कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहरमा पनि कुपोषण

खान नपुग्ने र खान पुग्दा मात्रा मिलाउन नजान्नेहरु सहरमै पनि छन्, जसका बालबालिकालाई अस्पतालले पोषण पुनःस्थापना गृह पठाएको छ
विद्या राई

काठमाडौँ — उही उमेरका अरू बच्चाजस्तो आफ्नो छोरो किन हृष्टपुष्ट भएन भन्ने उनलाई चिन्ता भइरहेको थियो । भक्तपुर बागेश्वरीकी सरस्वती ढन्जुको मनमा कुरा खेलिरहन्थे । १३ महिना लागेका शिवन एकदमै दुब्ला र पातला थिए । माइती गएको मौकामा गत साउन दोस्रो साता धुलिखेल अस्पतालमा जँचाउँदा खाना र स्याहार नपुगेको थाहा भयो । मासु, अन्डा, हरिया सागसब्जी, फलफूललगायत पोषिला खाना मिलाएर खुवाउन डाक्टरले सुझाए ।

सहरमा पनि कुपोषण

घर फर्केर उनले छोरोलाई जँचाएको पति र सासूससुरालाई सुनाइन् । उनीहरूले सुने तर पोषिलो खानेकुरा खुवाउनेमा कसैको ध्यान गएन । उनलाई सधैं कामको चटारो हुन्थ्यो । बिहान दूध खुवाएर निस्किन्थिन्, एकैचोटि साँझ मात्रै भेट हुन्थे आमाछोरा । लिटो खुवाउन तातो पानी तताए ‘ग्यास सकिन्छ’ भन्दै सासूले गाली गर्थिन् । शिवनलाई साउन अन्तिम साता अचानक रुघाखोकी र ज्वरोले सतायो । ‘तातो, पोषिलो खाना नपुगेरै बिरामी भएको हो,’ सरस्वतीले अड्कल काटिन् । छोरालाई जँचाउन जाँदा सासूलाई सँगै लैजाने निधो गरिन् । उनीहरू भक्तपुरको सिद्धि स्मृति महिला तथा बाल अस्पताल गए । बच्चालाई नापियो– लम्बाइ ६९ सेमि र तौल ५.९ किलो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार लम्बाइअनुसारको तौल ७.६ देखि ८.२ किलो हुनुपर्छ । उमेरअनुसारको तौल ८.३ किलो हुनुपर्छ । यो मापदण्ड नभएको अवस्थालाई ख्याउटेपन र कम तौल भएको मानिन्छ । ख्याउटेपन र कम तौल कुपोषणका सूचक हुन् । यस्तो बेला उसको खानामा ध्यान पुगेन भने बच्चाको शरीरले काम गर्न, बढ्न, मानसिक विकास हुन र स्वस्थ हुन पाउँदैन ।

धुलिखेलका डाक्टरले झैं त्यहाँ पनि बच्चालाई पोषिलो खानेकुरा खुवाउन सुझाव दिइयो । सरस्वतीको यसअघिको प्रयास विफल भइसकेको डाक्टरलाई सुनाइन् । घरमा खानपानको वातावरण नभएको थाहा पाएपछि डाक्टरले सुनाकोठीको पोषण पुनःस्थापना गृहमा रेफर गरे । आमाछोरा भदौ १ मा उक्त पोषण गृहमा पुगे ।

गर्भवती र सुत्केरी हुँदाका बेला सरस्वतीले पर्याप्त पौष्टिक आहारको खाना पाएकी थिइनन् । छोराले आमाको दूध र थप पोषिलो खाना पाएन । यसैले गर्दा छोरो कमजोर भएको उनले सुनाइन् । ‘यहाँ छिनछिनमा लिटो, जाउलो, तरकारी, फलफूल खुवाउँछु । घरमा छँदा भकारो सोहोर्दै ठिक्क हुन्थ्यो, बच्चालाई स्याहार्नै समय मिल्थेन,’ उनले भनिन् ।

