कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१
ठेकेदारको लापरबाही

२.५ किमि सडक ५ वर्षमा पनि अपूरै

ललितपुरको ढोलाहिटी–सुनाकोठी सडकमा माघमा सकिएको कालोपत्र जेठमै भत्कियो तर सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष दाहालका घरबेटी ठेकेदारलाई कारबाही गरिएको छैन
अधिकार हुन्थ्यो र निर्माण व्यवसायीका फाइलमा सही चल्थ्यो भने हामीलाई दुःख दिएजत्तिकै दुःख तिनीहरुलाई पनि दिने थिएँ  ।– बाबुराज महर्जन, ललितपुर–२७ वडाध्यक्ष
घाम लाग्नासाथ काम सुरू हुन्छ तर स्थानीयले रोलर चलाउन नदिँदा समस्या दोहोरिन सक्छ ।– शारदाप्रसाद अधिकारी- प्रमुख, शैलुङ कन्स्ट्रक्सन
विमल खतिवडा

काठमाडौँ — सडकछेउमै घर छ । सडक धुलाम्मे वा हिलाम्मे जेसुकै होस्, घरभित्र धूलो–हिलो पसिहाल्छ । ‘हिलो र धूलो जे भए पनि समस्या नखेपेको दिन छैन । घरबाहिर त बस्नै सकिँदैन,’ ललितपुर महानगरपालिका–२७ सुनाकोठीकी सम्झना डंगोलले दुखेसो सुनाइन् । उनका अनुसार गत माघदेखि चैत्रसम्ममा सडक कालोपत्र गरियो तर कालोपत्र ४ महिना पनि टिकेन ।

२.५ किमि सडक ५ वर्षमा पनि अपूरै

ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर–सरस्वतीकुण्ड सडकका खाल्डा देखाउँदै डंगोलले भनिन्, ‘सडक पिच भएपछि धूलो र हिलोबाट मुक्ति पाइएला भनेर खुसी थियौं । अहिले त सडक झन् बिग्रियो ।’

सडकमा बाक्लै खाल्डाखुल्डी छन् । वर्षात्का बेला ती सबै पानीले भरिन्छन् । घाम लाग्दा कुइरीमण्डल हुने गरी धूलो उड्छ । सडकमा सवारीसाधनको आवागमन बाक्लै हुन्छ । सडकछेउका घरहरूका भित्ताको रङ धूलोले छोपिएको छ । ग्राहकले देख्ने गरी राख्नुपर्ने पसलका सामान प्लास्टिक वा कपडाले ढाकेर राख्नुपर्ने बाध्यता बिक्रेतालाई छ । धूलो र हिलोबाट जोगिएर पसलसम्म पुग्न ग्राहकलाई पनि सकस छ । सडकको दूरवस्थाका कारण घरबाट बाहिर निस्कनै नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको सुनाकोठीकी दिलमाया महर्जनले बताइन् । ‘झ्याल खोल्न हुँदैन, धूलो भित्र पसिहाल्छ । छत, बार्दलीमा लुगा सुकाउन पाइँदैन । बिस्कुन पनि सुकाउन पाइएन,’ उनले भनिन् । धूलोकै कारण खोकी लाग्ने, घाँटी दुख्नेलगायत समस्या बढेको उनले सुनाइन् ।

ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर हुँदै सरस्वतीकुण्ड पुग्ने ९ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । दुई खण्डको ठेक्का पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले लिएको हो । २०७४ साउन १६ मा ठेक्का सम्झौता भएकामा म्याद सकिसकेको छ । पहिलो खण्ड ढोलाहिटीदेखि सुनाकोठीसम्मको दूरी ३.२ किमि छ । जसमध्ये २.५ किमि खण्ड ललितपुर–२७ मा र बाँकी खण्ड गोदावरी नगरपालिका–१२ मा पर्छ । अहिले धेरै समस्या यही २.५ किमि खण्डमा छ । जसको ठेक्का २०७५ कात्तिक २६ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ जेठ २६ मा दिवा–शैलुङ जेभीले लिएको हो । शैलुङ कन्स्ट्रक्सन सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो ।

२.५ किमिको खण्डमा २०७७ माघ पहिलो साता मात्रै सडक कालोपत्र सुरु भएको थियो । पूरा काम हुन नपाउँदै २०७८ जेठ दोसो साताबाट कालोपत्र भत्कियो । ३ पटकसम्म म्याद थप्दा पनि ८० प्रतिशत मात्रै भौतिक प्रगति छ । पहिलो पटकको म्याद २०७५ कात्तिक २६ मा सकिएको थियो । दोस्रो पटक २०७६ असार २५ र तेस्रो पटक थप गरेको म्याद २०७७ पुस २९ मा सकिएको हो । तीनै पटकको म्याद सडक विभागले नै थपिदिएको थियो । सरकारले कोरोना महामारीको असर भन्दै सबै पुराना आयोजनामा ६ महिना स्वतः म्याद थपेको थियो । सडकको उपलब्ध चौडाइमा काम गर्ने भनिएको थियो ।

