसिरसम्म सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम गर्दै छौं,’ उनले भने, ‘स्थानीयको अवरोधले समस्या भए पनि अब जे जस्तो अवस्था हुन्छ, त्यही अवस्थामा काम गर्नेछौं ।’

प्रकाशित : आश्विन ६, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?