संसद् लाइभ : अनि ओलीले भने ‘पेल्नु पेले’

जयसिंह महरा

काठमाडौँ — विनियोजन विधेयक पारित र त्यससँग आश्रित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने कार्यसूचीसहित प्रतिनिधिसभाको सोमबारको बैठक सुरू भयो । बैठकको कारबाही सुरू हुनासाथ प्रमुख प्रतिपक्ष एमालेका सांसदहरू रोष्ट्रमतिर कुदे भने उनीहरूलाई छेक्न मर्यादापालकले हाते साङ्लो बनाए । 

संसद् लाइभ : अनि ओलीले भने ‘पेल्नु पेले’

बजेटसँग सम्बन्धित विधेयक संसद्‍मा पेस गर्नेदेखि पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले राख्ने कानुनी व्यवस्था छ । ‘यथास्थितिमा संसद् चल्न सक्दैन’, ‘पदीय मर्यादा कायम गर’देखि ‘मुर्दावाद’ भन्दै प्रमुख प्रतिपक्षबाट नारा लागिरहेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई भने अतिरिक्त जिम्मेवारी थियो ।

विगतका वर्षहरूमा प्रत्येक मन्त्रालयका लागि विनियोजन गरेको बजेट, योजनामाथि सांसदहरूले झन्डै महिनादिन छलफल गर्थे । र, सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिन्थे । यसपटक भने २२ मन्त्रालयका लागि विनियोजन गरिएको बजेट र छनोट भएका योजनामाथि उठेका प्रश्नको जवाफ दिने जिम्मेवारी मन्त्री शर्माकै थियो । त्यसो त संसद्‌मा आर्थिक विधेयकमा छलफलका लागि महत्त्वपूर्ण मानिएको खर्च कटौतीको प्रस्ताव राख्ने र छलफलमा सहभागी हुने सांसद एकजना मात्रै थिए, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ।

संसद् प्रतिपक्षको भनिन्छ । त्यसैले गर्दा कता कति बजेट कटौती भयो र विकासका कुन योजनामा किन बजेट कम भयो भन्दै आफ्ना धारणा राख्ने अवसर हुन्छ । सत्तारुढ दलका कम प्रभावशाली नेता (सांसद)का लागि पनि आफ्नो क्षेत्रको विकासबारे कुरा राख्ने सार्वभौम थलो संसद् हो । तर, यसपटक प्रतिपक्ष वेलमा थियो भने सत्तापक्षका सांसदहरूलाई बजेटसँग सम्बन्धित विधेयकमाथि खर्च कटौतीको प्रस्ताव नराख्न र छलफलमा भाग नलिई पारित गर्नका लागि टेबुल बजाउन मात्रै भनिएको थियो । प्रतिपक्ष वेलमा भएको बेला सत्तापक्षका बोल्न चाहने सांसदहरूलाई पनि ‘चुप लाग्न’ भनिएको थियो ।

प्रश्न नआउने भएपछि अर्थमन्त्रीलाई भने हाइसञ्चो भएको थियो । उनलाई अवरोधका बीच रोष्ट्रममा कसरी पुग्ने भन्ने चाहिँ चिन्ता देखियो । बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने क्रममा भदौ २५ गते दौडिएर रोष्ट्रममा पुगेका मन्त्री शर्माले जवाफ दिनेदेखि पारित गरियोस् भन्ने प्रस्ताव राख्न रोष्ट्रममा पुग्नका लागि भने अलि फरक तरिका अपनाए ।

सांसद सुवालले खर्च कटौतीको प्रस्ताव राख्न १२ मिनेटको समय पाए । उनी मध्यतिर पुगेपछि मन्त्री शर्माको कानमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही भने । त्यसलगत्तै मन्त्री शर्मा प्रतिनिधिसभा हलको पछाडिबाट बाहिरिए । उनी करिब ८ मिनेटजति बाहिरै बसे । सुवाल बोलिसकेपछि सभामुखले जवाफ दिन बोलाएपछि शर्मा रोष्ट्रम छेउको ढोकाबाट भित्र प्रवेश गरेर रोष्ट्रममा पुगे । त्यसपछि पनि पटक–पटक छलफलमा सांसद सुवाल सहभागी भए र त्यसको जवाफ दिनको लागि मन्त्री शर्मा नै थिए । सुवाल बोल्ने बेलासम्म मन्त्री शर्मा रोष्ट्रमको छेउमा बस्थे र आफूलाई बोलाएपछि सकेसम्म छोटो समयमा जवाफ दिएर फेरि छेलिन्थे ।

