कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निधिको सम्पर्क कार्यालयमा देउवाको फोटो

 उम्मेदवारी घोषणापछि बढ्यो देउवा–निधि दुरी 
प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले १९ साउनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निम्तो दिँदै भनेका थिए, ‘म तपाईंकै समर्थनबाट सभापतिको उम्मेदवार हुन चाहन्छु । सम्पर्क कार्यालय पनि खोल्न लागेको छु । उद्घाटनमा तपाईं पनि आइदिनुहोला ।’ 

निधिको सम्पर्क कार्यालयमा देउवाको फोटो

अघिल्ला दुई महाधिवेशनमा आफ्नो समूहबाट निर्विवाद उम्मेदवार बनेका देउवाका लागि त्यो निम्तो अवश्य नै स्वाभाविक लागेन । निधिको निम्तो देउवाले अस्वीकार गरे । निधिको सम्पर्क कार्यालय उद्घाटनमा देउवा आफू जाने होइन, आफूनिकट नेता कार्यकर्तालाई समेत नजान उर्दी गरे । तर, निधिको सम्पर्क कार्यालयमा भने देउवाकै फोटो आकर्षक तरिकाले राखिएको छ ।

निधिले ११ भदौमा थापागाउँमा आफ्नो सम्पर्क कार्यालय खोलेका छन् । अहिले निधिले आफूलाई भेट्नेहरूलाई त्यही बोलाउँछन् ।

गेटबाट भित्र छिर्ने बित्तिकै बाहिरपट्टि केही दर्जन फ्रेमिङ गरिएका तस्बिरहरू भित्तामा टाँसिएका देखिन्छन् । एकापट्टि लखन थापामगरदेखि लीलानाथ दाहाल, लक्ष्मण उपाध्याय र केशव कोइरालासम्मको फोटो राखिएको छ, अनि अर्कोपट्टि गंगालाल श्रेष्ठदेखि गोकर्ण कार्की, अग्रमणि राई र पेशल दाहालसम्मको फोटो छ ।

त्यही भित्तामा भीमबहादुर तामाङदेखि धर्मध्वज गुरुङसम्म पनि अटाएका छन् । एकातिर भित्तामा २४ वटा फोटो लहरै टाँसिएको छ, र अर्कोतिर २६ वटा । बीचमा आकर्षक देखिने गरी राखिएको एउटा फोटो छ, शेरबहादुर देउवाको । ‘यी नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूका तस्बिर हुन् । हामीले यी तस्बिर पाउन निकै मिहिनेत गर्नुपर्‍यो । कत्ति त सालिकलाई नै फोटोका रुपमा टाँसेका छौँ,’ निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने ।

निधिले देउवाकै फोटो त्यसरी एक्लै किन राख्न लगाए ? त्यसको कुनै सांकेतिक अर्थ वा महत्व छ कि छैन ? त्यहाँ पुग्नेहरू तस्बिरले निधिले आफ्नो उम्मेदवारीको महत्व दर्शाउन चाहेको ठान्छन् केही चाहिँ अझै पनि देउवा समूहमै फर्किएलान् कि ? भन्ने अनुमान लगाउँछन् ।

त्यसो त निधि आफैले पनि अन्तिममा आफूलाई शेरबहादुर देउवाले नै टिमबाट सभापतिको उम्मेदवार बनाउने विश्वास रहेको बताउन छाडेका छैनन् । ‘म परिवर्तनको पक्षपाती हुँ, म पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको पक्षपाती हुँ, त्यसैले मप्रति धेरै साथीहरू उत्साहित हुनुहुन्छ,’ निधिले ईकान्तिपुरसँग भने, ‘त्यसैले म प्रतिको समर्थनको माहोल पनि आएको छ ।’

निधि देउवाका केवल राजनीतिक सहयात्रीमात्रै थिएनन् । करिब २५ वर्षसम्म देउवाका हरेक राजनीतिक निर्णयमा निधिको महत्त्वपूर्ण भूमिका रह्यो । निधिले १२ औँ र १३ औँ महाधिवेशनमा देउवालाई राम्रैसँग साथ दिए । देउवाले पनि निधिलाई अघि बढाए । १३ औँ महाधिवेशनपछि देउवाले करिब दुई वर्षसम्म उपसभापति मनोनित गरेनन् । निधि र स्व. खुमबहादुर खड्कामध्ये कसलाई मनोनित गर्ने भन्नेमा द्विविधा थियो । खड्काको निधन भयो । देउवाले निधिलाई उपसभापति बनाए ।

