काठमाडौंमा कांग्रेसको वडा अधिवेशन असोज ५ मा- समाचार - कान्तिपुर समाचार

काठमाडौंमा कांग्रेसको वडा अधिवेशन असोज ५ मा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले काठमाडौंमा ५ असोजमै वडा अधिवेशन गर्ने भएको छ । निर्वाचन अधिकृत नरहरि आचार्यले शुक्रबार कार्यालय स्थापना गरी वडा अधिवेशनबारे क्षेत्रीय सभापतिहरुसँग छलफलसमेत गरेका छन् । छलफलले ५ असोजमै सबै वडामा अधिवेशन गर्ने सहमति जुटाएको छ ।

निर्वाचन अधिकृत आचार्यले एक महानगरपालिकासहित १० स्थानीय तहका एक सय ३१ वटै वडामा मतदान अधिकृतहरु खटाउने तयारी गरिएको बताए । ‘शिक्षक र लयर्स एसोसिएसनका साथीहरुको सूची बन्दैछ । शनिबारसम्म हामी मतदान अधिकृतहरुको टुंगो लगाउँछौँ, अहिलेको तयारीका आधारमा सबै वडामा ५ असोजमै अधिवेशन हुन्छ,’ निर्वाचन अधिकृत आचार्यले भने ।

जिल्ला सभापति सबुज बानियाँसहित दस वटै क्षेत्रीय सभापतिहरु सहितको बैठकले ५ असोजमै वडा अधिवेशन गर्ने निर्णय गरेको काठमाडौं कांग्रेसका नेता युपी लामिछानेले बताए । उनका अनुसार काठमाडौंमा करिब २० हजार क्रियाशील सदस्य छन् । वडा अधिवेशनमा क्रियाशील सदस्य नै मतदाता हुन्छन् ।

कांग्रेसले १८ भदौमै वडा अधिवेशनको मिति तोकेको थियो । तर, क्रियाशील सदस्यताको टुंगो नलागेका कारण त्यस्ता जिल्लामा वडा अधिवेशनको मिति ५ असोजका लागि तोकिएको छ । तर अझै पनि १३ जिल्लाको क्रियाशील सदस्यताको विषयमा भने टुंगिएको छैन ।

प्रकाशित : आश्विन १, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

ललितपुरमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

कान्तिपुर संवाददाता

ललितपुर — बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घरभई मध्यपुर थिमि नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठ रहेका छन् । 

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७८ असार २९ गतेको फैसलाले १० दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका श्रेष्ठलाई शुक्रबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो । श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झूक्याई सेन्चुरी बैंकको चेक दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित : आश्विन १, २०७८ १७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×