खेतबारी र चरन छिचोल्दै गणक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेतबारी र चरन छिचोल्दै गणक

निर्देशिकाले जनगणनाको विवरण घरघरमा पुगेर लिनुपर्ने उल्लेख गरे पनि वर्षा बित्न लागेको समय भएकाले परिवारका मुलीहरू भेटिन्छन् खेतबारीमा
गणेश राई

काठमाडौँ — झापाका सुपरिवेक्षक उज्ज्वल प्रकाश खतिवडाले शुक्रबार बिहान गौरीगन्ज–२ तल्लो लालमाटी नेपाल र भारत सीमानामै पुगेर जनगणनाको पहिलो लगत भरेका छन् । महत्त्वपूर्ण सीमास्तम्भ ‘नेपाल १४०/१५’ छेउमै बसेर फोटो खिचाएका छन् ।

सुपरिवेक्षक खतिवडा गौरीगन्ज–२ तुलाचन टोलका हुन् । उनी राष्ट्रिय जनगणनाको पहिलो चरण घर तथा घरपरिवार सूचीकरण कार्यमा तीन दिनदेखि निरन्तर यसरी घरदैलोमा खटिँदै छन् । ‘तल्लो लालमाटीमा ४ घर सन्थाल समुदायको घर छ, जुन टोल भारतको सिमानामा जोडिन्छ,’ खतिवडाले भने, ‘बिहान सखारै खाना खाएर सन्थाल परिवारको लगत भर्दै गएँ । तर एक परिवारका मुली भैंसी लिएर कमल खोलातिर गएछन् । सोधीखोजी गर्दै जाँदा राँगालाई नुहाइदिँदै भेटें । छेउमै सीमास्तम्भ पनि रहेछ । त्यही बसेर सोधपुछ गर्दै सर्वेक्षण फारम भरें ।’

खतिवडाले त्रिवि वातावरण विज्ञान केन्द्रीय विभाग कीर्तिपुरबाट भरखरै स्नातकोत्तर पूरा गरेका छन् । पढ्दै गर्दा काठमाडौंबाट सुपरिवेक्षक फाराम अनलाइनबाट भरेको उनले सुनाए । ‘ऐतिहासिक जनगणनामा सुपरिवेक्षकमा छानिएर आफ्नै गाउँमा काम गर्ने मौका पाउँदा खुसी लागेको छ,’ दुई चरणमा सुपरिवेक्षक तालिम लिएको सुनाउँदै खतिवडाले भने, ‘घरघरमा पुग्दा काममा गइसकेका हुन्छन् । खेतबारीमा काम गर्दै गरेका ठाउँमा पुगेर सोधीबुझी फाराम भर्ने र फर्केर जनगणना लिएको संकेत दिन त्यस घरमा देखिने गरी नम्बर दिने गरेको छु । गाउँघरमा जनगणनाबारे त्यत्ति धेरै थाहा रहेनछ । कात्तिकमा फेरि गणक आउँछन् र त्यतिखेर धेरै कुरा सोध्नु हुन्छ बताइदिनोस् भनेको छु ।’

सुपरिवेक्षक खतिवडाले तीन दिनमा ९० घरको लगत लिइसकेको जनाए । अब सत्र दिनभित्र एक हजार घर भ्याइसक्नु पर्नेछ । उनलाई भाग लगाइएको वडा क्षेत्रमा के कति वटा र कस्ता किसिमका घर तथा घरपरिवार छन् भन्नेबारे जानकारी नरहेको उनले बताए । गाई, भैंसी, बाख्रा, कुखुरा, हाँसजस्ता पशुपंक्षी संख्या कति छन् । जग्गाजमिन, बैंक खाता छ/छैन सोध्ने छन् ।

काठमाडौंपछि ठूलो जिल्ला झापा हो । त्यहाँ दुईवटा जिल्ला जनगणना कार्यालय राखिएका छन् भने देशैभरि सात प्रदेशसहित ८७ कार्यालय छन् । झापाका सुपरिवेक्षक खतिवडा एक उदाहरणमात्र हुन् । यतिखेर ८ हजार ५ सय सुपरिवेक्षक खटिरहेका छन् । प्रत्येक सुपरिवेक्षकलाई झोला, छाता, टर्च लाइट, क्याप, घरपरिवार सूचीकरण प्रश्नावली, डटपेन, मार्कर दिइएका छन् । असोज १८ गतेभित्र सर्वेक्षण कार्य पूरा हुनेछ ।

