३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शेरबहादुरजीको सरकारमा रंगीबिरंगी मान्छेहरु छन् : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले आफ्नो कार्यकालको २० प्रतिशत समय यतिकै खेर फालेको बताएका छन् ।

शेरबहादुरजीको सरकारमा रंगीबिरंगी मान्छेहरु छन् : ओली

‘शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकार हो यो । यसमा रंगीबिरंगी मान्छेहरु छन् । अझै उहाँहरु कोसिस गर्दै हुनुहुन्छ, झन् रंगीबिरंगी बनाउनका लागि । तर, अहिले पहिलेको जस्तो ६०–६५ बनाउन पाइँदैन । २५ मा सीमित बनाउनुपर्छ, त्यसमा सीमित हुन उहाँहरुलाई गाह्रो भइरहेको छ,’ ओलीले भने, ‘कार्यकाल छ जम्मा सवा वर्ष । तर सवा वर्षको २० प्रतिशत भाग गयो, यत्तिकै गयो । अब खालि चिन्ता हो । देशको बहुमूल्य समय बर्बाद भयो । दुरुपयोग भयो ।’

काठमाडौंमा मदन भण्डारीको जीवनीमा आधारित एक पुस्तक विमोचन समारोहमा बोल्दै ओलीले सरकारले रत्नपार्कमा बसेर ह्वार–ह्वार बाँडेझैं पदक बाँडेको आरोप लगाएका छन् । ‘अस्तिको दिन बितरण गरेको जस्तो पदकहरु हामीले बितरण गरेको भए....बा बा । अहिले त खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, अब कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि पदक दिएको छ, अब कसले बहस गर्ने ? विरोध गर्ने मिडिया, टेलिभिजनलाई पनि दिएको छ, कसले विरोध गरिदिने ? कसले बोल्ने ?,’ ओलीले अघि भने, ‘कस्तो सबैतिर मिलाएर ढ्याक ढ्याक ढोका थुन्या हो ? कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । यति गरेपछि त विरोधी नै रहेनन् ।’

ओलीले सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तै गरेर ह्वार–ह्वार पदक वितरण गरेको बताए । ‘म प्रधानमन्त्री भएको बेला यसो गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजिवी, नागरिक के भन्थ्यो ? आज रमाइलो छ, सब चुपचाप छन्, शान्त छ,’ उनले भने ।

अध्यक्ष ओलीले वर्तमान सरकार बनेपछि देशमा दिउँसै ग्रहण लागेको बताए । ‘दिउँसै ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । ग्रहणतिर नहेर्नु, धेरै काम छैन । अशुभ छ,’ उनले भने, ‘रणनीतिक सडक समेत, १४ सय सडकको बजेट रोक्नू, कार्यक्रम आयोजना सबै खत्तम । क्या बहादुर सरकार । अघिल्लो सरकारले १४ सय सडक बनाउछु भन्यो, यो सरकारले आउने बित्तिकै रोक्दियो । क्या बात् । अनि यो ग्रहण नलागेको कस्तो सरकार हो ?’

प्रकाशित : आश्विन ५, २०७८ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?