कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असोज ५ मा पनि कांग्रेसका १३ जिल्लाको वडा अधिवेशन नहुने !

काठमाडौँ — कांग्रेसले यसपटक पनि सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गर्न नसक्ने भएको छ । पछिल्लो पटक २० जिल्लाको वडा अधिवेशन एकैदिन गर्न केन्द्रीय निर्वाचन समितिले ५ असोज अर्थात् मंगलबार वडा अधिवेशन गर्ने मिति तोकेको थियो । तर, त्यसको तयारीका लागि एक दिनमात्रै बाँकी रहँदा पनि १३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको छैन ।

असोज ५ मा पनि कांग्रेसका १३ जिल्लाको वडा अधिवेशन नहुने !

निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले आइतबार बेलुकीसम्म पनि १३ जिल्लामा क्रियाशील सदस्यकै टुंगो नलागेका कारण मंगलबार ती जिल्लाको वडा अधिवेशन नहुने बताए । ‘अहिलेसम्म क्रियाशील सदस्यकै सूची तयार भएको छैन । त्यसैले अब एकै दिनमा ती जिल्लामा वडा अधिवेशन गर्न सम्भव छैन,’ घिमिरेले भने, ‘त्यसबाहेकका ७ जिल्लामा भने लगभग तयारी पूरा भएको छ । ती जिल्लामा अधिवेशन हुन्छ ।’

घिमिरेका अनुसार मंगलबार काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा वडा अधिवेशन हुनेछ ।

त्यसबाहेक पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीमा सदस्यताको टुंगो नलागेका कारण अधिवेशन अनिश्चित बनेको छ । ‘सदस्यताको टुंगो लागेपछि समितिले फरक-फरक मिति तोकेर गर्न सक्ने देखिएको छ । अब कसरी अघि बढ्ने भनेर पार्टीले पनि सुझाव देला । त्यसपछि एउटा टुंगो लाग्ला,’ निर्वाचन समितिका सदस्य घिमिरेले भने ।

कांग्रेसले यी २० जिल्लाको वडा अधिवेशन एकैदिन गर्नकै लागि ५ असोजमा वडा अधिवेशन गर्ने मिति तोकेको थियो । तर, यसपटक पनि त्यो प्रयास असफल भएको छ । समितिको पालिका तहको अधिवेशन ९ असोजमा गर्ने कार्यतालिका छ । त्यस आधारमा मंगलबारसम्म सदस्यता टुंगो लागेको अवस्थामा ८ असोजभित्र वडा अधिवेशन पूरा गरेर सबै जिल्लामा एकैपटक पालिका अधिवेशन गर्न सकिने नेताहरुको भनाइ छ ।

कांग्रेसले १८ भदौमा ७७ वटै जिल्लामा एकैदिन वडा अधिवेशन गर्ने बताएको थियो । तर, सदस्यताकै टुंगो नलागेका कारण अहिलेसम्म ५७ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ । त्यसमध्ये पनि सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको अधिवेशनलाई लिएर विवाद छ ।

नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले क्रियाशील सदस्यताका सम्बन्धका देखिएका सबै विवादको समाधान गरी सैद्धान्तिक सहमति जुटाए पनि त्यसको कार्यान्वयनमा जिल्लैपिच्छे फरक–फरक समस्या उत्पन्न भएपछि नेताहरुले क्रियाशील सदस्यको सूची तयार गर्न सकेका छैनन् । कार्यदलको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा कार्यदलका सदस्यहरुकै बीचमा विवाद हुन थालेको छ ।

प्रकाशित : आश्विन ३, २०७८ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?