सेनाको ‘ट्य्राक–टु–डिप्लोमेसी’

राजेश मिश्र

नयाँदिल्दी — नेपाली सेनाका तीन जना पूर्वप्रधानसेनापतिले एकैसाथ भारतीय सेनाका उच्च अधिकारीहरूसँग भेटघाट र अन्तरक्रिया गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष (प्रमुख) मुकुन्द नरवणेको निम्तोमा पूर्वसेनापतिहरू गौरवशमशेर राणा, राजेन्द्र क्षेत्री र प्यारजंग थापा शुक्रबार नयाँदिल्ली आइपुगेका थिए ।

सेनाको ‘ट्य्राक–टु–डिप्लोमेसी’

भारतीय सेनाध्यक्षले नेपालका सबै पूर्वसेनापतिहरूलाई निम्तो गरेकामा कतिपय मुलुकबाहिर रहेका र केहीले स्वास्थ्यको कारण जनाउँदै आएनन् । ७ जना पूर्वसेनापतिहरूलाई भारतीय सेनाले निम्तो पठाएकामा दिल्ली आएका तीन जना ३ दिन बसेर फर्किएका छन् ।

दुवै देशका सेनापतिहरू एक अर्का देशको सेनाको मानार्थ महारथी हुने चलन छ । मानार्थ महारथीहरूलाई एक ठाउँमा जुटाउने प्रयासमा भारतीय सेनाका पूर्वप्रमुखहरू पनि सहभागी भएका जनाइएको छ । नयाँदिल्ली आएका पूर्वसेनापतिहरूलाई नेपाली राजदूत नीलाम्बर आचार्यले पनि दूतावासमा रात्रिभोज दिएका थिए ।

दूतावास स्रोतका अनुसार दुई देशका सेनाबीच कायम रहेको परम्परागत सम्बन्धलाई थप बलियो पार्ने र अनौपचारिक छलफलहरू पनि होस् भन्ने उद्देश्यले भारतीय सेनाले कार्यक्रमको आयोजना गराएको हो । ‘ट्र्याक–टु–डिप्लोमेसी’ अन्तर्गत हुने यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन मद्दत पुर्‍याउने दूतावासका परराष्ट्र सम्बद्ध अधिकारीले बताए । पूर्वसेनापतिहरू र भारतीय सेनाका अधिकारीबीच के–के विषयमा कुरा भए त्यसबारे दूतावासलाई जानकारी नभए पनि यस्ता भ्रमणहरूको आदानप्रदान हुनु राम्रै भएको उनको भनाइ छ ।

धर्मपत्नीसहित भारत आएका तीनै जना पूर्वसेनापतिहरू मौर्य होटलमा बसेका थिए । उनीहरू आएकै दिन बेलुका सांस्कृतिक कार्यक्रमसँगै अन्तरक्रियामा सहभागी भएका थिए । त्यसलाई ‘सोसल इभनिङ’ नाम दिइएको थियो । भोलिपल्ट गल्फ खेल्ने, ओलम्पिकमा पदक जितेका भारतीय सेनाका खेलाडीहरूसँग भेटघाट, सहिद स्थलमा माल्यार्पणलगायत कार्यक्रममा सरिक भएका थिए । स्रोतका अनुसार भेटघाटको कुनै विशेष एजेन्डा तोकिएको थिएन । पूर्वसेनापति क्षेत्री नेपाल फर्किएका छन् भने थापा र राणा आ–आफ्नो निजी भ्रमणमा मुम्बई र नैनीतालतर्फ गएका छन् ।

प्रकाशित : आश्विन ५, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?