कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काम बाँकी छँदै कार्यालय खारेज

पुनर्निर्माण प्राधिकरणका ३ कार्यालय खारेज हुँदा बाँकी अनुदान रकम नपाउने चिन्तामा भूकम्पपीडित
आश गुरुङ

लमजुङ — वैशाखमै घर पुनर्निर्माण सके । तर प्रमाणीकरण गर्ने इन्जिनियर साउनमा मात्रै आए । तेस्रो किस्ताको प्रतीक्षामा रहेका दूधपोखरी गाउँपालिका–३ सानोकाभ्रेका भूकम्पपीडित नारायण गुरुङ अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका ३ वटा जिल्ला कार्यालय नै खारेज भएपछि छटपटीमा छन् ।

काम बाँकी छँदै कार्यालय खारेज

‘पहिले वैशाखमा घर बनाइसक्नुपर्छ, जेठमा पैसा पाइन्छ भने । त्यहीअनुसार घर बनायौं । त्यसपछि असारमा इन्जिनियर आउँछ र कात्तिकसम्म पैसा पाउँछ भने,’ उनले भने, ‘बल्लतल्ल साउनको दोस्रो साता इन्जिनियर आए । अहिले त कार्यालय नै खारेज भयो भन्ने सुन्छु । अब के गर्ने ?’ उनका अनुसार सानोकाभ्रेका मात्रै ८५ परिवारले तेस्रो किस्ताको रकम पाउन बाँकी छ । धेरैले ऋण गरेर घर बनाएका छन् ।

दूधपोखरी–१ गैरीगाउँका इसनलाल गुरुङ पनि अनुदान दिने कार्यालय नै खारेजीमा परेपछि चिन्तामा छन् । ‘घर त जसोतसो बनाइयो । अब तेस्रो किस्ता लिने बेलामा कार्यालय नै छैन भन्छन् । अब कहाँ गएर कसलाई भन्ने ?,’ उनले दुखेसो पोखे । गैरीगाउँका मात्रै १५ घरपरिवारले तेस्रो किस्ताको रकम पाएका छैनन् ।

लमजुङमा घर पुनर्निर्माण गर्दै गरेका ४ हजार १ सय ८३ जना लाभग्राही छन् । पुनर्निर्माणका कामहरू नसकिँदै प्राधिकरणको जिल्ला इकाइ कार्यालय खारेज भएपछि दोस्रो र तेस्रो किस्ता लिन बाँकी भूकम्पपीडित थप समस्यामा परेका हुन् । उक्त कार्यालयले घर पुनर्निर्माणतर्फका लाभग्राहीलाई किस्ता रकमको व्यवस्थापन गर्दै आएको थियो । आर्थिक वर्षको सुरुवातदेखि अनुदान रकम नपाएका लाभग्राही अहिले कार्यालय नै खारेजीमा परेपछि पैसा नै नपाइने हो कि भन्ने चिन्तामा छन् । यसबाहेक जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) र जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) कार्यालय पनि खारेजीमा परेका छन् । भवन कार्यालयले पुनर्निर्माणका लागि इन्जिनियरको व्यवस्थापन र शिक्षाले भूकम्पबाट भत्किएका विद्यालयको पुनर्निर्माण गर्दै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार अनुदान तथा व्यवस्थापन गर्न नयाँ खुल्ने सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) लाई जिम्मा दिइएको छ । पोखरास्थित संघीय आयोजना कार्यान्वयन इकाइले उक्त २ वटा कार्यालयको काम हेर्नेछ । लमजुङमा कार्यालय हेर्ने गरी एक जना स्थायी इन्जिनियर तोकिएको छ । शिक्षाको काम शिक्षा विकास तथा समन्वय इकाइले हेर्नेछ । यी कार्यालयका प्रमुख गत साता नै पुनर्निर्माण प्राधिकरण तानिइसकेका छन् । यी कार्यालय आव २०७४/७५ पछि खुलेका थिए ।

प्राधिकरणले अनुदान तथा व्यवस्थापन र शिक्षा कार्यालयमा प्रायः स्थायी कर्मचारी खटाएको थियो । भवनमा धेरै कर्मचारी करारमा लिएको थियो । अनुदान तथा व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर सूर्यप्रसाद शर्मा र शिक्षाका प्रमुख इन्जिनियर अशोक पराजुली प्राधिकरण फर्केका छन् । भवनका कार्यालय प्रमुख शितलबाबु लोहनीलाई भने करारमा राखिएको थियो । ‘हामी ४५ जना बढी इन्जिनियर प्राविधिक थियौं । साउनदेखि म्याद थप भएन । यसले भूकम्पपीडित लाभग्राहीलाई निकै अप्ठ्यारो परेको छ,’ लोहनीले भने, ‘अहिले पनि हामीलाई फोन गरिरहेका छन् । इन्जिनियर र प्राविधिक साथीहरू फर्किसक्नुभएको छ । अब हामीले के गर्ने ?’

लमजुङमा घर निर्माण सकिएका कतिपयले तेस्रो किस्ता पाएका छैनन् । १५ हजार ५ सय ७६ लाभग्राहीमध्ये १४ हजार ६ सय २७ जनाले मात्रै पहिलो किस्ता लिएका छन् । यीमध्ये २४ जनाले पहिलो किस्ता फिर्ता गरेका थिए ।

प्रकाशित : आश्विन ४, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?