१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विदेशी सहयोगका आयोजनाबारे टिप्पणी गरेकै भरमा कारबाही नगर्नू : सर्वोच्च

काठमाडौँ — मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजनाबारे नकारात्मक टिप्पणी गरेकै मात्र आधारमा कसैलाई पनि कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

विदेशी सहयोगका आयोजनाबारे टिप्पणी गरेकै भरमा कारबाही नगर्नू : सर्वोच्च

न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको इजलासले सोमबार नागरिकको मौलिक हकको विपरीत हुने गरी कुनै कारबाही नगर्न आदेश दिएको हो ।

गृह मन्त्रालयले भदौ १८ गते विज्ञप्तिमार्फत ‘मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्षरूपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्न’ भनेको थियो ।

गृह मन्त्रालयले विज्ञप्तिमा ‘नकारात्मक टिप्पणी गर्ने र अन्य अभिव्यक्ति दिने व्यक्तिहरूको मन्त्रालयले सूक्ष्म निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्तो गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने’ उल्लेख गरेको थियो । मन्त्रालयको यस्तो विज्ञप्ति संविधानले प्रत्येक नागरिकलाई दिएको ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ को मौलिक हक विपरीत भएको भन्दै अधिवक्ता प्रवेश केसीले सर्वोच्च अदालतमा चुनौती दिएका थिए ।

त्यही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ अन्तर्गत सकारात्मक, नकारात्मक र समीक्षात्मक टिप्पणी गर्ने अधिकारसमेत पर्ने भन्दै त्यसैका आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको हो ।

भारतीय हेलिकोप्टर दार्चुलाको नेपाली आकाशमा बिना अनुमति उडाइएको र महाकाली नदीमा तुइन खुस्काएर भारतीय सशस्त्र सीमा बलका सुरक्षाकर्मीद्वारा जयसिंह धामीलाई बेपत्ता पारेको घटनामा भारतसँग कूटनीतिक डिल गर्न नसकेको भन्दै नेकपा (एकीकृत समाजवादी) का विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरूले भारतीय प्रधानमन्त्री मोदी र गृहमन्त्री बालकृष्ण खाणको पुत्ला समेत दहन गरेका थिए । त्यस्तै गृह मन्त्रालयले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको सन्दर्भ पारेर एमसीसीको विरोध गर्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको थियो ।




प्रकाशित : आश्विन ४, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?