काठमाडौंसहित सात जिल्लामा कांग्रेसको वडा अधिवेशन आज- समाचार - कान्तिपुर समाचार

काठमाडौंसहित सात जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

कान्तिपुर संवाददाता

काठमाडौँ — १४ औँ महाधिवेशनअन्तर्गत मंगलबार कांग्रेसले काठमाडौंसहितका सात जिल्लामा वडा अधिवेशन गर्दैछ । वडा अधिवेशनका मतदाता अर्थात् क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो नलाग्दा यसअघि यी जिल्लाको अधिवेशन हुन सकेको थिएन । अझै १३ जिल्लामा क्रियाशील सदस्यको नामावली तयार भइसकेको छैन । 

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले मंगलबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा तहको अधिवेशनको हुने जानकारी दिए । ‘सबै वडामा मतदान अधिकृतहरु पुगिसकेका छन् ।

सहमतिबाटै अधिवेशनको वातावरण तयार गरी निर्वाचन प्रक्रिया अघि बढाएका छौँ,’ यादवले भने, ‘बेलुकासम्म धेरै ठाउँमा वडा कार्यसमितिले नयाँ नेतृत्व पाइसक्छन् ।’ वडा अधिवेशनमा वडा सभापति, वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको चयन हुन्छ । यसपटक भने अधिकांश ठाउँमा नेतृत्व चयनका लागि चुनावै हुने अवस्था रहेको छ ।

क्रियाशील सदस्यको नामावली तयार नभएका बाँकी जिल्लामा पनि क्रमशः अधिवेशन हुने केन्द्रीय सदस्य श्याम घिमिरेले जानकारी दिए । ‘विवादको समाधान भइसकेको छ । अब अन्तिम नामावली तयार गर्ने काममात्रै बाँकी हो,’ उनले भने, ‘अब हामीले सार्वजनिक गरिसकेको कार्यतालिकामा असर नपर्ने गरी अधिवेशनको प्रक्रिया अघि बढ्छ ।’ कांग्रेसले पालिका तहको अधिवेशन ९ असोजका लागि तोकेको छ । कांग्रेसले प्रदेश २ का आठ वटै जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको नामावली तयार गर्न सकेको छैन ।

प्रकाशित : आश्विन ५, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

बहिष्करण र प्रतिरोधको ‘काइतेन’

समाज र राज्यमा विद्यमान असमान शक्ति–सम्बन्धले भित्तासम्म ठेलेर मर्न न बाँच्नुको सीमान्तमा पुर्‍याइएका व्यक्ति वा समुदायले त्यत्तिकै विद्रोह गर्ने हुँदै होइन ।
राजेन्द्र महर्जन

त्योके जाती दरबारका भित्ताहरूबाटकिन आइरहन्छ आप्पातिम्रोजस्तै पसिनाको गन्ध ?रातको मध्य प्रहरमाटाउको काटिएका असंख्य मान्छेहरूफुटेको डम्फु बोकेरकिन जम्मा हुन्छन् आप्पाजंगबहादुरको सालिकछेउ ?– राजु स्याङतान/पिपा भनेको के हो ?

के तामाङहरू बुहारी–छोरी–स्वास्नी बेची पैसा कमाउने प्रवृत्तिका हुन्छन् ? उनीहरू राम्रो खान र लगाउन आफैं पनि बन्धकीमा बस्न सक्ने हुन्छन् ? नरिश्वर भण्डारी, श्यामकुमार पोखरेल र ऋषिराम आचार्यले लोकसेवा आयोगका प्रतिस्पर्धीहरूका लागि लेखेको पुस्तक ‘सामाजिक अध्ययन’ का व्याख्या पढेर नराम्ररी रन्थनिएका कलाकार सुवास तामाङ भन्छन्, ‘तामाङ जातिको वास्तविक पहिचान र इतिहास लेखिएको छैन । जसले लेखेका छन्, उनीहरूले अपमानजक र गलत व्याख्या गरेका छन् ।’ त्यसैले ‘सामाजिक अध्ययन’ का अपव्याख्यालाई मेट्दै–मेट्दै अन्तिम शिलामा ‘तामाङ’ मात्रै बाँकी राखेर सुवास सगर्व उद्घोष गर्छन्, ‘हामी आफ्नो पहिचानको इतिहास आफैं लेख्छौं !’

