१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेपाली स्याट-१ भन्दा तीन गुणा ठूलो स्याटेलाइट बनाउने तयारीमा नास्ट

प्रस्तावित स्याटेलाइटको नाम नेपाली स्याट-२ पदयात्री, २०२२ सम्म प्रक्षेपण गर्ने योजना
गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले नयाँ स्याटेलाइट मिसनको तयारी गरेको छ । यसअघिको नेपाली स्याट-१ भन्दा तीन गुणा ठूलो स्याटेलाइट बनाउने तयारी सुरु गरिएको नास्टले जनाएको छ । ३यू क्युब स्याट मोडलको यो स्याटेलाइट नेपालमै निर्माण हुनेछ । 

नेपाली स्याट-१ भन्दा तीन गुणा ठूलो स्याटेलाइट बनाउने तयारीमा नास्ट

नेपालमै स्याटेलाइट निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि परियोजना सुरु गर्ने तयारी भएको नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले बताए । 'यो दोस्रो मिसन नेपालीले नेपालमै बनाएको स्याटेलाइट हो भन्ने सन्देश दिनका लागि हो,' उनले भने ।

स्याटेलाइट क्षेत्रमा नेपालको क्षमता अभिवृद्धि गर्ने योजना अनुरुप यो स्याटेलाइट निर्माण हुनेछ ।

इन्टरनेशनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभ्लपमेन्ट(इन्सटेड)सँगको सहकार्यमा स्याटेलाइट निर्माण गर्ने तयारी भइरहेको नास्टका प्रविधि संकाय प्रमुख रवीन्द्र ढकालले जानकारी दिए ।

इन्सटेड थाइल्यान्डको किङ मोङकुट्स युनिभर्सिटी अफ टेक्नोलोजी अन्तर्गतको संस्था हो । 'इन्सटेडसँगको सहकार्यमा हामीले स्याटेलाइट बनाउने तयारी गरिरहेका छौं,' ढकालले भने,'परियोजनाको एमओयूमा हस्ताक्षार भएको छैन ।अब चाँडै नै गर्ने तयारी छ ।'

नेपाली स्याट-१ का निर्माणकर्ता आभास मास्केले परियोजनाको नेतृत्व गरिरहेका छन् । स्याटेलाइटको प्लेलोड बोर्ड(पीसीबी) नेपालमै बनाइने मास्केले इकान्तिपुरलाई बताए । उनका अनुसार पीसीबीमा तीनवटा मिसनहरु रहेका छन् । जस अन्तर्गत पीएक्स४ ओपरेटिङ सिस्टम मिसन, स्याटेलाइट सिस्टम अन चिप मिसन र ग्राउन्ड सेन्सर टर्मिनल मिसन फर ग्ल्यासिर लेक आउटब्रस्ट फ्लड(जीएलओएफ) मोनिटरिङ छन् । मिसनको नाम नेपालीस्याट-२ पदयात्री मिसन राखिएको मास्केले जानकारी दिए ।

नेपालमा केही भाग निर्माण गरिए पनि स्याटेलाइटको परीक्षणका लागि यहाँ सुविधा नभएकाले थाइल्यान्ड‍मा गरिने नास्टले जनाएको छ । कम खर्च र लागतमा यो स्याटेलाइट निर्माण हुने नास्टले जनाएको छ ।

बर्ड्स मिसन अन्तर्गत नानो स्याटेलाइट प्रक्षेपण गरेका मुलुकहरुबीच यो परियोजनाले सहयोग गर्ने प्रविधि संकाय प्रमुख ढकालले बताए । सबै काम समयमा नै हुन सके सन् २०२२ मा नेपालको नयाँ स्याटेलाइट प्रक्षेपण हुने उनले बताए । सम्झौता भएपछि मात्रै स्याटेलाइट मिसनबारे थप भन्न सकिने उनले जनाए ।

स्याटेलाइट निर्माणमा राष्ट्रिय क्षमता अभिवृद्धि गर्न यो परियोजनाले सघाउ पुर्‍याउने नास्टले जनाएको छ । हाल नास्टले व्यवसायिक स्याटेलाइटमा भन्दा अनुसन्धानात्मक क्षेत्रका लागि उपयोग हुने किसिमले काम अगाडि बढाएको हो । परियोजनाले स्पेस टेक्नोलोजीमा नेपाली युवाहरुलाई आकर्षित गराउने प्रवक्ता ढुंगेलले जानकारी दिए ।

प्रकाशित : भाद्र ३१, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?