कालोपत्र भत्किएपछि अहिले पुनः बनाउन थालिएको छ । जसको जिम्मा पनि शैलुङले नै पाएको छ । ललितपुर महानगरपालिका २७ का अध्यक्ष बाबुराज महर्जनले ५ वर्षसम्म २.५ किमि सडक कालोपत्र नहुनु ज्यादै दुःखलाग्दो भएको टिप्पणी गरे । ‘यसैबाट हाम्रो काम गर्ने तरिका र विकासको स्तर थाहा हुन्छ,’ उनले भने । वडाध्यक्ष निर्वाचित भएर आएदेखि नै स्थानीयले आफूसँग सडकबारे निरन्तर गुनासो गरिरहेको उनले सुनाए । ‘ठेकेदारलाई कारबाही गर्ने अधिकार हामीलाई छैन । अधिकार हुन्थ्यो र निर्माण व्यवसायीका फाइलमा सही चल्थ्यो भने सडक नबनाएर हामीलाई दुःख दिएजत्तिकै दुःख तिनीहरूलाई दिने थिएँ,’ महर्जनले भने ।

शारदाप्रसाद अधिकारी, प्रमुख - शैलुङ कन्स्ट्रक्सन

सडक समयमै नबनेपछि स्थानीयले विरोधस्वरूप बाजा बजाएर रोपाइँ पनि गरे । धेरै पटक सडक बन्द गराए । गत माघमा गरिएको कालोपत्र वैशाख १६ देखि जारी निषेधाज्ञा खुकुलो भएर बढी सवारीसाधन गुड्न थालेपछि भत्कन थालेको थियो । ‘निषेधाज्ञा नभएको भए त दुई महिना पनि कालोपत्र टिक्ने रहेनछ,’ वडाध्यक्ष महर्जनले भने, ‘यता जनप्रतिनिधिले पैसा खाएर बाटो बिगारे भन्नेसम्मको आरोप खेप्नुपरेको छ ।’

यो सडकको ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले लगाएको हो । तर उसले सडकबारे कुनै सोधीखोजी वा अध्ययन गरेको छैन । आयोजनाका सूचना अधिकारी अशोककुमार राय यादव उक्त सडक बनाएर हस्तान्तरण भइनसकेको बताउँछन् । ‘यसबारे सोधीखोजी भएको छ, बिग्रिएको सडक शैलुङले आफ्नै खर्चमा बनाउने प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘प्रतिबद्धताअनुसार पहिला गरेको पिच भत्काएर काम सुरु गरिसकेको छ ।’ यसअघि कालोपत्र गर्दा स्थानीयले रोलर चलाउन नदिएको उनले दाबी गरे । खानेपानी संस्थानसँग समन्वय नहुँदा पुरानो पाइपलाइन फुटेर पनि कालोपत्र सडकमा समस्या भएको उनको भनाइ छ । ‘माकुराको जालोजस्तै खानेपानीका पाइप छन्, ती सबै पुराना हुन्,’ उनले भने, ‘पिच गर्दा पाइप फुटेर लिकेज भयो र त्यसपछि लगातार पानी परेर पिच बिग्रियो ।’ यो वर्ष कुनै समस्या आइनपरे तीनवटै प्याकेजको काम सकिने उनले बताए ।

वडाध्यक्ष महर्जन भने यो मान्न तयार छैनन् । ‘खाल्डा धेरै भएकाले दुईपांग्रे सवारी दुर्घटनामा पर्न थालेपछि वडा कार्यालयअघिको पिच हामीले नै महिना दिनअघि खनेर सम्यायौं,’ महर्जनले भने, ‘सुरुमा पिच गर्दा पानी परेको थिएन । पिच गरेको छोटो समयमै उप्किँदा कसरी यस्तो भयो भनेर इन्जिनियरले कारण पत्ता लगाउनु पर्दैन ?’ उनका अनुसार लामो छलफलपश्चात् निर्माण व्यवसायीले बाँकी रहेको सबै कालोपत्र खनेर दसैंअघि फेरि कालोपत्र गर्ने प्रतिबद्धता जनाएका छन् । ‘वडाको पहलपछि भदौ २५ बाट मात्र निर्माण व्यवसायी काम गर्न तयार भएका हुन् । तर काम अघि बढेको छैन,’ महर्जनले भने ।

यसअघि ठेक्का हुनेबित्तिकै निर्माण व्यवसायीले सडकमा पर्ने घर भत्काउन नपाएर काम अघि नबढेको भन्दै टार्ने गरेका थिए । ‘यो सडक हाम्रो निकायअन्तर्गतको होइन तर जनताले दुःख पाएपछि जाने कहाँ ? कसलाई भन्ने ? भनेको कुरा कसले सुन्छ ? उनीहरू आउने भनेको वडामै हो । म जनप्रतिनिधि मात्र होइन, वडावासी पनि हो । अब पनि ढाँटछलको काम गरे ठेकदारलाई वडावासीले छाड्ने छैनन्,’ महर्जनले चेतावनी दिए ।

यो सडक २३ करोड ३१ लाख ४६ हजार रुपैंयामा ठेक्का लगाइएकामा ठेकेदारले ६ करोड ३४ लाख ३४ हजार रुपैयाँ भुक्तानी पाइसकेका छन् । शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारी भने अहिले पानी परेर काम थाल्न समस्या भएको बताउँछन् । ‘घाम लाग्नासाथ काम सुरु हुन्छ,’ उनले भने । स्थानीयले रोलर चलाउन नदिँदा समस्या दोहोरिन सक्ने उनको भनाइ छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जे निर्देशन दिन्छ, त्यहीअनुसार काम गर्ने उनले बताए । ‘छिटो काम सक्न हामी लागिपरेका छौं,’ उनले भने ।

प्रकाशित : आश्विन १, २०७८ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?