सिद्धार्थ आर्ट ग्यालरीमा सुवास तामाङले कुनै कला प्रदर्शनी गरिरहेका छैनन्, बरु अरूले लादेका अपमानजनक व्याख्याको खण्डन र झुटा इतिहासको पुनर्लेखन गरिरहेका छन् । आजसम्मको इतिहासमा तामाङहरूलाई भारी बोक्ने भोट्या, सैनिक बन्दोबस्तीका सामान बोक्ने पिपा, लोक्ता कागज बनाउने सँय्, दरबारमा आँप र गाडी बोकेर ल्याउने भरियाका रूपमा मात्रै जसरी व्यवहार गरियो, शोषण–उत्पीडन लादियो र अपमानजनक पहिचान बोकाइयो, उनी तिनको कलात्मक प्रतिवाद गर्दै छन् । उनले जनताका खाँटी कलाकारको शैलीमा इतिहासदेखि गरिखाने वर्ग र समुदायले भोगेका पीडा र गरेका प्रतिरोधलाई सृजनात्मक रूपमा उजागर गरेका छन् ।

अरूका नजरमा तामाङ पहिचान

तामाङजस्तो शक्ति–संरचनाको पीँधको समुदायबारे उनले कथेको ‘काइतेन’ (कथा पस्कने काम) हेर्दाहेर्दै नेपालको उत्पीडनकारी शक्ति–संरचना र सम्बन्ध अवलोकन गर्ने गरी एउटा ऐतिहासिक यात्रा गर्न पाइन्छ । तामाङहरूबारे यहाँका शासकका नीति र व्यवहार, शासक जात–जातिका एकांगी हेराइ–बुझाइ दुई सय वर्षदेखि खासै भिन्न देखिएको छैन; सम्भवतः दुई हजार वर्षदेखि नै फरक आएको छैन भन्न पनि सकिन्छ, इतिहास हेर्दा । जसरी आज भण्डारी, पोखरेल र आचार्यले तामाङहरूलाई चित्रित गरे, त्यसरी नै सत्तरी वर्षअघि मात्रै राममणि आ.दी.ले तामाङसहित सबै जनजातिलाई तिघ्रे, पर्वते, स्वाँठे, अयोग्य, मतुवाली, पाखण्डी, नीच र निर्दयीका रूपमा प्रस्तुत गरेका थिए ।

आजभन्दा दुई सय बीस वर्षअघि मुर्मी (तामाङहरू) बारे गोर्खाली शासकहरूका विचार र व्यवहारलाई फ्रान्सिस बी. ह्यामिल्टनले शब्दमा यसरी उतारेका थिए— शासकहरूका नजरमा तामाङहरू सँय्–भोट्या र चोरका रूपमा कलंकित थिए । चोरीचकारी गर्ने भएकाले उनीहरूलाई नेपालखाल्डोमा पस्न मनाही गरिएको थियो । उनीहरूको लामा मत आपत्तिजनक थियो । आफ्ना पवित्र जनावर गाई–गोरुको मासु खाने, सिनो पनि खाने भएकाले अपवित्र थिए । सरकारमा उनीहरूको कुनै उपस्थिति थिएन, न त हतियार बोक्ने व्यसन नै थियो । खेतीकिसानी गर्ने र नेवारहरूको भारी बोक्ने उनीहरूका घर भनेकै छाप्रा थिए ।

त्यसो त गोर्खाली शासकहरूले नेपाललाई ‘एकीकृत र आधुनिक’ बनाउनुभन्दा अघिदेखि नै उनीहरूका लागि तामाङहरू भनेकै ‘भोटे चोर’ थिए, जसलाई कान्तिपुर राज्यले पालेर राखेको मानिन्थ्यो । ज्ञानमणि नेपालका अनुसार, १८१४ पुसमा गोरखा र कान्तिपुरबीच भएको सन्धिको छैटौं बुँदामा भनिएको छ, अबउप्रान्त ‘काठमाडौंले भोटे चोर गोरखाका इलाकामा लुट्न नपठाउने ।’ त्यसो त पाटनका काजीहरूले पनि भोटे चोर पालेर देवस्व हर्ने तथा देवताका गहना र प्रजाको घर पठाउने गरेको आरोप छ । ‘एकीकरण’

कै क्रममा गोर्खाली शासकहरूले पनि भोटे–भोत्याहरूलाई कीर्तिपुरवासीहरूका नाक मात्र काट्न पठाएको, तर मुख पनि काटेकाले उनीहरू मारिएको इतिहास छ । चोर्न वा दमन गर्न उपयोग गरिएका तामाङहरूलाई शासकहरूबाट सयौं वर्षदेखि भारी बोक्न मात्रै होइन, राजारानी बोक्न पनि प्रयोग गरिएको इतिहास छ । महेशराज पन्तका अनुसार, नेपालका राजा यक्ष मल्ल १५०४ सालमा सिलु तीर्थ (गोसाइँकुण्ड) यात्राबाट फर्केपछि संज–सँय्–भोटेहरूलाई टेकेर सवार गरेको पाइन्छ ।

