कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

न्याय खोज्न नेपालगन्जदेखि सिंहदरबारसम्म पैदल

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी घरेलु हिंसा भोग्दै आएकी थिइन्, गत साउन ५ गते मृत फेला परिन् । नेपालगन्ज नगरसँग जोडिएको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी गत वर्ष मंसिरबाट बेपत्ता छिन् । दुवै घटनामा पीडितको माग अनुसार अनुसन्धान गर्न प्रहरीले वास्ता नगरेको गुनासो ।
रूपा गहतराज

नेपालगन्ज — पाँच दिनदेखि उनीहरू पैदल यात्रामा छन् । संयोग मिले खान्छन्, नत्र भोकै । जहाँ रात पर्‍यो, त्यहीं निदाउँछन् । राजमार्गले पोलेर पाइतालामा फोका उठेका छन्, तर यात्रा रोकिएको छैन । किनकि, दुई महिलाको शंकास्पद मृत्युको अनुसन्धान गर्न हारगुहार गर्दा पनि प्रहरीले बेवास्ता गरेपछि उनीहरूको मन त्योभन्दा धेरै पोलिरहेको छ । त्यसैले काठमाडौं पुगेर न्यायको आवाज उठाउने बलियो अठोटका साथ यात्रा निरन्तर छ । 

न्याय खोज्न नेपालगन्जदेखि सिंहदरबारसम्म पैदल

गत शुक्रबार नेपालगन्जबाट हिँडेका उनीहरू पाँच दिनपछि मंगलबार दाङको भालुबाङ पुगेका छन् । भालुबाङ लुम्बिनी प्रदेशको प्रस्तावित राजधानी हो । तर अधिकारविहीन बनाइएको प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर पनि उनीहरूको यात्रा रोकिने छैन । मुख्यमन्त्री कार्यालयमा केही दिन धर्ना दिएर उनीहरू काठमाडौंतर्फ अघि बढ्नेछन् । न्यायको यो आन्दोलनमा ११ महिलाका साथमा ३ पुरुष सहयात्री पनि छन् ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी गत साउन ५ मा मृत फेला परेकी थिइन् । झुन्डिएको अवस्थामा घरमै उनको शव भेटिएको हो । उनले लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने भन्दै अगुवा महिलाले प्रहरी गुहारेका थिए । तर प्रहरीले अनुसन्धानमा जाँगर गर्नुको सट्टा आत्महत्या किटान गर्न हतार गरेको महिलाहरूको गुनासो छ । प्रहरीले भने नन्कुन्नीको मेडिकल रिपोर्टबाटै आत्महत्या गरेको स्पष्ट खुलेको दाबी गरेको छ । ‘यसमा पुनः अनुसन्धान गर्ने भए पनि आन्दोलन नभई शान्तिपूर्ण ढंगले प्रहरीलाई सघाउनुपर्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसूदन न्यौपानेले भन्छन् ।

त्यस्तै नेपालगन्ज नगरसँग जोडिएको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी गत वर्ष मंसिरबाट बेपत्ता छिन् । आफन्तले मंसिर १६ मा नै स्थानीयले प्रहरीमा किटानी जाहेरी दिएका थिए, तर अनुसन्धान भएन । अहिले प्रहरीले उनको मृत्यु भइसकेको जानकारी दिए पनि मृत्युको कारण के हो, दोषी को हो भन्ने विषयमा केही भनेको छैन । उनको मृत्युको कारण थाहा पाउनुपर्ने माग गर्दै पीडित परिवार र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन् । सम्पत्ति हडप्न खोज्नेहरूबाट लामो समयदेखि प्रताडित कुर्मीको अपहरणपछि हत्या गरिएको हुन सक्ने महिला अधिकार मञ्चकी सदस्य रुवी खानको भनाइ छ ।

