ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

'राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,' मन्त्री कार्कीले भने ।

सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरू फिर्ता हुनेछन् ।

संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि बाहेक ३० देशमा आवासीय राजदूत रहेका छन् । तीमध्ये बहराइनकी शर्मिला पराजुली ढकाल, कतारका नारद भारद्वाज, भारतका नीलाम्वर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, जापानकी प्रतिभा राणा, बंगलादेशका डा वंशीधर मिश्र, मलेशियाका उदयराज पाण्डे, स्पेनकी दावा फुटी शेर्पा, अमेरिकाका युवराज खतिवडा, इजरायलकी अञ्जान शाक्य, बेलायतका लोकदर्शन रेग्मी परराष्ट्र सेवाबाट बाहिरबाट राजदूत नियुक्त भएका हुन् । उनीहरुमध्ये राप्रपाकी केन्द्रीय सदस्य हुँदा जापानका लागि राजदूत भएकी प्रतिभा राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् । हाल अस्ट्रेलिया, बहराइन, डेनमार्क, इजिप्ट, म्यान्मार, रुस, साउदी अरब र श्रीलंकामा राजदूत खाली रहेको छ ।

प्रकाशित : आश्विन ५, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

एएफसी वुमेन्स एसियाकप : हङकङविरुद्ध नेपालको बहादुरीपूर्ण बराबरी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले एएफसी वुमेन्स एसियाकप छनोटमा मंगलबार हङकङविरुद्ध बहादुरीपूर्ण गोलरहित बराबरी निकालेको छ । यससँगै नेपालले प्रतियोगितामै पहिलोपल्ट अंक बटुल्न पनि सफल भएको छ । नेपालले सन् ८० र ९०को दशकमा यसै प्रतियोगिताको तीन छनोट संस्करण खेलेको थियो ।

नेपालले हङकङविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै खेल आफ्नो नियन्त्रणमा राखे पनि गोल भने निकाल्न सकेन । उज्वेकिस्तानको तास्केनमा भएको यस खेलपछि नेपालको छनोट यात्रा सकिएको छ । तीन टिम सम्मिलित छनोटमा नेपाल एक अंकसहित दोस्रो स्थानमा छ ।

फिलिपिन्स भने तीन अंकसहित शीर्ष स्थानमा छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले पराजित गरेको थियो । त्यसमा एक गोलको अग्रता लिएर पनि नेपालले अन्त्यतिर दुई गोल खाएपछि हार बेहोर्नु परेको थियो । नेपालले हङकङको सामना गरेको ३२ वर्षयता पहिलो पल्ट हो ।

हङकङविरुद्धका यसअघिका दुई खेलमा हार सामना गरेको नेपालले यसपल्ट भने नतिजामा सुधार ल्याएको छ । सन् १९८६ मा नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पल्ट खेल्दा पनि हङकङ नै पहिलो प्रतिद्वन्द्वी टिम रहेको थियो । सन् १९८९ मा नेपालले हङकङविरुद्ध दोस्रो पल्ट खेलेको थियो ।

प्रकाशित : आश्विन ५, २०७८ १७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×