भासिँदै राजमार्ग

रमेशकुमार पौडेल

चितवन — दाङका गुप्तप्रसाद चौधरी प्रदेश–३–०१–००६६–११६४ नम्बरको मालबाहक ट्रक चलाउँछन् । सामान बोकेरै उनी तराईका नेपालगन्ज, धनगढी, भैरहवा, वीरगन्जबाट आठ वर्षयता काठमाडौं आउजाउ गरिरहेका छन् । पहिलो साँघुरो रहेको नारायणगढ–मुग्लिन सडक फराकिलो बनाइएको छ ।

भासिँदै राजमार्ग

‘खै के बनाउँछन् बनाउँछन्, बाटो पनि । चौडा त भयो तर बर्खा लागेपछि पहिलेकै जस्तो पिरलो छ,’ उनले गुनासो गरे, ‘पहिरो गएर घन्टौं बाटो थुनिन्छ । ठाउँठाउँमा सडक नदीतर्फ भासिएको देख्दा हिँड्नै डर लाग्छ ।’

नारायणगढ–मुग्लिन सडकको १४ किलोमा पहराबाट पानीको धारा छुटेको छ । यहाँको खण्ड त्रिशूली नदीतर्फ भासिएको छ । भदौ ११ गते बिहान उक्त ठाउँमा ५० मिटरजति सडक नदीतर्फ खसेको हो । सोही दिन पृथ्वी राजमार्गको फिस्लिङ नजिक पनि सडक नदीतर्फ भासियो । साउन मसान्तमा जवाङ खोलामा यस्तै समस्या आयो ।

संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने भरपर्दो नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा बर्खायाममा पहिरोको पिरलो त छदै थियो त्रिशूली नदीतर्फ सडक भासिने समस्या पनि थपिएको छ । तीन वर्षअघि भासिएको ठाउँ मर्मत गरेर नभ्याउँदै यो पटक नारायणगढ–मुग्लिन सडकमा थप एक ठाउँ त्यस्तै समस्या दोहरियो । यस्तो समस्या पृथ्वी राजमार्गमा पनि सुरु भएको छ ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेन फराकिलो बनाउने काम तीन वर्षअघि सकिएको हो । पहिला ६ मिटरभन्दा पनि कम चौडाइको यो सडक विस्तारपछि ९ देखि ११ मिटरसम्म फराकिलो भएको छ । सडक फराकिलो भए पनि गुप्तप्रसादजस्ता गाडी चालकले अनेकौ सास्ती बेहार्ने क्रम रोकिएको छैन । सडक फराकिलो बनाउन पहाड काटेको ठाउँमा पहिरोको दुःख थपियो । सडक भासिने क्रम बढ्दो छ ।

यो सडक खण्डको काम २०७५ जेठ १६ मा सकिएको थियो । काम पूरा हुन नपाउँदै सोही वर्षको असार दोस्रो साता भतेरी र १७ किलोमा सडक चिरा परेर भाँसियो । भतेरीको भाँसिएको सडक सम्बन्धित निर्माण कम्पनीले मर्मत गरे पनि १७ किलोमा त्रिशूली नदीतर्फ भाँसिएको सडक मर्मत भएन । एकतर्फी गाडी नै चल्न गाह्रो हुन थालेपछि गत वर्ष पुसमा एक वर्षभित्र काम सक्ने गरी बज्र गुरु रायमाझी जेभीले १३ करोड लागतमा मर्मतको ठेक्का लिएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । यहाँ तल्लो खण्डको काम लगभग पूरा भएर कालोपत्र गर्न बाँकी छ ।

नारायणगढदेखि २६ किमि पर पनि एक सय मिटर सडक सोही बेला नै चर्केर भासिएको हो । यहाँ पनि मर्मतको काम थालिएको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

पुराना समस्या समाधान नहुँदै १४ किलोमा फेरि सडक भाँसिएको हो । उक्त ठाउँलाई छेकबार गरेर अहिले जोखिमका साथ गाडी पार हुने गरेका छन् । ‘डिभिजन सडक कार्यालयले ठूलो खर्चको काम तत्काल गर्दैन । १४ किलोमा जुन समस्या छ त्यहाँ अहिले गाडी चल्न कुनै अवरोध नहोस् भन्ने उपाय लगाएका छौं,’ इन्जिनियर खनालले भने, ‘मर्मतका लागि सडक विभागले अध्ययन टोली खटाएर यो बर्खापछि एउटा निर्णय लिनेछ ।’ सिमलतालमा समेत जोखिम रहेको उनको भनाइ छ ।

नदी किनारतर्फ सडक भासिने समस्या मुग्लिन कटेपछि पृथ्वी राजमार्गमा पनि बर्सेनि देखा परिरहेको छ । मुग्लिनदेखि तीन किलोमिटर पर घोप्टेभीरमा परेका चिरा फैलिन थालेको इन्जिनियर खनालले बताए ।

प्रकाशित : आश्विन १, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?