खर्च कटौतीको प्रस्ताव र छलफलमा सांसद सुवालले उठाएका प्रश्नको जवाफ दिनका लागि रोष्ट्रममा गएका मन्त्री शर्मा विनियोजन विधेयक पारित भइसकेपछि प्रस्तुत भएका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकका विभिन्न प्रक्रियामा सहभागी भइ पछिल्लो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेर मात्रै तल झरे ।

मन्त्री शर्मा र सांसद सुवालबीच सवाल–जवाफ भइरहेको बेला प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बैठक हलमा आएका थिए । त्यसको केही बेरपछि आफ्नो च्याम्बरबाट प्रधानमन्त्री शेरबहादुर देउवा पनि बैठक कक्षमा आएका थिए । ओलीले दलका उपनेता सुवासचन्द्र नेम्वाङका साथै सांसदहरू विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग अधिकांश समय कुराकानी गरेका थिए । त्यसपछि उनी आफ्नो सिटमा बसेर त्यहाँ भइरहेका नाराबाजी र मन्त्रीले विभिन्न प्रस्ताव प्रस्तुत गरिरहेको हेरिरहेका थिए ।

अर्थमन्त्री शर्माले अवरोधकाबीच बजेट पास गर्नु सरकारको बाध्यता रहेको बताए । प्रतिनिधिसभाबाट बजेट पारित भइसकेपछि शर्माको प्रतिक्रिया थियो, ‘बजेट लामो समयसम्म रोकिराख्यो भने सबै कुरा ठप्प हुने भएको हुनाले यसलाई सँगसँगै लैजानुपर्ने पनि हाम्रो बाध्यता छ ।’ सरकार भदौ ३१ गतेदेखि बेखर्ची भएर मुलुक ‘बजेट सटडाउन’को अवस्थामा रहेको उनको भनाइ थियो । एमालेसँग वार्ता र संवादको माध्यमबाट नै जारी संसद्को अवरोध खुलाउने प्रयास भइरहेको उनले बताए ।

एमालेले ल्याएका योजनामा कुनै कटौती नगरेको पनि मन्त्री शर्माको प्रष्टोक्ति थियो । ‘कुनैपनि योजना काटेको पनि छैन, रोकेको पनि छैन । पूर्वाग्रही हामी छैनौं । पूर्वाग्रही छन् कि भनेर उहाँहरूलाई शंका लागेको होला, सबै योजना देखेपछि होइन रहेछ भन्नुहुन्छ होला,’ उनले भने ।

कानुनमन्त्री कार्कीले संसद्‌मा अवरोध हटाउनका लागि पछिल्लो समय मात्रै ओली निवास बालकोटमा दुई पटक गएको जानकारी दिए । ‘संसदलाई सुचारु गर्नका निम्ति मैले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको छु । आज संसद् सुचारु रुपले चल्ला भन्ने आशा लिएको थिएँ र म अहिलेपनि आशावादी छु,’ उनले भने, ‘संसद् सुचारु रुपले चल्नुपर्दछ । संसद्लाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुइटैको हो । एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट त्यो भूमिकाको अपेक्षा गरेका छौं ।’ ओलीको पालामा संसद्‌मा आएका महत्त्वपूर्ण विधेयक रोक्नका लागि एमाले नै लागेकोमा भने उनले आश्चर्य व्यक्त गरे ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैली र एमालेप्रतिको भेदभावका कारण आन्दोलित हुनुपरेको बताए । ‘संसद्‌मा प्रस्तुत भएका कार्यसूची भन्दा पनि हामी सभामुखको कार्यशैली र एमालेप्रति गरेको विभेदको कारणले संसद्‍मा आन्दोलनमा छौं,’ उनले भने, ‘जबसम्म न्याय गर्नुहुन्न तबसम्म यो आन्दोलन जारी रहन्छ ।’ प्रतिपक्षले अवरोध गरिरहेको अवस्थामा पनि विभिन्न विधेयक अगाडि बढाएकोमा उनले आपत्ति जनाए । एक सांसदले पनि उभिएर विरोध जनाए संसद्को कारबाही अगाडि बढ्न नसक्ने संसदीय अभ्यासको खिलाफमा सभामुखले प्रमुख प्रतिपक्ष वेलमा पुगेको बेला निरन्तर कारबाही अगाडि बढाएको भन्दै उनले आपत्ति जनाए ।

