कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फेरि एमाले हुन पाउँदा बहुत खुसी लाग्यो : शाक्य

काठमाडौँ — नेकपा एमालेकी उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बलियो एमाले बनाउनका लागि सबैले फराकिलो मन बनाउने बेला आएको बताएकी छिन् । उनले अन्तरपार्टी संघर्षलाई अघि बढाउँदै पार्टीले जारी गरेका १२ वटा अन्तरपार्टी निर्देशनको अक्षरश पालना गर्न नेतृत्वलाई आग्रह गरिन् । ‘म विशेषगरी पार्टीको नेतृत्वलाई अपिल गर्छु, १२ वटा अन्तरपार्टी निर्देशन जुन जारी भएको छ, त्यसको अक्षरश पालना गरौँ । त्यसमा कुनै जालझेल र षड्यन्त्र आवश्यक छैन,’ उनले भनिन्, ‘७५ जेठ २ मा जे अवस्था छ, उसैलाई नेतृत्व मानेर अगाडि बढौँ ।’

फेरि एमाले हुन पाउँदा बहुत खुसी लाग्यो : शाक्य

बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले हिजोको एमाले बनाउनका लागि अब सबैले मन फराकिलो बनाउनुपर्नेमा जोड दिइन् । ‘आखिर के पाइन्छ ? के फाइदा छ ? विभाजन गरेर के फाइदा भयो र ? हामी अलग–अलग भएर फाइदा भयो र ? हामी अलग–अलग हुँदा हामीलाई होइन, हामीलाई कमजोर बनाउन चाहनेहरुलाई फाइदा भयो,’ उनले भनिन्, ‘त्यसकारण अब कुनै पूर्वाग्रह बिना, कुनै मनमुटाव बिना, बलियो एमाले, हिजोको एमाले बनाउनका लागि मन फराकिलो बनाउनैपर्छ । अब छाती फराकिलो बनाउने बेला आएको छ । हिजो जतिसुकै कमजोर भएको भए पनि त्यो कुरा सिद्धियो । अब फेरि पनि यो मुलुकको नेतृत्व गर्ने शक्तिको रुपबाट नेकपा एमालेलाई अघि बढाउनुपर्छ । मलाई यसमा विश्वास छ ।’

उनले ०७८ साल जेठ १ गते एमाले एकताका लागि कार्यदल बन्दा धेरै खुसी लागेको सुनाइन् । ‘साँच्चिकै भन्नुपर्दा खेरि ०७८ जेठ १ गते म साँच्चै नै खुसी भएँ । त्यो दिन दश जना कमरेडहरुको एउटा कार्यदल बन्यो । त्यो कार्यदलले दश बुँदे प्रस्ताव अघि सार्‍यो । त्यो प्रस्ताव तयार भएपछि अब त हामी आफ्नै घरभित्र पस्न पाइने भो भन्ने लाग्यो । मैले त हिजोका सबै कुराहरु बिर्सिएँ,’ मुख्यमन्त्री शाक्यले भनिन्, ‘......अनि फेरि पनि नेकपा एमाले हुन पाउँदा खेरि मलाई बहुत खुसी लाग्यो । यो मलाई साँच्चिकै परेको पीडा पोख्न मन लाग्यो ।’

उनले अब यस्तो विभाजन कहिल्यै नहोस् भन्ने कामना समेत गरिन् । ‘अब त यस्तो नेकपा एमालेभित्र कहिल्यै पनि नहोस् । टुक्रिने, फुट्ने, विभाजित हुने र नेकपा एमाले एकताबद्ध भएको हेर्न चाहने कुरा कसरी सम्भव छ र ? । त्यसैले अब यस्तो कहिल्यै पनि नहोस्,’ उनले भनिन् ।

नेतृ शाक्यले अब बलियो र विचारयुक्त एमाले बनाउने योजनासहित काम गर्नुपर्ने बेला भएकोमा जोड दिइन् । ‘०२७/२८ सालतिरको कुरा हो । झापा आन्दोलनबाट काठमाडौं जिल्ला पनि प्रभावित भयो । त्यहीबेलादेखि काठमाडौं जिल्ला प्रगतिशील विचारबाट, वामपन्थी विचारबाट प्रभावित हुँदै आएको हो,’ उनले भनिन्, ‘प्रतिक्रियावादीहरु भनेका केही होइनन्, ती भनेका कागजका बाघ मात्रै हुन् । म त्यो बेला यही विचारबाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा अघि बढेकी थिएँ । अहिले पनि म युवा साथीहरुलाई यही आग्रह गर्दछु ।’ उनले कम्युनिष्टहरुको हृदय विशाल हुनुपर्ने भन्दै त्यो विशाल हृदय र संघर्षबाट मात्रै कम्युनिष्ट आन्दोलन अघि बढ्ने बताइन् ।

प्रकाशित : भाद्र ३१, २०७८ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?