संविधान दिवसका अवसरमा भारतसहित २४ मुलुकले दिए शुभकामना

काठमाडौँ — छिमेकी भारत र चीनसहित दुई दर्जनभन्दा बढी मुलुकले संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना दिएका छन् । ती देशका राष्ट्र तथा सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएका हुन् । 

संविधान दिवसका अवसरमा भारतसहित २४ मुलुकले दिए शुभकामना

नयाँ संविधान जारी भएदेखि असन्तुष्ट भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षीलाई शुभकामना पठाएका हुन् । राष्ट्रपति कोविन्दले भारत सरकार, भारतीय जनता र आफ्नो तर्फबाट राष्ट्रपति भण्डारीलाई शुभकामना दिएका छन् । उनले पठाएको सन्देशमा ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध दीर्घकालीन रहेको प्रस्ट पारेका छन् ।

नेपालले २०७२ असोज ३ मा संविधान जारी गरेपछि भारतले करिब चार महिना आर्थिक नाकाबन्दी गरेको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले देउवालाई पठाएको सन्देशमा संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले दुई देशलाई जोडेको जनाएका छन् । मोदीले प्रधानमन्त्री देउवा र समस्त स्नेहशील नेपाली जनताको सुस्वास्थ्यको कामना गरेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङ तथा अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि शुभकामना पठाएका छन् । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले समृद्धि र प्रगतिको कामना गरेका छन् । बाइडेनले कोभिड–१९ को महामारी र जलवायु परिवर्तनले निम्त्याएका संकटको सामनाका साथै आर्थिक सम्बन्ध सुधार उल्लेख गरेका छन् ।

बंगलादेश, श्रीलंका, रुस, जर्मनी, स्विट्जरल्यान्ड, पोर्चुगल, बेलायत, जापान, म्यानमार, लाओसलगायत दुई दर्जनभन्दा बढी मुलुकले शुभकामना पठाएको परराष्ट्र प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

प्रकाशित : आश्विन ४, २०७८ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?