‘उहाँले खुमबहादुर दाइलाई पनि वचन दिनुभएको थियो, विमल दाइको माग पनि त्यही थियो, त्यसैले त्यतिञ्जेल अलमल भयो,’ देउवानिकट एक नेता भन्छन् ।

त्यसो त निधि नेविसंघमै देउवाका उत्तराधिकारी बनेका थिए, त्यसबेला उनलाई बीपी कोइरालाकै समर्थन थियो । बीपीपछि निधिले कृष्णप्रसाद भट्टराईको लिगेसी समाते, देउवाले कोइराला परिवारको । तत्कालिन सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइरालाको विवादमा निधि भट्टराईको पक्षमा उभिन्थे, देउवा कोइरालाको । तर, समयान्तरमा देउवा नै कोइराला परिवारको विरुद्ध खडा भए, ०५७ को पोखरा महाधिवेशनमा । ती नेताकाअनुसार ०५७ को पोखरा महाविधेशनपछि देउवा र निधि ‘एउटै सिक्काको दुई पाटो’ झैँ बनेर राजनीतिक सहयात्रा गरे ।

निधिले देउवालाई विभाजित पार्टीको मात्रै होइन, एकिकृत भएपछि पनि पार्टीको सभापति हुन सघाए । देउवाले निधिलाई पार्टीको उपसभापति र गृहमन्त्रीसम्म बनाए । तर, यति लामो राजनीतिक सहयात्रा गरेका नेताहरूबीच अहिले सभापतिमा उम्मेदवारी दिने विषयका कारण सम्बन्ध यसरी चिसिएको छ कि देउवाले औपचारिक बैठकबाहेक निधिलाई सम्पर्क गर्नै छाडेका छन् । १९ साउनमा निधिले देउवालाई भेटेयता पुन: भेटघाट भएको छैन ।

पछिल्लो पटक २३ भदौमा उपसभापति निधिले देउवालाई भेट्न चाहेका थिए । तर, देउवाले व्यस्तताका कारण भेट दिएनन् । निधिले त्यो दिन क्रियाशील सदस्यताको विवादका बीच तोकिएको डडेलधुराको वडा अधिवेशनका विषयमा देउवालाई ध्यानाकर्षण गराउन चाहेका थिए । देउवाले भेट्ने समय नदिएपछि निधिले देउवालाई सम्बोधन गरेर चिठी लेखेका थिए ।

‘उहाँले त्यो दिन भेट्न भन्नुभएको थियो, तर प्रधानमन्त्रीज्यूको व्यस्तताका कारण भेट गर्न सम्भव भएन, त्यसपछि उहाँले पत्र लेख्नुभएको हो,’ स्रोतले भन्यो ।

अहिले सभापतिज्यूसँगको सम्बन्ध कस्तो छ त ? ईकान्तिपुरको प्रश्नमा निधिले भने, ‘मेरो सबैसँग राम्रो सम्बन्ध छ । सबैसँग राजनीतिक सम्बन्ध हो । आजको दिनमा सभापतिजी, रामचन्द्रजी, शशांकजी, प्रकाशमानजी लगायत सबैसँग मेरो उत्तिकै राम्रो सम्बन्ध छ ।’

कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा उम्मेदवारी दिनेको लर्को छ । सबैले नेतृत्वमा आफूलाई स्थापित गर्न चाहेका छन् । तर, परम्परागत गुटबाट बाहिरिएर उम्मेदवारी दिने घोषणा गरेका निधिले भने आफूले वैचारिक पक्षको नेतृत्व गर्ने दाबी गरिरहेका छन् ।

‘मेरो उम्मेदवारीको औचित्य भनेको वैचारिक पक्ष हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हामीले जारी गरिसकेका छौँ । त्यसको सफल कार्यान्वयन गर्नुपर्नेछ । त्यसलाई जनता र देशको हितमा परिणाम आउने गरी सफल सञ्चालन गर्नुपर्नेछ । त्यसलाई नै मुख्य केन्द्रविन्दुमा राखेर आगामी निर्वाचनमा त्यसका लागि कांग्रेसलाई जिताउनुपर्छ भन्ने मेरो उम्मेदवारीको प्रयोजन हो,’ निधिले भने, ‘मैले वैचारिक रुपमा अहिलेको प्रणालीको बारेमा, संविधानको बारेमा, समावेशी लोकतन्त्रको पक्षमा स्पष्ट अडान लिएको छु ।’

निधिले केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लागिसकेपछि आफूले युवाहरूलाई समेटेर टिम बनाउने बताए ।

प्रकाशित : आश्विन ३, २०७८ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?