कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने डर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना भाइरसको नयाँ भेरिएन्ट भित्रिने डर

अतुल मिश्र

काठमाडौँ — गत जुलाईदेखि हालसम्म संकलित कोभिड–१९ का ९९ नमुना सिक्वेन्सिङ गर्दा ९७ वटामा डेल्टा भेरिएन्ट पुष्टि भयो । दुई नमुनामा वाइल्ड टाइप (चीनको वुहानमा देखिएको) को कोभिड देखियो । सेप्टेम्बर १५ मा ४८ नमुनाको जिन सिक्वेन्सिङबाट ४६ वटामा डेल्टा र दुई वटामा वाइल्ड देखिएको थियो । 

नेपालमा डेल्टा प्लससहित ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट तथा भेरिएन्ट अफ इन्टरेस्टका रूपमा कप्पा भेरिएन्ट (बी.१.६१७.१) पुष्टि भइसकेको छ । साउथ अफ्रिकन, ब्राजिलियन, कोलम्बियामा पाइएको नयाँ भेरिएन्ट भने नेपालमा पाइएको छैन । तर, मुलुकभित्रै नयाँ भेरिएन्ट विकसित हुन सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । सीमानाकामा भइरहेको लापरबाहीले नयाँ भेरिएन्ट भित्रिने डर बाँकी नै रहेको विज्ञहरूको भनाइ छ ।

उनीहरूले छिमेकी मुलुक वा नयाँ भेरिएन्टको उद्गम मुलुकबाट आउनेमाथि निरन्तर कडा निगरानी गर्न सुझावसमेत दिए । विमानस्थललगायत विभिन्न प्रवेश बिन्दुवाट भित्रने व्यक्तिलाई हेल्थ डेस्क राखिने र तिनको एन्टिजेन परीक्षणलाई प्राथमिकतासाथ जिनोमिक सिक्वेन्सिङ गरी हेर्ने तयारी थालिएको डा. पौडेलले बताए । ‘तत्काल डेल्टा र डेल्टा प्लसबाहेक अन्य भेरिएन्ट नथपिए पनि प्रवेश बिन्दुबाट त्यो खतरा छ,’ उनले भने ।

ग्लोबल इनिसिएटिभ अन सेयरिङ अल इन्फ्लुएन्जा डेटा (जीआईएसएआईडी) का अनुसार नेपालले हालसम्म २ सय ३२ नमुनाको सिक्वेन्सिङ गर्दा १ सय ९७ वटा विभिन्न भेरिएन्ट र ३३ वटा वाइल्ड टाइपको कोभिड देखिएको छ । भेरिएन्टमध्ये १ सय ८४ वटामा डेल्टा, ११ मा अल्फा र २ नमुनामा कप्पा भेरिएन्ट पाइएको हो । ‘हालसम्म २ सय ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा ८५ प्रतिशतमा भेरिएन्ट र १५ प्रतिशतमा वाइल्ड टाइपको कोभिड देखिएको छ,’ भाइरोलोजिस्ट एवं प्रदेश–२ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनवरीतिर कोलम्बियामा पाइएको ‘बी.१.६२१’ भेरिएन्टलाई पछिल्लो समय ग्रिक वर्णमालाका आधारमा ‘म्यु’ नाम दिएको छ । यसलाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’ का सूचीमा समेत सामेल गरिएको छ । यो भेरिएन्टको म्युटेसन (जिनसम्बन्धी परिवर्तन) ले कोभिडविरुद्घको खोपको असर कम गर्न सक्ने डब्लूएचओले जनाएको छ । ‘शरीरमा भाइरसविरुद्घ बनेको इम्युनिटी (प्रतिरोधक क्षमता) लाई यो भेरिएन्टले छल्न सक्छ,’ डा. मिश्रले भने, ‘दक्षिण अफ्रिकामा पाइएको ‘सी.१.२’ ले पनि इम्युनिटीलाई छलेको पाइएको छ ।’ यसखालका भेरिएन्टले खोपको प्रभावकारितालाई समेत जित्ने उनको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नयाँ भेरिएन्ट भित्रन नदिन सीमामा कडाइका साथ सतर्कता अपनाउनुपर्ने बताइन् । ‘बोर्डर र नाकाबाट मुलुक भित्रिनेहरूको निरन्तर कोभिड स्क्रिनिङ अत्यावश्यक छ,’ उनले भनिन्, ‘पछिल्ला दिनमा हामी सिक्वेन्सिङ बढाउने योजनामा छौं ।’ नेपालमा कोभिडको दोस्रो लहरका लागि डेल्टा भेरिएन्टलाई जिम्मेवार मानिएको छ । डब्लूएचओले यसैसाता जारी गरेको विवरणअनुसार हालसम्म १ सय ९३ मुलुकमा अल्फा भेरिएन्ट, १ सय ४२ मुलुकमा बिटा, ९६ मुलुकमा गामा र १ सय ८० मुलुकमा डेल्टा देखिएको छ । चारै भेरिएन्टलाई डब्लूएचओले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । म्युलगायत इटा, आयोटा, कप्पा, ल्याम्ब्डा भेरिएन्ट अफ इन्टरेस्टको सूचीमा छन् ।