बरबादीको संरचनागत कारण

करिब ६ सय वर्षको पीडादायी इतिहासले देखाउँछ— राजा र राज्य फेरिए पनि तामाङ समुदायप्रति शासकीय हेराइ र गराइमा खासै फरक आएको छैन । आज आफ्नो भूमि, थातथलो, भाषा, धर्म, रीतिथिति गुमाएर, के.एल. क्लोनका शब्दमा, ‘बरबादीको संघारमा उभिएको हिमाली जनजाति’ को दुर्दशाको ऐतिहासिक संरचनागत कारण र कारकतत्त्व खोल्न लायक छन् । उनीहरूलाई बुहारी–छोरी–स्वास्नी बेची पैसा कमाउनेÙराम्रो खान र लगाउन आफैं पनि बन्धकीमा बस्ने; भोजभतेर, मोजमस्ती र पूजाआजामा तल्लीन रहने तथा अशिक्षित, गरिब र सोझा मात्रै ठान्नेहरूले ती ऐतिहासिक संरचनागत कारण र कारकतत्त्वलाई लुकाउन वा बेवास्ता गर्न रुचाउँछन् ।

निकट इतिहासमा समेत देश र प्रजालाई एक गरेको ठान्ने शासकहरूबाट कसरी संरचना र विधि–विधानै बनाएर तामाङहरूलाई समाज र राज्यबाट बहिष्कृत एवं सीमान्तकृत गरियो, जगजाहेर छ । जमिनका भोका किसान लडाकुहरूको बलमा गरिएको राज्य विस्तारका क्रममा सबैभन्दा बेसी मात्रामा आफूले जोतभोग गर्दै आएको भूमि गुमाउनेमा को कसरी परे ? शाह, राणालगायत खस–आर्य जातिका शासकहरूका बिर्ता र जागिर कसको भूमि हड्पेर कायम गरिएको थियो ? सैनिक, प्रशासनिक र राजनीतिक नेतृत्व गर्नेको भूमिमा आधारित आम्दानी र मोजमस्तीको एउटा मुख्य स्रोत के थियो ? राजा, मुख्तियार–प्रधानमन्त्री, सरदार, काजी र राजगुरुहरूका दरबार र महल कसको झारा (ज्यालाबिनाको काम) र बेठबेगार (अनिवार्य श्रम) ले बनाइएका थिए ? उनीहरूका भान्सामा कसको भूमि, कसको बाँधा श्रम र कसको सेवाका आधारमा चौरासी व्यञ्जन पाक्थे ? महेशचन्द्र रेग्मीले जस्तै तिनको एक–एक हिसाब खोतल्न सकियो भने तामाङहरूमाथि थोपरिएको अमानवीयता र उत्पीडनको नालीबेली तयार हुन्छ ।

यसरी एकीकरणकारी शासकहरूका हित र स्वार्थका लागि आफ्नै जमिनका मोही बनाइएका, बचेखुचेको भूमिमा स्वामित्व कायम गरिराख्न अनेक सरकारी कर (रकम) तिर्न बाध्य बनाइएका, अनेक हिन्दु मठमन्दिर र गुठीगानाका लागि जग्गाजमिन हड्पेर भूमिहीन तुल्याइएका र केही हदसम्म मासिन्या (दास) बनाइएका मतवालीहरूका शरीर र श्रम राज्यले युद्ध सञ्चालनदेखि दरबार–महल निर्माणका लागि दुरुपयोग गरेको तीतो विगत छ । दरबारहरूमा तामाङ महिलाका शरीर र श्रमको शोषण तथा उनीहरूमाथि भएका हिंसाको कथा लेखियो भने शासक परिवारका पुस्ताको पनि मुटु काम्न सक्छ । विडम्बनाको कुरा, धर्म, भाषा, खाना, समुदायका आधारमा उनीहरूमाथि भएको विभेद, उत्पीडन र हिंसाको चक्रबारे खासै लेखिएको छैन ।

