बर्दियामा विद्युतीय धरापमा परी तीन जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा विद्युतीय धरापमा परी तीन जनाको मृत्यु

कान्तिपुर संवाददाता

बर्दिया — बर्दियामा वन्यजन्तुबाट खेतबाली जोगाउन थापिएको विद्युतीय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका—३ गोदानास्थित राजबहादुर शाहीको खेतमा राखिएको विद्युतीय धरापमा परी सोही ठाउँका बालकृष्ण थारु, श्रीमती सुनिता र बालकृष्णकी भाउजू बेलमतियाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जनाए ।

शुक्रबार राति करिब ११ बजे माछा मार्न गएका तीनजना घर फर्कने क्रममा श्रीमती धरापमा परेकी थिइन् । अँध्यारोमा श्रीमती सुनिताको खोजी गर्दा श्रीमान् बालकृष्ण पनि धरापमा परेका थिए । त्यसलगत्तै भाउजू वेलमतियाको पनि धरापमा परी मृत्यु भएको सहायक संरक्षण अधिकृत थापाले बताए । घटनालगत्तै निकुञ्ज सुरक्षाका लागि खटिएका टोली घटनास्थल पुगेका थिए ।

उनीहरु तीनै जनाको विद्युतीय धरापमा परी मृत्यु भएको पुष्टि प्रहरी उपरीक्षक ईश्वर कार्कीले गरेका छन् । अनुसन्धानका लागि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक कार्कीले बताए । घटनास्थल मध्यवर्ती क्षेत्रबाहिर रहेको निकुञ्जले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्

रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च, ऋण नै १६ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले रोके काम
यसमा जनताको पसिना छ, हरेक बालुवा, गिट्टी, इँटामा उहाँहरुको योगदान छ, त्यसैले अब यसको दायित्व राज्यले लिनुपर्छ ।– सीताराम कट्टेल (धुर्मुस)
रीना मोक्तान

काठमाडौँ — गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ । प्यारापिट तयार भएर भीआईपी टावर बनाउन थालिएको छ । टावर ‘वान’ को पिलर उठाइसकेर बिम ढलान हुँदै छ । ८ वटा पिच बन्न बाँकी छन् ।

तर दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको छ । ‘एक वर्षमा ३५ प्रतिशत काम सकियो, पहिलो चरणको प्यारापिट निर्माण भयो, अब पिच बन्नेबित्तिकै जुनसुकै खेल खेलाउन मिल्ने अवस्था छ,’ फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘हामीले अहिलेसम्म उधारोमा काम गर्‍यौं । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामर्थ्यले धान्दैन भनेर रोकेका हौं ।’

२०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि त बढ्यो । तर, ६ महिनाभित्र तयार गर्ने भनिएको डीपीआर समयमा तयार हुन सकेन । प्राविधिक कारणले तीन महिना परियोजना रोकिन पुग्यो । डीपीआर बन्नै ८/१० महिना लाग्यो । प्रारम्भिक चरणमा बजेट थिएन । फाउन्डेसनको मौज्दात २ करोड ८६ लाख ३७ हजार ११ रुपैयाँ खर्च गर्ने निर्णयसँगै रंगशाला निर्माण अगाडि बढ्यो ।

२३ लाख लिटर पानी अट्ने क्षमताको ड्रेन बन्यो । विभिन्न आमा समूह र व्यक्तिले निर्माणाधीन क्षेत्रमै आएर रकम सहयोग गरे । संस्थागत हिसाबमा स्वदेश–विदेशदेखि रकम संकलन गरेर पठाउन थालेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण व्यवस्थापन समिति ऊर्जाशील बन्दै गयो । त्यसबीच धनधान्याचल महायज्ञ भयो । महायज्ञमा ६९ करोड ४५ लाख, ५६ हजार रकम बोलकबोल भयो । उनीहरू झनै उत्साहित भए । परियोजनाको घोषणा हुँदै गर्दा पनि ५/६ करोड रकम घोषणा भएको थियो । राज्यको उपस्थितिमा परियोजना घोषणा भएपछि धुर्मुसको टिमलाई लागेको थियो, ‘सबै पक्षले हातेमालो गरेको खण्डमा तोकिएको समयमै रंगशाला निर्माण हुन्छ ।’

