हाम्रो ध्यान गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो ध्यान गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

रासस

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । 

ललितपुरस्थित नमुना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा बुधबार उनले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै यसका लागि भविष्यमा थप कार्यक्रम कार्यान्वयन गर्ने बताए । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयमा उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।

२०७२ वैशाखमा गएको भूकम्पबाट मुलुकका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उनले खुसी व्यक्त गरे । विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पनि पढाउने व्यवस्था गरिएमा सो कार्यमा सहयोग गर्ने उनले सबैलाई धन्यवाद दिए । जापानको ऋण सहयोगमा १२ करोड तीन लाख रुपैयाँको लागतमा सो विद्यालय निर्माण गरेको हो ।

जाइकामार्फत नेपालका धेरै ठाउँमा शिक्षा, स्वास्थ्य, विपद् नियन्त्रणलगायत क्षेत्रमा निःस्वार्थ सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद दिए । प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म छ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेको छ । बाँकी पुनर्निर्माणका क्रममा छन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भूकम्पबाट मुलुकमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गरे । अग्रजहरुले स्थापना गरेका विद्यालयका कारण नै ललितपुर शिक्षाको हबका रुपमा चिनिएको भन्दै उनले आगामी दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताए । मौलिक अधिकारका रुपमा रहेको शिक्षाका लागि हालको बजेट पर्याप्त नभए पनि उपलब्ध बजेट र भएका कार्यक्रमको कार्यान्वयन गरी परिणाम निकाल्न सके सरकारको उद्देश्य सफल हुने मन्त्री भुसालको भनाइ थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी गराउँदै सबैको सामूहिक प्रयासले मात्र यो सम्भव भएको हो भने । पुनर्निर्माणका क्रममा जनताले प्रत्यक्ष रुपमा विभिन्न लाभ प्राप्त गरेको बताउँदै उनले पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराए ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको खाँचो औंल्याउँदै निर्माण र पुनर्निर्माण भएका विद्यालयको मर्मतसम्भार गरी दुरुस्त राख्न सरोकारवाला सबैको ध्यानाकर्षण गराए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन मिश्रले विद्यालय निर्माणमा आवश्यक सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

प्रकाशित : भाद्र ३०, २०७८ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

सरकारले प्रतिपक्षमाथि दोष थुपारेर वित्तीय संकट सिर्जना गर्न खोज्यो : एमाले

'प्रतिपक्षीका मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले प्रतिनिधिसभाको बैठक बन्द गरेर त्यसको दोष प्रतिपक्षमाथि थोपर्ने र मुलुकलाई वित्तीय संकट सिर्जना गर्ने  ‘सुतुरमुर्ग चाल’ चलेको आरोप लगाएको छ । 

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म सार्दा बुधबारभित्र बजेट प्रतिस्थापन विधेयक पारित हुन सकेन । यसका कारण सरकारको खर्च नपाउने परिस्थिति सिर्जना भएको छ । यो परिस्थिति सरकारका कारण आएको एमालेले उल्लेख गरेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय संकटको परिस्थिति सिर्जना हुनपुगेको हो ।’

प्रतिनिधिसभाको बैठक ४ गतेसम्म सारेको विषयमा सरकारले जवाफ दिनुपर्ने एमालेले उल्लेख गरेको छ । ‘आफूलाई ईच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्छ’, महासचिव पोखरेलले भनेका छन्, ‘यो नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चालमात्र हो । सरकारको यसप्रकारको रवैयाप्रति हाम्रो पार्टी नेकपा (एमाले) खेद व्यक्त गर्दछ ।’

सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको आरोप एमालेले लगाएको छ । ‘प्रतिनिधिसभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । बरु यसबीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढंगले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद्‌ अधिवेशन स्थगित गरियो’, एमालेले भनेको छ, ‘दल विभाजनसम्बन्धी अध्यादेश जारी हुनुपूर्व नै प्रतिपक्षी दलका सांसदहरूमाथि गरिएको कारबाहीको सूचना प्रकाशित नगरी दल विभाजनलाई प्रोत्साहन दिने काम सभामुखका तर्फबाट भयो ।’

सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानुनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । ‘यतिबेला हाम्रो पार्टी नेकपा (एमाले) सभामुखबाट भएको पदीय मर्यादाविपरीतको अनुचित कार्यका विरुद्धमा आफ्नो असहमति र विरोध प्रकट गर्दै आइरहेको छ । तर समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसद्को‌ काम कारबाही अघि बढाउने काम भइरहेको छ’, महासचिव पोखरेलले भनेका छन् ।

सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट कटौती गरेकोमा पनि आपत्ति जनाएको छ । ‘सन्तुलित विकासको अवधारणाअनुरुप प्रतिनिधिसभाका सदस्यहरूको आग्रहमा अघि बढाएको निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका १४०० भन्दा बढी विकास आयोजना कटौती गर्नपुगेको छ’, विज्ञप्तिमा छ ।

सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवारपूर्ण काम गरेको एमालेको आरोप छ । ‘एमाले बजेटजस्तो संवेदनशील विषयमा सरकारको उदासिनता र गैरजिम्मेवार रवैयाप्रति खेद व्यक्त गर्दछ’, महासचिव पोखरेलले भनेका छन्, ‘प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गर्दछ ।’

प्रकाशित : भाद्र ३०, २०७८ १५:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×