सीमास्तम्भ नपुगी टोली फिर्ता

हेलिकोप्टरबाट पनि  निरीक्षण गर्न खोजियो तर मौसमी प्रतिकूलताले सकिएन । – जयप्रसाद आचार्यअध्ययन टोली संयोजक 

सुर्खेत, हुम्ला — गृहमन्त्रालयको नेपाल–चीन सीमा अध्ययन टोली ३ वटा सीमास्तम्भ नहेरी फर्किएको छ । भौगोलिक विकटता र मौसम प्रतिकूल हुँदा टोलीले हुम्लाको उत्तरी सीमामा रहेका ३, ४ र ११ नम्बर सीमास्तम्भको अध्ययन गर्न नसकेको हो । 

सीमास्तम्भ नपुगी टोली फिर्ता

३ वटै सीमास्तम्भ समुद्र सतहदेखि ५२ सय मिटर उचाइका हुन् । ३ नम्बर सीमास्तम्भ बझाङको सिमानासँग जोडिएको छ भने ४ नम्बर स्तम्भ हिल्सामा र ११ नम्बर स्तम्भ हिल्सा–लिमी जाने बाटोमा छन् । सीमास्तम्भबारे अध्ययन गर्न गृह मन्त्रालयले सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा ७ सदस्यीय टोली गठन गरेको थियो ।

टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका एसएसपी उमेशराज जोशी, सशस्त्र प्रहरीका एसएसपी प्रदीपकुमार पाललगायत सहभागी थिए । ‘पैदलमार्गबाटै जान खोजेका थियौं, तर हिउँले ढाकिएको, ठाडो बाटो भएको र सधैं बादल लागिरहने क्षेत्र भएकाले जान सकिएन,’ टोली संयोजक आचार्यले भने, ‘मौसम प्रतिकूलताका कारण हेलिकप्टरबाट पनि जान सकिएन । हामी (शुक्रबार) सुर्खेत फर्कियौं ।’

चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिकाको नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा अध्ययन गर्न टोली खटिएको हो । टोलीले हुम्लाको सिमानामा पर्ने अन्य ७ वटा स्तम्भको भने स्थलगत अध्ययन गरेका थियो । १, २, ५, ६, ७, ८, ९, १० र १२ नम्बर सीमास्तम्भ अध्ययन गरिएको टोली प्रमुख आचार्यले बताए । उनका अनुसार यीमध्ये १२ नम्बर सीमास्तम्भ ५ हजार ४८ मिटरमा छ भने सबैभन्दा कम ९ नम्बर सीमास्तम्भ झन्डै ३६ सय मिटरको उचाइमा छ ।

२७ गते सिमकोट पुगेको टोली सिमकोटदेखि हल्जीसँग गाडीमा गएको थियो । अन्य ठाउँमा हिँड्नुपरेको थियो । १२ नम्बर सीमास्तम्भ अध्ययन गर्न बढी कठिन भएको टोलीले जनाएको छ । ‘त्यहाँ पुग्दा हावा लागिरहेको थियो, पानी पर्नेबित्तिकै हिउँ पर्न थाल्यो,’ संयोजक आचार्यले भने, ‘भूगोल पनि कठिन थियो ।’ उनका अनुसार समस्या भएको भनिएको सीमास्तम्भ पनि १२ नम्बर नै हो ।

टोलीले एक साताभित्रै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । गृहको टोलीले अध्ययन गर्न नसकेका सीमास्तम्भमा एक महिनाअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको थियो । प्रहरीले त्यहाँ समस्या नभएको जनाएको आचार्यले बताए । टोलीले अध्ययन गरिएका सबै सीमास्तम्भको भौगोलिक अवस्थिति र सामाजिक अवस्थाबारे तथ्यांक लिएको जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७८ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?