विभिन्न व्यक्ति र संस्थाले रकम दिने घोषणा गर्दै थिए । सरकारले पनि सहयोग गर्ला भन्ने आशामा काम गर्दै जाँदा करिब १६ करोड रुपैयाँ उधारो भएसँगै हाल धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालाको काम रोकेको छ । अब त्यहाँ बनेका पूर्वाधार अलपत्र हुने पो हुन् कि भन्ने आशंका बढेको छ । कोरोना संक्रमणको महामारीले छोप्दा पनि नरोकिएको काम उधारोको दबाब थेग्न नसक्ने अवस्थामा पुगेपछि रोक्नुपरेको कट्टेलले बताए । ‘१/२ करोड भएको भए ल है भन्न सकिन्थ्यो, १५/१६ करोडको हाराहारीमा उधारोमा काम भइसकेपछि त निर्माण सामग्री जुटाउनै कठिन भयो,’ उनले भने, ‘दाताहरूले आफ्नो गच्छेअनुसार सहयोग गरिरहनुभयो तर अहिले २/४ लाख खर्चेर २/४ पिलर अगाडि बढाइहालौं भन्ने अवस्था रहेन, अब त करोडौं रकम खर्चेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’

आर्थिक अभावकै कारण रंगशालाको काम रोकिएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले सरकारलाई हारगुहार गरेका छन् । ‘नागरिकको अगुवाइमा ३५ प्रतिशत काम सकियो, अब यो अप्ठ्यारो परिस्थितिलाई सरकारले नहेरे कसले हेर्ने ? एकीकृत बस्ती विकासको अवधारणामा चारवटा बस्ती बन्यो । त्यो दायित्व पनि सरकारकै थियो । हामीले सरकारलाई सघाउन निजी क्षेत्रबाट ती काम गर्‍यौं,’ कट्टेलले भने, ‘अब रंगशालाको जग खन्नुपर्दैन, संरचना बन्न बाँकी हो । यसमा त जनताको पसिना छ । विदेशमा दुःख गर्ने नेपाली दाजुभाइ, दिदीबहिनीले पैसा पठाएर हामी यो अवस्थामा पुगेका छौं । हरेक बालुवा, गिट्टी, इँटामा उहाँहरूको योगदान छ । त्यसैले अब रंगशालामा राज्यको दायित्व रहन्छ । गर्नैपर्छ जस्तो लाग्छ ।’

आफूहरूले अर्थमन्त्री जनार्दन शर्मालाई प्रस्तावना बुझाइसकेको उनले बताए । राज्यले रंगशाला निर्माणको काम प्राथमिकतामा राखेर सहयोग गरेमा एक वर्षभित्र गौतम बुद्ध रंगशाला निर्माण गर्ने उनको दाबी छ । ‘हामी सरकारको निर्णय कुरिरहेका छौं, राज्यले नै बाँकी हिस्सा बेहोरिदियो भने दर्शकमा आह्वान गर्नॅ पर्दैन । कालान्तरमा त्यो सरकारकै सम्पत्ति हो । अहिलेलाई काम सुरु गर्न ५० करोड रुपैयाँ भयो भने संरचनाको काम सम्पन्न गर्न सक्थ्यौं भन्ने लाग्छ,’ उनले भने ।

परियोजनाको परिकल्पना

नेपालले सन् २०१८ मा एक दिवसीय मान्यता प्राप्त गर्‍यो । यस्तो ऐतिहासिक सफलता हासिल गर्दा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला चाहिन्छ भन्ने चौतर्फी आवाज उठ्यो । त्यसपछि धुर्मुसले फेसबुकमा ‘नमुना नेपाल कि क्रिकेट रंगशाला पहिला’ भनेर प्रश्न गर्दा शतप्रतिशतले क्रिकेट रंगशालाको माग गरेपछि उनीहरूले यो परियोजना अगाडि बढाउने निर्णय गरे । फेसबुकको प्रतिक्रियामै करोडौं रकम घोषणा भयो ।

राज्यले जग्गा उपलब्ध गराउँछ र स्रोत व्यवस्थापनको ग्यारेन्टी हुन्छ भने धुर्मुस–सुन्तलीले रंगशाला निर्माणको संयोजन गर्न सक्छन् भन्ने भएछ । रूपन्देही, मकवानपुर, पोखरा, ललितपुर, दाङ, काठमाडौं, विराटनगरलगायत धेरै ठाउँबाट जग्गा उपलब्ध गराउने भन्दै पत्राचार आयो । वाग्मती प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल, खेलकुदमन्त्री जगत विश्वकर्मालगायतसँग धेरै ठाउँमा जग्गा हेर्न पुगे धुर्मुस ।

‘सरकारको त्यस किसिमको उपस्थिति, शुभचिन्तकको सहयोग आश्वासन– सबैको साथ भयो भने ३ अर्ब त केही पनि होइन । सहयोगी दाता जोडिँदै जालान् भन्ने सोच पनि थियो,’ कट्टेलले सुनाए, ‘चितवन सबैका लागि केन्द्र पर्ने भयो । त्यसैले रंगशाला निर्माणका लागि चितवन रोजें ।’ अहिले परिस्थिति प्रतिकूल बनेको उनको भनाइ छ ।

