विभूषणप्रति ओलीको व्यंग्य- आज बा, श्रीमती, छोराछोरीको मुख हेर्ने दिन हो ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विभूषणप्रति ओलीको व्यंग्य- आज बा, श्रीमती, छोराछोरीको मुख हेर्ने दिन हो ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक आस्था र परिवारका व्यक्तिलाई मानपदवी (विभूषण) प्रदान गरेकोप्रति व्यंग्य गरेका छन् । 

संविधान दिवसको अवसरमार सरकारले ९ सय ३ जनालाई विभिन्न विभूषण घोषणा गरेको छ । यसप्रति एमाले अध्यक्ष ओलीले व्यंग्य गरेका हुन् । उनले संविधान घोषणा भएको दिन शहिदका परिवारले गर्व गर्ने र घाइते तथा लोकतन्त्र ल्याउन भूमिका खेल्ने व्यक्तित्व सम्मानित हुनुपर्नेमा नेताका आफन्त सम्मानित भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

ललितपुरको च्यासलमा पार्टीले आयोजना गरेको संविधान दिवस कार्यक्रममा ओलीले भने, 'यो संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने । यतिबेला जनताका पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने । सम्मानित भएको अनुभूति गर्न पाउनुपर्ने । तर, बालाई सम्मान, श्रीमतीलाई सम्मान !'

आफू प्रधानमन्त्री हुँदा पनि नेताहरूका छोरा र छोरीलाई सम्मानित गर्नुपरेको स्मरण गरेका थिए । 'संविधान दिवसका दिन त शहिदका सन्तान, आमाबाबुले गर्व गर्नुपर्ने । घाइतेले सम्मानित हुन पाउनुपर्ने,' ओलीले थपे, 'बाको मुख हेर्ने दिन हो ? श्रीमती, छोराछोरीको मुख हेर्ने दिन हो ?''

सरकारले अलंकार, पदक र विभूषणको नाकमा कालो पोतेको ओलीको आरोप थियो । 'ती विभूषणहरू लाज मानिरहेका छन् । कस्तो-कस्तोको घाँटीमा पुग्ने भए ! बोल्न सक्ने भए उफ्रिन्थे ती !'

ओलीले ती पदक राष्ट्रपतिबाट नबाँडेर आफैं घर लैजान पनि सुझाए । उनले भने, 'किन राष्ट्रपतिबाट बाँड्नुपर्‍यो ? आफैं-आफैं लगेर घर जाऊ न !'

प्रतिनिधिसभा विघटन गर्ने आफू प्रधानमन्त्री भएका बेलाको दुई पटकको निर्णय उल्ट्याउने प्रधानन्यायाधीश र न्यायाधीशहरूले सम्मान पाएकोप्रति पनि ओलीले आक्रोश पोखे । प्रतिनिधिसभा विघटनमा आफ्नो निर्णयको विरुद्धमा बहददेखि फैसला गर्नेले विभूषण पाएको भन्दै ओलीले आक्रोश पोखेका हुन् । 'झगडिया सम्मानित, मुद्दा हाल्ने सम्मानित, तथानाम बोल्ने सम्मानित, मुद्दा जिताइदिने र हराइदिने श्रीमान सबैलाई सम्मान,' ओलीले भने, '२- ४ जना छुटेको झै लाग्यो नाम नभनौं । तिनलाई किन छुटाएको होला !'

आफू प्रधानमन्त्री रहेको बेला सरकारका पक्षमा नलेख्ने सञ्चार संस्थाका प्रमुखलाई विभूषण दिएकोमा पनि ओलीले आक्रोश पोखेका छन् ।

ओलीले संविधानको अपव्याख्या र संशोधन भइरहेको भन्दै सर्वोच्च अदालतप्रति पनि आक्रोश पोखेका छन् । उनले संविधानको व्याख्या गर्ने कर्तव्य भएको निकायले संशोधन गरिरहेको र त्यो अधिकार संसद्को रहेको पनि बताए । सभामुख अग्नीप्रसाद सापकोटाले पदको गरिमा नरखेको र एमाले विभाजन गर्न विभेदकारी भूमिका खेलेको ओलीको आरोप थियो ।

प्रकाशित : आश्विन ३, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्

करेन्ट लागेर महिलाको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा करेन्ट लागेर आइतबार एक महिलाको मृत्यु भएको छ । घरमा मोटर चलाउने क्रममा करेन्ट लागेर दंगीशरण गाउँपालिका ७ बुटनियाकी २२ वर्षीया प्रमिला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन ३, २०७८ १४:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×