कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संखुवासभा सामूहिक हत्याकाण्ड :  मृतकको मोबाइल आरोपितको घरमा

आरोपित लोकबहादुरका भाइमाथि प्रहरीको निगरानी
दीपेन्द्र शाक्य

संखुवासभा — मादी नगरपालिका–१ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या घटनामा हराइरहेको मृतक रञ्जना कार्कीको मोबाइल प्रहरीले फेला पारेको छ । हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीको घरबाट बिहीबार मोबाइल भेटिएको हो ।

संखुवासभा सामूहिक हत्याकाण्ड :  मृतकको मोबाइल आरोपितको घरमा

मोबाइल लोकबहादुर या अन्यले लुकाएको बारे अनुसन्धान थालिएको डीएसपी लालध्वज सुवेदीले बताए । ‘अभियुक्तको घरबाटै मोबाइल फेला परेपछि यसलाई अर्को प्रमाणको रूपमा लिएर अनुसन्धान गरिरहेका छौं,’ उनले भने । फोन बरामद भएपछि लोकबहादुरका भाइ नरेशलाई शंकाको घेरामा राखी सोधपुछ गरिएको उनले बताए । ‘हत्यामा नरेशको पनि संलग्नता भए/नभएको बारे खुलिसकेको छैन,’ उनले भने, ‘अहिले पक्राउ वा नियन्त्रणमा लिइसकेको अवस्था होइन ।’

कार्की परिवारकी बुहारी रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि हराएको थियो । स्विच अफ भएकाले फाल्न सकिने सम्भावित ठाउँमा पनि प्रहरीले खोजी गरेको थियो । प्रहरीले लोकबहादुरलाई मुख्य अभियुक्तको रूपमा सार्वजनिक गरिसकेको छ । उनले हत्या गर्दा लगाएको कपडा पनि प्रहरीले बरामद गरेको छ । हत्या गर्न चिर्पट प्रयोग गरेको उनले स्विकारेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी निरीक्षक योगराज खतिवडाको नेतृत्वमा १० जना प्रहरी अनुसन्धानमा खटिएका छन् ।

सोमबार बिहान तेजबहादुर कार्की, उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमाको शव फेला परेको थियो । अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बीसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रुगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित : आश्विन १, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?