विभिन्न नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा विश्वमै सबैभन्दा बढी डेल्टा भेरिएन्ट देखिएको छ । नेपालमा समेत अहिले करिब सबै नमुनामा डेल्टा देखिएको छ । जीआईएसएआईडीका अनुसार ३५ लाख ६७ हजार ९ सय ८ नमुनामा जिनोमिक सिक्वेन्सिङ गरिएको छ । यसअन्तर्गत ११ लाख ५१ हजार ४ सय ५७ नमुनामा डेल्टा देखिएको हो ।

प्रकाशित : आश्विन २, २०७८ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्

अझै बनेन निपा संक्रमित उपचार केन्द्र

अतुल मिश्र

काठमाडौँ — निपा भाइरस संक्रमितको सहज उपचारका लागि हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टर आवश्यक पर्छ । विज्ञहरूले तीन वर्षअघि नै निपा भाइरसजस्ता अत्यन्त घातक संक्रमणको उपचारका लागि आवश्यक संरचना नभएको भन्दै हेपा फिल्टरसहितको अत्याधुनिक आइसोलेसन सेन्टरको आवश्यकता औंल्याएका थिए । 

भारतीय राज्य केरलको कोझिकोड जिल्लामा गत आइतबार निपा संक्रमणका कारण १२ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका १ सय १८ स्वास्थ्य निकायलाई पत्र पठाएको छ । पत्रमा भाइरसका शंकास्पद लक्षण देखिएका व्यक्तिमा थप परीक्षण गर्न सतर्क गराएपछि हेपा फिल्टरसहितको आइसोलेसन सेन्टरको आवश्यकताबारे बहस सुरु भएको हो ।

सन् २०१८ को जुनमा केरलकै कोझिकोड र मलप्पुर जिल्लामा निपा भाइरसको संक्रमणका कारण १८ जनाको मृत्यु भएको थियो । त्यतिबेला नै विज्ञहरूले नेपालमा पनि निपा संक्रमणको केस पहिचान भएको तर अत्याधुनिक आइसोलेसन वार्ड नहुँदा उपचार कठिन भएको बताएका थिए । ‘निपाको केस पहिचान भइहालेको खण्डमा पनि त्यसलाई ह्यान्डल गर्न हामीसँग क्षमता छैन,’ डा.केदारप्रसाद सेन्चुरीले त्यतिबेला नै बताएका थिए । डा.सेन्चुरीले अत्याधुनिक आइसोलेसन सेन्टरको आवश्यकता औंल्याएको तीन वर्ष बितिसक्दा पनि कुनै प्रगति भएको छैन ।

भारतमा देखियो निपा भाइरस, कति जोखिममा नेपाल ?

ईडीसीडीका निर्देशक डा.कृष्णप्रसाद पौडेल भने नेपालमा भाइरसको जोखिम रहेको भए पनि उपचारका लागि आवश्यक व्यवस्थापन गर्न सकिने दाबी गर्छन् । ‘उपचारका लागि छुट्टै बेड छैन, तर आवश्यक परे व्यवस्थापन गर्न सक्छौं,’ उनले भने । भाइरसको उपचारका लागि भने हेपा फिल्टरसहितको आइसोलेसन हुनुपर्ने उनको भनाइ छ ।

संक्रमण फैलन सक्ने निपा, सार्स, कोभिड वा अन्य कुनै प्रकारका सरुवा रोग उपचारका लागि प्रयोगमा आउन सक्ने स्वास्थ्य पूर्वाधार निर्माण गर्नुपर्ने पौडेल बताउँछन् । त्यस्तै, सातवटै प्रदेशमा बन्न लागेका संक्रामक अस्पतालको पूर्वाधार संक्रामक रोग लक्षित हुनुपर्ने उनको सुझाव छ । विश्व स्वास्थ्य संगठनका अनुसार सिलिगुडीमा दुई दशकअघि देखिएको निपा संक्रमणको मृत्यु दर ६८ प्रतिशत थियो । भाइरसविरुद्ध हालसम्म कुनै खोप विकास हुन सकेको छैन ।

के हो निपा भाइरस ?

निपा भाइरस जनावरबाट मानिस फैलिने संक्रमण हो । फलफूल खाने चमेरो भाइरसको प्राकृतिक वाहक मानिन्छ । फलफूलमा बस्ने त्यस्तो चमेरो नेपालका तराई क्षेत्रमा पाइने डा. पौडेल बताउँछन् । डब्लूएचओका अनुसार यो भाइरस दूषित भोजनको माध्यमले वा सीधै एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । डब्लूएचओका अनुसार सन् १९९८ मा मलेसियाको काम्पुंग सुगइमा पहिलोपटक निपा भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यतिबेला यो रोग संक्रमित सुँगरको कारण किसानमा फैलिएको जनाइएको थियो ।

निपा संक्रमितमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, मांसपेसी दुख्ने तथा घाँटी दुख्नेलगायतका लक्षण देखिन्छ । डब्लूएचओका अनुसार त्यसपछि चक्कर आउने, स्मरण शक्तिमा समस्या हुने र इन्सेफलाइटिसको संकेत गर्ने स्नायुसम्बन्धी समस्याहरू देखिन थाल्छन् । केही संक्रमितमा असामान्य निमोनिया र श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्यासमेत हुन सक्छ 

प्रकाशित : भाद्र २९, २०७८ ०७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×