अपराध र दण्डको चक्र

डेभिड एच. होम्बर्गका अनुसार, शासक वर्गमा पर्ने ठकुरी (शाह) र पुजारी ब्राह्मणहरूले लामा मत र बौद्ध धर्मसँग सम्बन्धित तामाङहरूलाई परायाको व्यवहार गर्थे, उनीहरूले पवित्र मान्ने गाई–गोरुको मासु र सिनो खाने भएकाले अन्यकरण गर्थे, आफ्नो परम्परा र संस्कृति अनुसार गाई–गोरुको मासु खाँदा पनि हिन्दु राज्यले कठोर सजाय र आर्थिक दण्ड दिन्थ्यो । यसरी तामाङहरूलाई मात्रै केन्द्रमा राखेर भूमिमा आधारित आर्थिक प्रशासन, केन्द्रीकृत सैनिक संरचना, सामन्ती राज्यसँग गाँसिएको ब्राह्मणवादी विचारधाराको अभ्यास हेरियो भने लोकतान्त्रिक गणराज्य पनि त्यसबाट अछुतो देखिँदैन । हिन्दु अधिराज्यको मूल मर्म लागू गर्ने क्रममा गाई–गोरु मारेको वा मासु खाएको आरोपमा वर्षौंवर्षसम्म जेलमा सडाइएका तामाङलगायत जनजाति र दलितको पीडाले धर्मनिरपेक्ष गणतन्त्रको पनि धज्जी उडाइरहेको छ ।

यी सबै संरचनागत विभेद र शोषणको सम्बन्धले देखाउँछ— आजसम्म पनि तामाङहरू समाजको सबैभन्दा पीँधमा रहेको मानिने दलित समुदायका केही तहभन्दा पनि आर्थिक रूपमा तल किन परे ? राज्यबाट तामाङहरूको सीमान्तकरणसँगै उनीहरूको ‘ग्रामीण सर्वहारा’ को तहसम्म गरिबी र व्यापक अशिक्षाको जसरी संरचनागत कारण छन्, त्यसरी चोरीचकारी, महिलाहरूको बेचबिखन, अपराधमा संलग्नताका कथित कथाका पनि आफ्नै आर्थिक–राजनीतिक कारण हुन्छन् । समाज र राज्यमा विद्यमान असमान शक्ति–सम्बन्धले भित्तासम्म ठेलेर मर्नु न बाँच्नुको सीमान्तमा पुर्‍याइएका व्यक्ति वा समुदायले त्यत्तिकै विद्रोह गर्ने हुँदै होइन ।

तामाङ प्रतिरोधको शृंखला

आफ्नो सर्वस्व हडप्न थालिएपछि तामाङहरूले १८५० सालमा रणबहादुर शाहका पालामा गोर्खाली राज्यविरुद्ध नुवाकोटमा दुई–दुई पटक ठूलो विद्रोह गरेका थिए । विद्रोहमा एक हजारभन्दा बेसी पुरुषसँगै उनीहरूका परिवारजन र समर्थकलाई मृत्युदण्ड दिइएको थियो । त्यसअघि १८२९ मै गोर्खाली सेनाले राज्य विस्तारका क्रममा तिमाल क्षेत्रमा ठूलो नरसंहार गर्दै तामाङ र अन्य जनजातिलाई काबुमा ल्याउन खोजेको थियो । तर, उनीहरूले सम्पूर्ण रूपमा कहिले पनि आत्मसमर्पण नगरेको तथ्य २०१६ सालमा धादिङको खनियाबासमा भएको विद्रोहले पनि देखाउँछ, जसमा कैयौं तामाङ मारिए, कैयौं जेल परे, कैयौं विस्थापित भए । यी विद्रोहको जरो कारण खोतलियो भने विभेद, बहिष्करण र हिंसाका संरचनाको मुहान नै भेटिन्छ, जसले हालसम्म पनि उनीहरू गरिबी, अशिक्षा, बेरोजगारी र असामाजिक काममा किन र कसरी धकेलिए भन्ने प्रश्नको उत्तर दिन सक्छ ।

आज पनि तामाङहरूको चेतन र अवचेतनमा छ— गोर्खाली राज्य र शासकहरूविरुद्ध पटकपटक विद्रोह गरेकै कारण हामीलाई राज्यमा समावेश नगरिएको हो, गोर्खाली सेनाको सबैभन्दा मुनि पिपामा मात्रै सीमित गरिएको हो, सनातनदेखि गाई–गोरुको मासु खाने र गैरहिन्दु धर्म मान्ने भएकै कारण धार्मिक राज्यले दण्डित गर्दै आएको हो । अब राज्य ‘गोर्खाली’ बाट ‘नेपाली’ भइसकेको हो भने, हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणराज्यमा फेरिएको हो भने धर्म, खानपान र भाषाका आधारमा विभेद गर्न पाइँदैन । अनेक विद्रोह र संघर्षकै परिणामस्वरूप नेपाली राज्यको लोकतन्त्रीकरण भएको हो भने, यसले समानुपातिक समावेशी सिद्धान्तलाई साँच्चै अँगालेको हो भने सकेसम्म आफैंलाई पुनःसंरचना गर्नु जरुरी छ, पुनःसंरचना नै गर्न नसकेका खण्डमा राज्यमा जनसंख्याको अनुपातमा तामाङसहित सबै बहिष्कृत र सीमान्तकृत समुदायको समावेशीकरण अनिवार्य छ । संघ, प्रदेश र स्थानीय तहमा मात्रै होइन, सबै क्षेत्रमा स्वायत्तताको अभ्यास गरिएन भने यिनै नयाँनयाँ विभेद र बहिष्करण नै भावी विद्रोहका लागि ब्याड बन्ने खतरा हुन्छ ।