सरस्वतीको भनाइमा सही थप्दै नजिकै बच्चालाई जाउलो खुवाउँदै गरेकी अर्की आमा गुल्मी घर भई बालाजु बस्ने सीता पौडेलले हत्त न पत्त मुख खोलिन्, ‘हामीलाई त यहाँ माइती, मावली आएजस्तै भएको छ ।’ १० महिनाको छोरो अश्विनले दुई महिनायता खाना खानै मन गर्दैनथ्यो । कान्ति बाल अस्पतालमा एक्सरे गराउँदा बिराम देखिएन । पोषणको कमी भएको आशंकामा कान्ति बालको पोषण शाखामा लगियो । उसको लम्बाइ र तौल मापन गरियो । लम्बाइ ६८ सेमि, तौल ६.४ किलोका रहेछन् । डब्लूएचओका अनुसार लम्बाइअनुसार उसको तौल ८ किलो हुनुपर्थ्यो । यो मापदण्ड नपुगेकोलाई ख्याउटेपन भएको मानेर अस्पतालले उनीहरूलाई पोषण पुनःस्थापना गृहमा रेफर गरिदियो ।

सीताका पति भाडाको रिक्सा चलाउँछन् । कोरोना महामारीले गर्दा डेढ वर्षयता खान पुग्दो कमाइ हुन छाडेको छ । यही बेला छोरोलाई कुपोषणले च्याप्यो । उनी पोषण गृह बसेको एक महिना भइसकेको थियो । पोषण गृहले गर्दा छोरोको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनले सुनाइन् ।

बालबालिकामा कुपोषण भन्नेबित्तिकै जोकोहीको दिमागमा दूरदराजको चित्र बन्छ । माथिका यी दुई दृष्टान्त सहरमै बस्नेका हुन् । सहरी क्षेत्रमा नजानिँदो पाराले बालबालिका कुपोषणको सिकार भइरहेका छन् । स्वास्थ्य विभागको पोषण शाखा प्रमुख केदार पराजुली भन्छन्, ‘मोटोपन, फलाम, भिटामिन ए, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्त्वको अभावबाट हुने कुपोषण र खान नपाउने समस्याले सहरी कुपोषण बढ्दो छ ।’

सन् २०१९ को अक्टोबरमा प्रकाशित युनिसेफको ‘बच्चा, खाना र पोषण’ सम्बन्धी रिपोर्टमा नेपालका पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे वा मोटा छन् । त्यसैगरी, ६ महिनादेखि दुई वर्षसम्मका करिब ४५ प्रतिशत बालबालिकाले मात्र आठ खालका खाना समूहमध्ये कम्तीमा पाँच समूहको खाना खाइरहेका छन् । यो उमेर समूहका अधिकांश बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन् भने अण्डा वा माछा वा मासु खानेको संख्या एकतिहाइ मात्र छ ।

यो प्रतिवेदनमा कुपोषणको तेहेरो बोझलाई उल्लेख गरेको छ— पाँच वर्षमुनिका बालबालिकाको कम पोषण, आवश्यक पोषक तत्त्वको कमीले भइरहेको नदेखिने भोकमरी र मोटोपना । यो प्रतिवेदनअनुसार नेपालका ११ लाख बालबालिका पुड्का अर्थात् होचा छन् । करिब २ लाख ९० हजार बालबालिका ख्याउटे अर्थात् दुब्ला छन् । १३ लाख बालबालिका अर्थात् दुईमध्ये एक जनामा भिटामिन ‘ए’ र आइरनजस्ता आवश्यक पोषक तत्त्वको कमी छ । करिब ३६ हजार बालबालिका बढी तौलका वा मोटा छन् ।

प्रतिवेदनले बालबालिकाको जीवनको सुरुवाती दिनबाट नै कमसल खानाको अभ्यास सुरु हुने गरेको चेतावनी दिएको छ । नेपालका ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि दुई वर्षको अवधिमा कुनै फलफूल वा तरकारी खान पाउँदैनन् । दुई तिहाइ बालबालिकाले अण्डा, माछा वा मासु खाँदैनन् ।

