मुस्ताङमा भेटियो नेपालका लागि नयाँ प्रजातिको चरा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्ताङमा भेटियो नेपालका लागि नयाँ प्रजातिको चरा

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ केकीघाङमा नेपालका लागि नयाँ प्रजातिको चरा रेकर्ड भएको छ ।

एक्यापको इलाका संरक्षण कार्यालय लोमन्थाङका कर्मचारी रामबहादुर गुरुङले गत भदौ १३ गते समुद्री सतहदेखि ३ हजार ७ सय ८१ उचाइको केकीघाङमा ‘युरोपियन रोलर’ नामको चराको तस्बिर खिचेका थिए । चराविज्ञहरुले उक्त चरा नेपालका लागि नयाँ भएको पुष्टि गरेका हुन् ।

पहिचानका लागि चराको उक्त तस्बिर इलाका संरक्षण कार्यालय लोमन्थाङका प्रमुख ऋषि बरालले वरिष्ठ चराविद् डा.हेमसागर बराल र सोम जीसीसमक्ष पठाएका थिए । उनीहरुले उक्त चरा नयाँ भएको पुष्टि गरेका हुन् । ‘नेपाली चराबारे अनुसन्धान गरेका चराविद् टिम इन्स्किप र क्यारोल इन्स्किपले पनि त्यो नामको चरा नेपालका लागि नयाँ भएको प्रमाणित भयो,’ बरालले लोमन्थाङबाट कान्तिपुरसित भने, ‘५ सय १८ प्रजातिका चरा रहेकोमा अब एक्यापमा त्यो संख्या ५ सय १९ भएको छ ।’

गुरुङले उक्त चरा लोमन्थाङबाट ८ सय मिटर दक्षिण पूर्वको केकघाङको खेतको पर्खालमा पहिलो पटक दिउँसो १ बजेर ११ मिनेट जाँदा खिचेका थिए भने दोस्रो पटक पिपलको रुखमा बसेकाबेला खिचेका थिए ।

स्वास्थ्यकर्मी समेत रहेका गुरुङ चराप्रेमी हुन् ।


प्रकाशित : आश्विन ४, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्

नेकपा (एस) केन्द्रीय समिति बैठक मंगलबार

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक असोज ५ गते काठमाडौंमा बस्ने भएको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

बुधबारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् । सो बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ । बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल हुनेछ ।

उक्त बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ । बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । संगठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ ।

पार्टीको संगठन विस्तारका लागि वितरण गरिने सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने छ । वामपन्थी पृष्ठभूमि भएका पार्टी सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिएको छ ।

प्रकाशित : आश्विन ४, २०७८ १८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×