१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई शनिबार स्वदेश ल्याइने

काठमाडौँ — अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई शनिबार उद्धार गरेर स्वदेश ल्याइने भएको छ । अफगानिस्तानको अवस्था अझै सहज नभएपछि त्यहाँ रहेका बाँकी नेपालीलाई ल्याउन लागिएको हो । गैरकानुनी रूपमा अफगानिस्तान छिरेकाले उनीहरूसँग आवश्यक कागजपत्रसमेत छैन । उनीहरूलाई फर्काउन नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ ।

अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई शनिबार स्वदेश ल्याइने

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार नेपाली टोलीले शनिबार बिहान १० बजे काबुल छाड्नेछ । आफगानिस्तानबाट उड्ने चार्टर विमानमा संयुक्त राष्ट्रसंघ (यूएन) र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि सँगै आउने उनले प्रस्ट पारे । अलपत्र नेपालीलाई काबुलमा यूएनको सहयोगमा सुरक्षित रूपमा राखिएको छ ।

अमेरिकी सेनाले २० वर्षपछि अगस्ट ३० मा अफगानिस्तान छाडेपछि त्यहाँ नेपालीसहित विदेशी नागरिकको सुरक्षालाई लिएर प्रश्न उठिरहेको छ । सरकारले अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरेको थियो । तर, हाल करिब एक हजार नेपाली रहेको देखिन्छ । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ९ सय ४० नेपालीको उद्धार भइसकेको छ । यसबाहेक अफगानिस्तानमा अलपत्र परेका थप नेपाली भने हालसम्म भेटिएका छैनन् ।

दिल्ली दूतावासले यसअघि अफगानिस्तानमा रहेका नेपाली खोज्न त्यहीं रहेका नेपालीलाई नै जिम्मेवारी दिएको थियो । जसले गर्दा दूतावासलाई त्यहाँ रहेका सम्पूर्ण नेपालीको अवस्थाबारे थाहा पाउन सहज भएको थियो । दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानलाई समेत हेर्ने भए पनि कूटनीतिक कर्मचारीले काबुल नटेकेको करिब ४ वर्ष भइसकेको छ ।


प्रकाशित : आश्विन १, २०७८ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?