२५ वर्षदेखि पोषणका क्षेत्रमा काम गर्दै आएकी पोषण पुनःस्थापना गृहमा पोषण कार्यक्रम प्रमुख सुनीता रिमालको अनुभवमा पहिले पहिले गाउँका, खानै नपाएका, साह्रै दुब्ला, हड्डी छाला एकै ठाउँ टाँसिएका, हड्डी गन्न सकिने ज्यान भएकालाई कुपोषित भनिन्थ्यो । अचेल काठमाडौं तथा सहर बजारका बालबालिका, जसलाई परम्परागत खानपिन अभ्यास छैन, उनीहरू हेर्दा हृष्टपुष्ट देखिए पनि सूक्ष्म पोषक तत्त्वको कमीले कुपोषित हुन्छन् । आमाबुबाले सजिलो छिटो खानाको रूपमा बिस्कुट, चाउचाउ खुवाइदिन्छन् । बच्चाले पनि त्यस्तै खान मन पराउँछन् । यस्ता खानामा पोषक तत्त्व पाइँदैन । उनी भन्छिन्, ‘अहिले हुने खानेकै बच्चा पनि कुपोषित छन्, खान मिलाउन नजानेर, समय दिन नसकेर, गाउँमा मात्रै होइन सहरी कुपोषण झन् भयानक बन्दै छ ।’

पोषण गृहमा देशैभरिबाट अस्पतालले रेफर गरेका कुपोषित बालबालिका आइपुग्छन् । गृहको वार्षिक क्षमता २ सय ५० जना हो । उनका अनुसार यहाँ आइपुग्नेमध्ये २५ प्रतिशत सहरी क्षेत्रका बालबालिका हुन्छन् । यहाँ १४ वर्षमुनिका कडा र मध्यम खालको कुपोषितहरूलाई पुनःस्थापना गरिन्छ । बच्चाको साथमा कुरुवा आमालाई राखिन्छ, आमा नभए नजिकको नातेदारलाई । बच्चालाई पोषिलो सन्तुलित खाना खुवाएर पुनःस्थापना गर्ने, कुरुवालाई घरायसी खाना, जाउलो, लिटो, फलफूल, तरकारीलगायत पोषणयुक्त खाना पकाउन र सरसरफाइको अभ्यास सिकाइन्छ । निःशुल्क खाने, बस्ने सुविधासहित कम्तीमा एक महिना राखिन्छ । बच्चाको स्वास्थ्य सुधारलाई हेरेर घर पठाइन्छ ।

हेलेन केलर इन्टरनेसनल नेपाल, एसिस्मेन्ट एन्ड रिसर्च अन चाइल्ड फिडिङ र स्वास्थ्य विभागद्वारा गरिएको काठमाडौं उपत्यकामा कुपोषणको कारक रिपोर्टले यहाँका ८.४ प्रतिशत कुपोषणको दोहोरो र ३.१ प्रतिशत तेहेरो भारमा रहेको देखाउँछ । १९.२ प्रतिशत बच्चाहरूमा पुड्कोपना, १२.६ प्रतिशतमा कम तौल, ५.४ मा ख्याउटेपना, २०.९ प्रतिशतमा रक्तअल्पता (आइरनको कमीले हुने) देखिएको थियो । काठमाडौं उपत्यकाका बालबालिकाहरूमा पोषण स्थिति पत्ता लगाउन गरिएको अध्ययनमा ६ सय ४५ बालबालिका र ६ सय ६७ आमा अथवा रेखदेखकर्तालाई संलग्न गरिएको थियो ।

खाना कम खाएका कारण वा बिरामी हुँदा पोषक तत्त्व खेर गएको कारणले कुपोषण हुन्छ भन्ने विगतको बुझाइ थियो । तर अचेल चिल्लो, गुलियो खाना बढी खाएको तथा निष्क्रिय जीवनशैलीका कारण बढी तौल हुने, मोटोपन हुनेजस्ता पोषणसम्बन्धी समस्याहरू देखा पर्दै गएका छन् । यी दुवै अवस्था कुपोषण हुन् । ‘राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६’ मा देशभर अधिक तौल भएका बालबालिकाहरूको संख्या एक प्रतिशत थियो । मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०१९ मा यो दर १.६ प्रतिशतले वृद्धि भएर २.६ प्रतिशतमा पुगेको छ । २०२० जुनमा प्रकाशित ‘डबल बर्डेन अफ मालन्युट्रिसन एन्ड न्युट्रिसन ट्रान्जिसन इन एसिया’ जर्नलका अनुसार एसियालगायत निम्न तथा मध्यम आय भएका देशमा मोटोपन बढ्दो छ । काठमाडौं उपत्यका नेपालमै सबैभन्दा बढी सहरीकरण भएको ठाउँ हो र पहिलेदेखि नै यहाँ नसर्ने रोगहरू र वयस्कहरूमा मोटोपनाको समस्या छ ।

प्रकाशित : आश्विन ३, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?