केन्द्रीय तथ्यांक विभागको निर्देशिकाअनुसार प्रत्येक परिवारलाई घरमै भेट्ने उल्लेख छ । विभागका निर्देशक ढुण्डिराज लामिछानेले घर तथा घरपरिवार सूचीकरण कार्य व्यवहारिक रूपमा खेतीकिसानी गर्ने समय भएकाले कुनै परिवारका मुलीलाई घरवरिपरि मेलापातमा भेटेर जानकारी लिनु अन्यथा नरहेको बताए । ‘तर मान्छे नभेटी अनुमानमा लेख्ने वा चौतारीमा सामूहिक भेटेर लेख्नचाहिँ कानुनविपरीत हो,’ निर्देशक लामिछानेले भने, ‘र, मूल जनगणनाको बेलाचाहिँ प्रत्येक घरको परिवारमुलीलाई घरमै भेटेर विवरण लिनु पर्ने हुन्छ ।’

‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित १२औं राष्ट्रिय जनगणनाको पहिलो चरण यही असोज १८ गतेभित्र सम्पन्न हुनेछ । त्यसलगत्तै ३९ हजार गणक नियुक्त गरी तालिम दिइने छ । त्यससपछि कात्तिक २५ गतेबाट मंसिर ९ गते देशभरि एक साथ मूल जनगणना हुनेछ । उक्त कार्यमा सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा सामुदायिक प्रश्नावली सोध्ने छन् भने गणकले प्रत्येक घरमा पुगेर ‘मूल प्रश्नावली’ सोधेर भर्ने छन् ।

प्रकाशित : आश्विन १, २०७८ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्

त्रिवि पुस्तकालयलाई एक लाखको पुस्तक उपहार

३ हजारभन्दा बढी ऐतिहासिक मूर्तिकलाका स्रोत र विवरण खुलाइएको पुस्तकमा ९० प्रतिशत उपत्यकाकै सम्पदा
गणेश राई

काठमाडौँ — झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ । तर, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले झन्डै एक लाख मोलको पुस्तक यसै साता उपहारमा पाएको छ । लेखक उल्रिच भोन स्क्रोइडरले नै पुस्तकालयलाई यस्तो महँगो दुई सेट पुस्तक उपहारमा दिएका हुन् ।

स्विट्जरल्यान्डका ७८ वर्षीय उल्‍रिच भोन स्क्रोडर आफ्नो ५० वर्ष लामो अन्वेषण संग्रह देखाउँदै । तस्बिर : अंगद ढकाल/कान्तिपुर

पुस्तक हो– ‘नेप्लिज स्टोन स्कल्प्चर्स’ (नेपालको प्रस्तर मूर्तिकलाहरू) । स्क्रोइडरद्वारा लिखित पुस्तक ‘हिन्दु’ (हिन्दु मूर्तिकला) र ‘बुद्धिस्ट’ (बौद्ध मूर्तिकला) गरी दुई भागमा प्रकाशित छ । स्विडेनको भिजुअल ड्रामा पब्लिकेसन्सले छापेको पुस्तकको मूल्य ८ सय अमेरिकी डलर राखिएको छ । पुस्तकालयमा संगृहीत पुस्तकमध्ये यो नै सबैभन्दा बढी मूल्यको हो ।

पुस्तकालयले अहिलेसम्म एउटा पुस्तक बढीमा ३० हजार रुपैयाँसम्म मूल्यमा किनेको प्रमुख पूर्णलाल श्रेष्ठले बताए । ‘नेपालको ऐतिहासिक, पुरातात्त्विक महत्त्वका प्रस्तर मूर्तिकलाहरू समेटेर लेखिएको पुस्तक अहिलेसम्मकै बृहत् पुस्तक यही नै हो,’ उनले भने, ‘देशको मूर्तिकला सम्पदा अध्ययन गर्नेका लागि यो ज्यादै महत्त्वपूर्ण छ । मूल्य सुन्दै अत्यासलाग्दो छ, धन्न उपहारमा पाइयो ।’ इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागलाई पनि लेखकले प्रतिनिधिमार्फत उक्त पुस्तकको सेट उपलब्ध गराएका छन् । राष्ट्रिय पुस्तकालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, राष्ट्रिय अभिलेखालय, हनुमानढोका दरबार हेरचाह अड्डा र पाटन संग्रहालयले पनि उपहारस्वरूप पुस्तक पाएका छन् ।