माधवकुमार नेपालसहित एमालेबाट निर्वाचित १४ सांसदलाई एमालेले वैशाख २७ गते ह्वीप उल्लंघन गरेको भन्दै पार्टीबाट कारबाही गरेर भदौ १ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । उक्त जानकारीअनुसार सभामुखले तत्काल सूचना टाँसेर उनीहरूलाई पदमुक्त नगरेको भन्दै एमालेले संसद् अवरुद्ध गरिरहेको छ । सभामुखको उक्त कदमविरुद्ध एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेका छन् । उक्त मुद्दा विचाराधीन छ ।

एमाले प्रमुख सचेतक भट्टराई भने संसद्‌बाट निकास सभामुख र सत्तापक्षले दिनुपर्ने बताउँछन् । ‘यसको निकास सभामुखले नै दिनुपर्छ । सत्तापक्षले दिनुपर्छ । कसरी निकास दिनुपर्छ भन्ने उहाँहरूले जान्ने कुरा हो । सभामुखले सूचना टाँस्नैपर्छ अन्यथा मार्ग प्रशस्त गर्नैपर्छ,’ १४ सांसदलाई पदमुक्त गर्नुपर्ने वा सभामुख सापकोटाले राजीनामा दिनुपर्ने उनको माग थियो । सत्तापक्षले भने वार्ता र संवादको माध्यमबाट नै संसद् अवरोधको निकास खोज्नुपर्ने भनेको छ ।

प्रतिनिधिसभाको नवौं अधिवेशनको सुरुदेखि नै एमालेले अवरोध गरेको छ । सुरुका दुई बैठकमा मर्यादापालकसँग घम्साघम्सी गरेको र रोष्ट्रममा चढ्न खोजेका एमाले सांसदहरू पछिल्ला बैठकमा वेलमा मात्रै नाराबाजी गरिरहेका छन् । प्रधानमन्त्री पदमा रहँदा बिरलै संसद् भवनमा देखिने ओली प्रमुख प्रतिपक्षी दलको नेता भएयता नियमितजसो संसद् बैठकमा आइरहेका छन् ।

अवरोधकाबीच संसद् कति दिन चलाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा भदौ २७ गते प्रधानमन्त्री देउवाले भनेका थिए, ओलीजीलाई सोध्नुहोला । त्यसको भोलिपल्ट भदौ २८ गते सभामुख सापकोटाले संसद् अवरोध हटाउन उपायको खोजीमा सबै दलहरूलाई बोलाएका थिए । तर प्रमुख प्रतिपक्षी दलका नेता ओली आफू पनि उपस्थित भएनन् र प्रतिनिधि पनि पठाएनन् ।

त्यसको भोलिपल्ट भदौ २९ गतेका दुईवटा बैठक पनि एमालेका कारण अवरुद्ध भए । सरकारले ती बैठकमा कुनै पनि प्रस्ताव अगाडि बढाएन र भदौ ३१ गतेदेखि मुलुकमा बजेट सटडाउन भयो । सरकार बेखर्ची भएपछि भने सोमबारको बैठकमा अवरोधका बीच विनियोजन विधेयक पास भएको छ ।

यसरी प्रतिपक्षको अवरोधकाबीच विनियोजन विधेयक पारित भएपछि प्रतिनिधिसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तपाईंहरूलाई पेलेरै बजेट पास भयो नि ? भनेर प्रतिक्रिया लिन खोजे । सञ्चारकर्मीको प्रश्नमा ओलीले जवाफ दिए– ‘पेल्नु पेले ! पेल्नु पेले, अब हेर्नुपर्छ ।’

प्रकाशित : आश्विन ४, २०७८ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?