१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पौडेल समूहद्वारा डडेलधुरामा पुन: अधिवेशन गराउन निर्वाचन समितिलाई दवाव

संयोजक यादवले भने –म फेरि राजीनामा दिनसक्छु

काठमाडौँ — क्रियाशील सदस्यको विवाद कायमै रहेको अवस्थामा सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गराएको भन्दै बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय निर्वाचन समितिलाई पुन: अधिवेशन गर्न दवाव दिएको छ ।

पौडेल समूहद्वारा डडेलधुरामा पुन: अधिवेशन गराउन निर्वाचन समितिलाई दवाव

पार्टीको महाधिवेशन स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्ने भन्दै पौडेल समूहले निर्वाचन समितिको कार्यालयमै पुगेर डडेलधुरा अधिवेशनको विषयमा दवाव दिएको हो । त्यसक्रममा नेताहरू र निर्वाचन समितिका पदाधिकारीहरूबीच गर्मागर्मी समेत भएको छ ।

नेताहरू सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह पुगेका थिए । त्यसक्रममा निर्वाचन समितिसँग करिब डेढ घण्टा छलफल भएको थियो ।

छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले गुनासो पोख्न सुरू गरेका थिए । ‘डडेलधुरामा जिल्ला सभापतिसहित दुई तिहाईको असहमतिका बीच कसरी वडा अधिवेशन भयो ? त्यसरी किन चुनाव गराइयो ? तपाईहरू निर्वाचन समितिमा बसेका विद्धान साथीहरू हुनुहुन्छ । तपाईहरूले यसरी कुनै पक्ष लिएर कसरी अधिवेशन गराउन सक्नुहुन्छ ?,’ पौडेलले प्रश्न गरेका थिए ।

पौडेलपछि पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले अरु ठाउँका विवाद र समस्याहरूबारे बोलेका थिए । ‘डडेलधुरामा जे भयो, त्यो अन्त पनि नहोला भन्ने आधार के हो ? अन्यत्र पनि त्यस्तै गुनासो आइरहेको छ, तपाईहरूले न्याय दिनुपर्छ । होइन भने तपाईहरूकै विरुद्धमा पनि हामीले प्रतिरोध गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्नँ,’ केसीले भनेका थिए ।

जवाफमा निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पार्टीको नियमित कार्यतालिका अनुसार नै डडेलधुरामा पनि अधिवेशन भएको बताएका थिए । ‘रामचन्द्रजीले शेरबहादुरजी कहाँबाटै फोन गर्नुभएको थियो । तपाईले समस्या छ, तत्काल अधिवेशन नगर्नुहोला भन्नुभयो । तर, त्यसपछि सभापतिले फोन गर्नुभएन । सभापतिले केही नभनेपछि हामीले अधिवेशन रोक्ने कुरा पनि भएन,’ यादवले भनेका थिए ।

त्यसपछि केन्द्रीय सदस्य शेखर कोइरालाले आपत्ति जनाए । ‘तपाई निर्वाचन समितिको संयोजक हो । तपाईको उच्च नैतिकतामा केही सन्देह छैन,’ कोइरालाले भनेका थिए, ‘जिल्लाभर वडा अधिवेशन गराउँदा कम्तिमा जिल्ला सभापतिको सहमति त हुनुपर्छ । जिल्ला सभापतिले संयोजन नगरे कसरी जिल्लाभर अधिवेशन हुन्छ ? के वडा अधिवेशन गराउने दायित्व जिल्ला सभापतिको होइन र ?’

कोइरालाले कांग्रेसको इतिहासमा प्रहरी परिचालन गरेर यसरी वडा अधिवेशन भएको पहिलो पटक भन्दै अब फेरि त्यस्तो चेष्टा नगर्न आग्रह गरे ।

जवाफमा संयोजक यादवले आफुले फेरि पनि राजीनामा दिने भन्दै धम्क्याए । ‘मैले त यो भूमिकामा बसेर काम गर्न सक्दिनँ भनेर राजीनामा दिइसकेको थिएँ । म फेरि पनि राजीनामा दिनसक्छु,’ नेताहरूले विधि, पद्धति र इमान्दारिताको प्रश्न उठाएर पेलेपछि यादवले भनेका थिए । ‘उहाँलाई कसैको त दबाब छ भन्ने कुरा उहाँको टालटुले जवाफबाट आइरहेको थियो । रामचन्द्रजीले डडेलधुरामा पुन: अधिवेशन गर्नुपर्ने कुरालाई जोड दिनुभयो । तर, यादवजीले त्यस्तो कुनै जवाफ दिन सक्नुभएन,’ छलफलमा सहभागी एक नेताले भने ।

छलफलमा सहभागी हुन गएका महामन्त्री शशांक कोइराला भने एक शब्द पनि बोलेनन् । कोइरालाले छलफलमा केही नबोलेपनि बाहिर आएर बोलेको विषयले पौडेल समूहभित्र तरंङ्ग ल्याएको छ । ‘खै उहाँले के बोल्नुभएको हो ? मैले पनि कुरा बुझ्न सकिनँ । तर, यो त अनौठो भयो,’ एक केन्द्रीय सदस्यले भने ।

अर्का एक नेताले भने पौडेल समूहलाई डडेलधुरामा फेरि अधिवेशन हुदैन भन्ने थाहा भएपनि सभापति देउवा विरुद्ध बोल्ने राम्रो अवसरका रुपमा उपयोग गरेको आरोप लगाए । ‘पार्टीको महामन्त्री आफैँले सभापतिसँग छलफल गरेर त्यहाँको विवाद मिलाउनुपर्ने हो । उहाँ पार्टीको सचिवालय नै हो । उहाँ आफै धर्नामा जानुभएछ,’ देउवापक्षीय ती नेताले आश्चर्य जनाए ।

निर्वाचन समितिसँग छलफल गर्न वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, कमला पन्त लगायत सानेपा पुगेका थिए ।

प्रकाशित : भाद्र ३१, २०७८ २३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?