‘१५ हजार मूर्तिका तस्बिर नेपाललाई उपहार’

पुस्तकभित्र तीन हजारभन्दा बढी ऐतिहासिक तथा पुरातात्त्विक मूर्तिकलाका तस्बिर छन्, तिनको आधिकारिक स्रोत र विवरण पनि खुलाइएको छ । श्रेष्ठका अनुसार तीमध्ये ९० प्रतिशत काठमाडौं उपत्यकाकै मूर्तिकलासम्बन्धी छन् । एक सेट संग्रह गर्ने र अर्को सेट सर्वसाधारण र अनुसन्धाताका लागि उपलब्ध गराउने पुस्तकालयको योजना छ । लेखकले पुस्तकका अतिरिक्त पुस्तकमा समेट्न नसकिएका विभिन्न मूर्तिका १५ हजार डिजिटल तस्बिरको संग्रहसमेत पुस्तकालयलाई दिएका छन् ।

‘नेप्लिज स्टोन स्कल्प्चर्स’ पुस्तकलाई नै आधार बनाएर नेपालबाट चोरी भएर बिदेसिएका मूर्ति नेपाल फर्काउने प्रयास पनि सुरु भएको छ । यही पुस्तकमा समावेश तस्बिर र विवरणको आधारमा नेपालबाट चोरी भएको प्रमाणित भएपछि हालैमात्र एउटा मूर्ति अमेरिकाबाट फिर्ता आएको छ । उक्त मूर्ति अहिले स्वयम्भूमा राखिएको श्रेष्ठले जनाए ।

लेखक स्क्रोइडर सन् १९६५ मा पहिलोपटक नेपाल आएका थिए । यहाँ रहँदा उनले मूर्तिकलाको अध्ययन, अनुसन्धान गरेका थिए । छ महिनाअघि पुस्तक लिएर ७८ वर्षीय स्क्रोइडर आफैं नेपाल आएको र केही संस्थालाई पुस्तक उपहार दिएको फोटोग्राफर सुनील डंगोलले बताए । ‘वर्षौंदेखि नेपालको मूर्तिकला अध्ययन गर्नुभयो तर फोटोग्राफी राम्रो नभएपछि पुस्तक प्रकाशनमा ल्याउन सक्नुभएको थिएन,’ पुरातत्त्वसम्बन्धी फोटोग्राफर डंगोलले भने, ‘उहाँले लिनुभएको फोटो क्वालिटी राम्रो थिएन । मैले करिब १० वर्षदेखि गुणस्तरीय फोटो उपलब्ध गराएपछि उत्साहित भएर पुस्तक प्रकाशनमा ल्याउनुभएको हो ।’

केन्द्रीय पुस्तकालयमा ४ लाख २० हजार किसिमका पुस्तक तथा पत्रिका (बाउन्ड भोलुम) छन् । पुस्तकालयकी सहप्रशासक इन्दिरा घिमिरे (कोइराला) का अनुसार पुस्तकालयमा मूर्तिकलासम्बन्धी १ सय ५० शीर्षकका पुस्तक छन् । तीमध्ये लैनसिंह वाङ्देलको ‘मूर्तिकला पुस्तक’ निकै चर्चित छ । त्रिवि इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. प्रेमकुमार खत्रीका अनुसार नेपालको मूर्तिकलाको इतिहास इसापूर्व दोस्रो शताब्दीयताका प्रमाण फेला परेका छन् ।

‘हाँडीगाउँमा फेला परेको जयबर्माको मूर्ति दोस्रो शताब्दीको मानिएको छ,’ उनले भने, ‘तेस्रो र चौथो शताब्दीमा किरातकालीन मूर्तिकला प्रारम्भ भएको हो । त्यसको उदाहरण पशुपतिनाथ परिसरमा विरुपाक्षको मूर्तिलाई लिइएको छ । त्यतिखेर हिन्दु वा बौद्धको मूर्तिकला सुरु भएकै थिएन ।’ लेखक स्क्रेइडरले लिच्छविकालपछिको मूर्तिकलाको अध्ययन गरेको उनले जनाए ।

प्रकाशित : भाद्र ३१, २०७८ १०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×