एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुन्छन् : पोखरेल

काठमाडौँ — नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताए ।

एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुन्छन् : पोखरेल

उनले एमालेको चरित्र विभाजन र विखण्डन नभई एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनले बताए ।

महासचिव पोखरेलले भने,'अहिले देखा परेको नकारात्मक धार को को नेता गए, कोको नेताहरु चोइटिएर गए त्यो छोडिदिनुस् । म एउटा कुरा भन्न चाहान्छु, त्यो नकारात्मक धार, बिग्रहको धार, विभाजनको धार त्यो सकिनेछ समाप्त हुनेछ । त्यसको भविष्य छैन । त्यो अन्त्य हुनेछ ।'

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवाभित्र शुद्धिकरण आवश्यक रहेको बताए । उनले भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरे । उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति उदासिन हुने हो भने देशको विकास नहुने बताए ।

उनले भने, ‘प्रशासनबाट, निजामती कर्मचारीबाट सत्ता सञ्चालनमा भ्रष्टाचारलाई उन्मुलन गर्न जरुरी छ । भ्रष्टाचारको अन्त्य नगरिकन, त्यसलाई नियन्त्रण नगरिकन देशलाई समृद्ध बनाउन सकिदैँन । प्रशासनभित्र ठूलो शुद्धिकरण अभियान हामीले चलाउनु जरुरी छ ।’

उनले प्रशासन सञ्चालनको कार्यशैलीमा आमुल परिवर्तन गर्नुपर्ने पनि बताए । प्रशासनलाई उच्च प्रविधिहरुसँग जोड्दै आधुनिकीकरण गर्न जरुरी रहेको नेता थापाको भनाइ छ ।

प्रकाशित : आश्विन २, २०७८ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?