यस्तो महत्त्वाकांक्षी परियोजनामा हात हालेकामा पछुतो छैन ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘सबै नागरिक रंगशाला निर्माण हाम्रो पनि दायित्व हो भनेर लागिपर्नु भयो, सरकारले यसलाई प्राथमिकतामा राख्यो भने यो सामान्य हो तर एक व्यक्ति र रकम हेर्ने हो भने महत्त्वाकांक्षी पनि हो । मैले त्यो हिसाबमा महत्त्वाकांक्षीका रूपमा त्यतिखेर हेरेको होइन ।’

घोषित रकम उठे मात्र पनि रंगशालाको संरचना बन्ने उनको भनाइ छ । ‘बन्नलाई केही आपत् छैन, हामी त्यस्तो अभावमा पनि यो चरणसम्म आइपुग्यौं भने अहिले उधारो रकम मात्रै भुक्तानी गर्न पाइयो भने पनि परियोजना चलाउन सकिन्छ । रंगशालाको पूर्वाधार निर्माण भइसकेको छ । काम रोकिँदा पूर्वाधार अलपत्र पर्ने अवस्थामा छ,’ उनले भने, ‘यो धुर्मुस–सुन्तलीको रंगशाला होइन, राष्ट्रको रंगशाला हो नि । व्यक्तिको रंगशाला सोचियो भने अलपत्रै हुन्छ होला तर यो सरकारको दायित्व हो भन्ने सोचेर सबै पक्ष मिलेर गरे भने अलपत्र हुँदैन । मलाई लाग्छ, अहिले काम रोकिएको हो । यसलाई निरन्तरता दिन सबै पक्ष लाग्नुपर्छ ।’

३ अर्ब ५५ करोडको अनुमानित लागतमा २० बिघा ६ कट्ठाको क्षेत्रफलमा बन्ने भनिएको रंगशालाका लागि अहिलेसम्म ३८ करोड ३४ लाख ३२ हजार ७ सय ४१ रुपैयाँ उठेको छ । परियोजनाको आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाले दिएको मासिक खर्च विवरणले अहिलेसम्म रंगशालामा ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च भइसकेको छ । १६ करोड २७ लाख ८८ हजार २ सय ७२ रुपैयाँ ऋण छ । महायज्ञमा ६९ करोड ४५ लाख ५६ हजार रकम कबोल भयो । तर ९ करोड २५ लाख ५९ हजार ९ सय ५ रुपैयाँ मात्रै उठेको छ । बोलकबोल रकम दिने हो भने रंगशाला निर्माणका लागि राहत मिल्नेछ । बोलकबोल रकम ६० करोड १९ लाख ९६ हजार ९५ रुपैयाँ उठ्न बाँकी छ । त्यस्तै अन्य तिर्नॅपर्ने दायित्व (व्यक्तिगत संघ संस्था ऋण सापटी) १९ करोड ५० लाख छ ।

कट्टेलले आफूहरू सरकारलाई सघाउन हिँडेको बताए । ‘सरकारले रंगशाला प्राथमिकतामा राखिदियोस्, अघिल्लो सरकारलाई हामीले धेरै हारगुहार गरेका छौं । हामी सघाउन हिँडेका हौं । कसैलाई चुनौती दिन खोजेका होइनौं, एउटा सेवकको हिसाबले हामीले काम गरिरहेका छौं,’ उनले भने, ‘काम रोकिनु भएन । हामी रोक्ने पक्षमा होइनौं ।’

तपाईंहरूले रंगशाला निर्माणको रकम दुरुपयोग गरेको भन्ने सुनिन्छ ? भन्ने प्रश्नमा उनले ती सबै निराधार आरोप भएको बताए । ‘यी कुरामा कहीँ पनि सत्यता छैन । यी आरोप मात्र हुन्,’ उनले भने । ‘हामीले २०७१ बाट जति पनि काम गरेका छौं, नितान्त स्वयंसेवक बनेर गरेका छौं । स्वयंसेवक भएर काम गर्दा के हो त आम्दानी भन्ने हुन्छ । हामी पेसाले कलाकार । बस्तीमा काम गरिरहँदा हामीले कार्यक्रममा सहभागी भएको कुरा ओझेलमा पर्‍यो । सामाजिक काममा होमिँदा विभिन्न प्रतिष्ठित कम्पनीले हामीलाई सद्भावना दूत नियुक्त गर्नुभयो । त्यो हाम्रो आम्दानीको स्रोत बन्यो,’ उनले स्पष्टीकरण दिए ।

बीचमा फिल्म बनाए पनि त्यसमा आफ्नो लगानी नरहेको उनले बताए । ‘रंगशालाबाट रकम उठाएर फिल्म बनाएको हो, घर चलाएको हो कि भन्ने भ्रम फैलियो । त्यो सत्य होइन । हामी फिल्मको निर्माण संयोजक मात्र हौं,’ उनले भने ।

प्रकाशित : आश्विन २, २०७८ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×