एकल महिला बेपत्ता बनाइएको घटनामा गत वर्ष मंसिर १६ मा नै जिल्ला प्रहरीमा अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दर्ता गरिएको थियो । तर, डेढ महिनापछि बुझ्दा प्रहरीले निर्मलाको मृत्यु भइसकेको जानकारी दियो । उनको मृत्यु भनिए पनि शव नदेखाएकाले रहस्यमय रहेको अधिकारकर्मी खानले बताइन् ।

निर्मला कुर्मीको अपहरणमा संलग्न रहेको भन्दै पीडितले किटानी गरेका बादशाह कुर्मी पूर्वसांसद एवं कांग्रेसका नेता हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल भने घटनाको संवेदनशीलतालाई प्राथमिकतामा राखेर माग सम्बोधन भइसकेको बताउँछन् । ‘निर्मला कुर्मीको अपहरणसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल पेस गरेको छ, सरकारी वकिल कार्यालयले नै यो विषय मुल्तबीमा राखेको हो,’ उनले भने ।

‘एउटी महिला घरमै मृत भेटिन्छिन्, एकल महिला अहिलेसम्म बेपत्ता छन् जसको मृत्यु भइसक्यो भन्ने प्रहरीको भनाइ छ । अनुसन्धानको माग गर्दै जाहेरी दिँदा, प्रदर्शन गर्दा पनि प्रहरीले वास्तै गरेन,’ पैदल यात्रामा रहेकी अधिकारकर्मी खानले भन्छिन्, ‘यो देशमा न्याय छ कि छैन भनेर सरकारलाई सोध्न हामी पैदल यात्रामा निस्किएका हौं ।’ मृतक नन्कुन्नीकी दिदी विष्टा, बहिनी शिला र भाइ माताप्रसाद पनि यात्रामा छन् ।

गत शुक्रबार कठिन यात्रामा निस्कनुअघि उनीहरूले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिए, प्रशासनको आँगनबाटै उनीहरूको यात्रा सुरु भएको हो । जिल्ला प्रशासन कार्यालयको गेटमा गत भदौ १३ देखि ३१ गतेसम्म १९ दिन धर्ना दिँदा पनि आफ्ना माग सुनुवाइ नभएपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपालगन्ज–काठमाडौंको पैदल यात्रा सुरु गरेको उनीहरूले बताए । ‘दिनहुँ हिंसा भोगिरहेकी महिला मृत भेटिइन्, प्रहरी अनुसन्धान नै नगरी आत्महत्या करार गर्छ ।’

लुम्बिनी प्रदेश मुकाम बुटवलस्थित मुख्यमन्त्री कार्यालयमा केही दिन त्यहाँ धर्ना दिएपछि काठमाडौं पुगेर सिंहदरबारमा धर्ना दिने कार्यक्रम रहेको नन्कुन्नीका भाइ माताप्रसादले बताए । ‘मान्छेको ज्यान जाँदा पनि जिल्लाको प्रहरी र प्रशासनले सुन्दैन । घटनाको खोजीनिती गर्दैन,’ उनले भने, ‘न्यायको लागि ज्यानै दिनुपर्छ भने पनि हामी तयार भएर बाटो लागेका छौं ।’

मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई तुरुन्त पक्राउ गरी कारबाही गरियोस् भन्दै पीडितहरूले आवाज उठाउँदा अपमानित गरेको, अभद्र व्यवहार गरेको र अधिकारकर्मीलाई झूटा मुद्दामा फसाएको भन्दै बाँके जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूदन न्यौपानेलाई तुरुन्त विभागीय कारबाही गर्न पनि पीडितले माग राखेका छन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी गेलालले पीडित परिवारको मागअनुसार प्रहरीका प्रमुख र उपप्रमुखलाई विभागीय कारबाहीका लागि पनि प्रक्रिया अघि बढाइएको बताए । त्यस्तै नन्कुन्नी धोबीको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धान गरी मुद्दा अदालतमा पेस गरिसकेको उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?