इतिहासको पुनर्लेखन

मुक्तसिं तामाङका अनुसार, केन्द्रीकृत सामन्ती राज्य निर्माणका लागि जसरी तामाङहरूमाथि दमनसँगै भूमि र थातथलोबाट विस्थापन गरियो, त्यसरी नै पुँजीवादी विकासले राजधानीवरपरका तामाङ बस्तीहरूको प्राकृतिक विनाश र घरखेतबाट विस्थापनलाई तीव्र पारेको छ । पुँजीवादी विकासको गाडीलाई तीव्र गुडाउँदै आसेपासे समाजवादतिर हुइँकिएको नेपाली राज्यको रफ्तारमा ब्रेक लगाइएन भने बचेखुचेका तामाङ बस्तीहरूको छवि कला र संग्रहालयमा मात्रै देख्न पाइने अवस्था हुन्छ । उनीहरूका विशिष्ट ज्ञान, सीप, कला, भाषा पनि मास्ने गरी चलेको पुँजीवादी राज्यको डोजर मानवताका लागि खतरा भइसकेका बेला प्रतिरोध अवश्यम्भावी छ ।

राज्यको दलन, प्रभुत्व र वर्चस्व (हेजिमोनी) प्रति सहमति जनाइसकेका व्यक्ति, समूह वा समुदायले मात्रै प्रतिरोध गर्न सक्दैनन् । राज्यसँग निश्चित अन्तरसम्बन्ध र अन्तर्द्वन्द्वमा रहेका तामाङहरूले भाषिक समान अधिकार, स्वायत्तताको हक, समानताको हकदाबी गर्दै आएका छन्, जसले उनीहरूको प्रतिरोधको आगोलाई निभ्न दिएको छैन भन्ने प्रस्ट्याउँछ । १९१० सालमा जंगबहादुरले तामाङ शिल्पीहरूले नुवाकोटदेखि बोकेर ल्याएका लोक्ता कागजमा मुलुकी ऐन लेखेर उनीहरूलाई नै मासिन्या मतवाली जातमा खसालेका थिए, २०७२ सालमा उनीहरूकै आन्दोलन र बलिदानको बलमा लेखिएको संविधानमा पनि उनीहरूलाई दोस्रो दर्जाको नागरिकको तहमा झारिएको छ । उनीहरू सबै नागरिक समान हुने, सबैका भाषादेखि भूमिसम्म जोगिने, प्रकृति र सम्पदादेखि संस्कृतिसम्म सुरक्षित हुने गरी राज्य पुनःसंरचनाका लागि जसरी संघर्षरत छन्, त्यसले प्रतिरोधको आगोबाट रापताप मात्रै होइन, प्रकाश पनि दिन्छ ।

राज्यको संविधान र समाजको विधानका आधारमा आफूलाई समानहरूबीच अलिक बेसी समान ठान्ने खस–आर्य विद्वान्हरूले अरुका पहिचान र इतिहासलाई जथाभावी प्रस्तुत गर्दै परायाकरणको क्रम अलिकति कम मात्रै गरे पनि समानताका लागि राज्य पुनःसंरचना केही सहज हुन्छ । सुवास तामाङहरूले जसरी आफ्नो पहिचानलाई पुनर्परिभाषित गर्दै छन्, जसरी इतिहासको पुनर्लेखन गर्दै छन्, त्यसरी नै सबैको स्वामित्व र अपनत्व भएको राज्य पुनर्निर्माण हुने हो, सबै समान दर्जाका नेपाली हुने भाष्य लेख्ने हो । शासकहरूद्वारा लादिएको इतिहासको पुनर्लेखनले नै सबै सामुदायिक पहिचानले न्याय पाऊने गरी नयाँ इतिहास निर्माणको ढोका खोल्ने हो ।

प्रकाशित : आश्विन ५, २०७८ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×