राष्ट्रिय सभा : संसद् अवरोध गरिरहेको एमालेले मत विभाजनमा भाग लियो 

काठमाडौँ — संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष एमाले विनियोजन विधेयकमाथिको मत विभाजनमा भाग लिएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा गरिएको मत विभाजनमा एमालेले भाग लिएको हो ।

राष्ट्रिय सभा : संसद् अवरोध गरिरहेको एमालेले मत विभाजनमा भाग लियो 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाका पास भइ सन्देशसहित पेस गरेको विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । निर्णयार्थ प्रस्तुत भएको उक्त प्रस्तावको पक्षमा सत्तारुढ दलका सांसदहरूले मत जाहेर गरेका थिए ।

एमालेबाट निर्वाचित माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारबाही गरेको र सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त भएको सूचना टाँस नगरेको भन्दै राष्ट्रिय सभाको दशौं अधिवेशनको पहिलो दिन भदौ २३ गतेदेखि संसद् एमालेले संसद् अवरुद्ध गरिरहेको छ ।

सोही विषयलाई लिएर एमालेले राष्ट्रियसभामा सभामुख सापकोटाको राजीनामा मागसमेत गरेको थियो । संसद्का कुनै पनि प्रक्रियामा भाग नलिइरहेको र कारबाही अगाडि नबढाउन भनिरहेको अवस्थामा चलेको संसद्‌मा एमालेले मतविभाजनमा भाग लिएको हो ।

राष्ट्रिय सभा अध्यक्षले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा हुने सांसदहरूले ‘हुन्न’ र पक्षमा हुने सांसदहरूले ‘हुन्छ’ भन्न निर्देशन दिएका थिए ।

जसमा एमालेका सांसदले ‘हुन्न’ भन्दै हात उठाएका हुन् । त्यसमा अग्रसरता राष्ट्रिय सभामा प्रतिपक्षी दल एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले सुरुमा हात उठाएर ‘हुन्न’ भनेका थिए । त्यसपछि अरु सांसदहरूले पनि हुन्न भन्दै हात उठाएका थिए ।

भट्टराईले प्रतिपक्षमा अभ्यस्त भइनसकेकाले भूलवस संसद्को प्रक्रियामा भाग लिन पुगिएको बताए । उनले भने, ‘मत विभाजनमा भाग लिने योजना थिएन । तर ‘हुन्न’ भनियो ।’

यस्तो किन हुन गयो भन्नेबारे भट्टराईको भनाइ थियो, ‘हामी लामो समयसम्म प्रतिपक्षको भूमिकामा थिएनौं । अलि थाहा छैन नि त । बाइमिस्टेक भयो ।’

‘हुन्छ’ र ’हुन्न’ भन्ने संसदीय प्रक्रियामा भाग लिँदै आएको तर आफैले विरोध गरिरहेको अवस्थामा भाग लिन हुन्न भन्ने थाहा नभएको उनले बताए । उनले थपे, ‘प्रतिपक्षमा अभ्यस्त भइसकिएको छैन नि त !’

एमालेले विपक्षमा मत जाहेर गरे पनि राष्ट्रिय सभाबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक असोज ७ गते २ बजेका लागि आह्वान गरिएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?